सन्दर्भ : मौरी दिवस

मौरीसँगै रमाएका रेवती भन्छन्- जति गर्‍यो‚ उति फाइदा

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका- १ पचामका किसान रेवती तिम्सिनालाई लकडाउनमा पनि फुर्सद छैन । लकडाउनले सबै क्षेत्र अस्तव्यस्त भइरहेको अवस्थामा किसान तिम्सिना अहिले पनि मौरीको स्याहारमा व्यस्त छन् । २०६३ सालमा १२ चाकाबाट मौरी पाल्न शुरु गरेका उनलाई १६ वर्षको बिचमा व्यवसायिक मौरीपालक किसानको रुपमा सबैले चिन्न थालेका छन् ।

जिल्ला विकासको सामाजिक परिचालकको रुपमा जागिर गरेका उनले २०४६ सालतिर मौरीपालनसम्बन्धी तालिम लिएका थिए । तर उनलाई तालिमले हौसला दिनेभन्दा पनि मौरी पालनबाट केही गर्न सकिँदैन भन्ने लाग्दै जान थाल्यो । उनले तालिम त लिए तर मौरी पालन व्यवसायबाट खासै उन्नति हुने नदेखेपछि उनी त्यही सामाजिक परिचालकको जागिरलाई नै प्राथमिकता दिन थाले । ‘त्यो बेलाको तालिमले मलाई हौसलाभन्दा पनि निराश बनायो,’ उनले भने, ‘तालिम लिएपछि मौरी पालन काम छैन भन्ने मनस्थितिमा पुगेको थिएँ ।’

समय बित्दै गयो तर कृषि कर्ममा केही गर्न पाए हुन्थ्यो भन्ने सोचमा रहेका तिम्सिनाका लागि २०६३ सालतिर मौरी चराउँदै आएका उनकै एकजना साथी उनका प्रेरणाका स्रोत बने ।

 

No description available.

०६३ सालतिर सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । ठाउँ ठाउँमा बन्द गर्ने, बम राख्नेलगायतका घटनाहरु भएका थिए । त्यही बेलामा उनकै गाउँमा एकजना मौरीपालक किसान मौरी चराउन आएका थिए । सबैतिरको बन्दले उनी त्यही गाउँमा बसे । मौरी पालनको सीप सिक्न तम्सिएर बसेका तिम्सिनाका लागि यो एउटा अवसरको रुपमा देखियो । ४० घार मौरी लिएर आएका ती किसान उनका साथी थिए । त्यहाँ मौरी चराउन ल्याएका ती व्यक्तिसँग उनले मौरी पालनको बारेमा सोधीखोजी गरे । धेरै कुरा सिक्ने मौका पाए ।

त्यसबेला एक हप्ता ती साथी तिम्सिनाकै घरमा बस्थे र मौरी चराउन लग्थे ।

‘मेरो मौरी पालनसम्बन्धी थुप्रै जिज्ञासाहरू थिए,’ उनले भने, ‘जुन बेला मैले तालिममा सिकेको थिएँ, त्यो बुझाइ नै गलत रहेछ भन्ने त्यो दिन लाग्यो अनि फेरि मौरीपालनमा लाग्ने योजना बनाएँ ।’ त्यही मौरी चराउन ल्याएका उनका साथीसँग उनले एक घार १२ चाका मौरी किने । त्यो किनेको १२ चाकालाई ५ वटा घारमा हालेर मौरी पालन गर्न थालेको तिम्सिनाले बताए । उनले किनेको १२ चाकाबाट उनलाई मौरी व्यवसायीमा पुग्नका लागि निक्कै समय लाग्यो । मौरी पालन गर्न थालेको २ वर्ष सिकाइमै बितेको उनले मकालु खबरलाई सुनाए ।

उनको कर्म देखेर सरकारी पक्षले पनि खोजी गर्न थाल्यो । तिम्सिनाको मेहनतलाई थप व्यवसायी बनाउन जिल्ला कृषि विकास कार्यालयले उनलाई ५ दिने तालिममा गोदावरी पठायो । ‘अन्यौलमै नजानेरै शुरु गरेको मेरो मौरी पालन व्यवसायलाई तालिमले धेरै सिकायो,’ तिम्सिनाले भने, तालिममा धेरै कुरा सिक्न पाएँ, पाँचदिने आधारभूत मौरी पालन तालिमबाट व्यवसायी भएँ ।’ उनले मौरी पालनका लागि मेहनत गर्दै गए । उनले घार किने, मौरी बढाउँदै जान थाले, घार थप्दै जाने क्रम रोकिएन । अहिले उनका ८० घार मौरी छन् ।

गरे हुन्छ फाइदा
मौरी पालनबाट के फाइदा होला र भन्ने एउटा युवा जमात देखिन्छ । तर मौरी पालनबाट नै प्रशस्तै आम्दानी गर्न सकिन्छ भन्ने एउटै उदाहरण हुन्‚ रेवती तिम्सिना । जति धेरै गर्न सकियो त्यति नै आम्दानी हुने उनको अनुभव छ । यो वर्ष फागुनमा बढेको चिसोले मौरीलाई निक्कै हानी गरेको उनले गुनासो गरे । चिसोका बिचमा पनि यो वर्षमात्र उनले १२ क्वीन्टलभन्दा बढी मह बिक्री गरेको सुनाए । ‘एक वर्षमा १२ क्वीन्टल मह उत्पादन गरेँ,’ उनले भने, ‘मौरीको महको प्रकार हेरेर सस्तो/महँगो हुन्छ । सरदर ५ सयदेखि ८ सय रुपैयाँ किलोमा बिक्री गर्दै आएको छु ।’

No description available.

तिम्सिनाका अनुसार, जंगलको मह ८ सय, तोरीको ७ र प्रशोधन नगरेको मह किलोको ६ सयमा बिक्री हुन्छ । वर्षमा ६ लाख बढीको मह उत्पादन गरेर बिक्री गर्ने गरेको उनले बताए । उत्पादनसँगै त्यसमा प्रशस्तै मेहनत र खर्च पनि हुने गरेको बताए । कात्तिकदेखि असोजसम्म मह उत्पादनको समय भएपनि अरु समयमा धेरै उत्पादन गर्न नसकिने तिम्सिनाको भनाइ छ ।

मौरी चरनका फरक फरक ठाउँ
मौरी घारमा पाल्ने र घारमै राख्ने भन्ने हुँदैन । मौरी किनेर घारमा राख्नासाथ मह दिन्छ‚ त्यसैबाट पैसा कमाउँला भन्ने सोच्यो भने त्यो बुझाइ गलत हुन जान्छ । मौरी पाल्ने किसानले फरक मौसम फरक समयअनुसार विभिन्न ठाउँमा लग्ने गर्छन् । मौरी पालक किसान तिम्सिनाले पनि एक वर्षको बिचमा धेरै ठाउँमा मौरी चराउनका लागि लग्ने गरेको बताए । मौरी चराउने काम असोजदेखि नै शुरु हुन्छ । असोजदेखि कात्तिकसम्म बसाइसराई शुरु हुन्छ । शुरुमा तोरीबाट चरनको काम शुरु हुन्छ । तोरीको सिजन मंसिर, पुस र माघ १५ सम्म जान्छ । यो समय तिम्सिनाले मौरीलाई सन्दर हरैँचाका तोरीबारी र होक्लाबारीसम्म लैजान्छन् । माघको अन्तिमदेखि वैशाखसम्म उनले सुनसरीका विभिन्न तोरा र सुर्यमुखी भएको ठाउँ खोज्दै चराउन लग्ने गरेको सुनाए । वैशाखदेखि असारको झरी हुनुअघिसम्म जंगल, बुट्यान भएका क्षेत्र‚ केराबारीका भित्ता‚ जंगलमा लग्ने गरेको उनले सुनाए ।

No description available.

असोजबाट बाटो लागेका मौरीहरू असार लागेपछि मात्र घर फर्किने गरेको उनको अनुभव छ । ‘मेरो मौरी असारमा घरमा आउँछ,’ मौरी पालक किसान तिम्सिनाले भने, ‘साउन‚ भदौ र असोज घरमै स्याहार-सुसार गरिन्छ । त्यसपछि पहिलाकै अवस्थामा जान्छ ।’ शुरुमा मौरी पालनमा केही हुँदैन भन्ने मौरी पालक तिम्सिना अहिले मौरी चराउनका लागि परिवारको सहयोग त लिन्छन् नै‚ अरु केही कर्मचारी राखेर समेत रोजगरी दिँदै आएका छन् । अहिले उनी आफैँ तालिम दिने, प्रविधि हस्तान्तरण गर्ने काममा समेत व्यस्त देखिन्छन् । उनी भन्छन्, ‘तिम्रो भूमिमा के छ, तिमी आफैँ खोज ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *