लघुकथा : निम्तो
म पापी हुँ, म अधर्मी हुँ, मैले किन उसको मायाको कदर गर्न सकिनँ ? मैले किन उसको भावनालाई बुझ्ने कोशिस गरिनँ ? जब ऊ मेरो साथ थिई, मैले उसलाई बेवास्ता गरिरहेँ । जे गरेपनि आखिर ऊ मेरी त हो, मलाई छाडेर जाने त होइन नि ! भनेर सोचेँ । उसलाई धेरै सस्तो सोचेर एउटा वस्तुसरि प्रयोग गरिरहेँ ।
उसको माया र साथले नै आज ठुलो सक्षम व्यक्ति बनेको छु। म आफ्नो प्रगतिको मार्गमा तल्लीन हुँदाहुँदा उसको पर्वाह गर्न नै भुलेछु । उसको भावनामा खेलवाड गरिरहेको रहेछु । मेरो पैसा र प्रतिष्ठाले उसलाई सन्तुष्टि दिन सकेन । जीवनमा माया र साथभन्दा ठुलो केहि रहेनछ । मेरो लापरबाही र बेवास्तादेखि हार खाएर ऊ मलाई छाडेर गएको ६ महिना बितिसक्यो ।
उसले मलाई भन्ने गर्थी, ‘सुनिल ! बेलुकी तिमी छिट्टै घर आउने गर । मसँगै खाना खाने गर । तिमी सधैँ बाहिर खाना खाएर आउँछौ, मलाई एक्लै खाना खान मन लाग्दैन । त्यसैले खाना बनाउन जाँगर पनि लाग्दैन । म भोकभोकै सुतेको हुन्छु, तिमी मलाई खाएको छौ कि छैनौ भनेर पनि सोध्दैनौ ।’
तिमी बनाएर खाऊ न जे मन पर्छ, नभए रेष्टुरेन्टबाट मगाएर खाऊ, सानो सानो कुरामा सधैँ किचकिच नगर न मलाई भनिरहन्थ्यौ ।
‘सुनिल भोलि मलाई कपडा किन्न जानु छ, तिमिसँग जान्छु नि ल ? मलाई एक्लै जान मन लाग्दैन, फेरि कपडा छान्न पनि आउँदैन । फेरि मलाई तिमिले रोजिदिएको कपडा लगाउने मन छ के,’ राधा अनुरोध गर्ने गर्थी ।
तिमी ड्राइभरलाई लिएर जाऊ न ! मेरो मिटिङ छ के ! यस्ता कुराहरुले उनमा वितृष्णा जागृत भयो होला, शायद । आखिर ऊ मलाई छाडेरै गई ।
ऊ गएपछिका दिनहरू मेरा लागि धेरै कष्टकर बनिरहेछ । उसको हेरविचार, स्याहार सुसार र मायाले मलाई आफ्नो लक्ष्यतिर पुग्न कत्ति सहयोग पुर्याइरहेको रहेछ भन्ने कुरा उसले छाडेर गएपछि महशुस गरिरहेको छु । सुनिल एकनाशले पागलसरि बर्बराइरह्यो ।
तर मलाई विश्वास छ, ऊ अवश्यै फर्केर आउँछे । म उसलाई बुझाउनेछु कि म पैसा र प्रतिष्ठालाई होइन, उसलाई नै धेरै माया गर्छु । यो पद, यो शान, यो पैसा सब मैले उसको र मेरो भविष्यका लागि आर्जन गरेको हुँ । विवाह नगरेपनि हामी दुई/पाँच वर्षदेखि पतिपत्निजस्तै बस्दै आएका थियौँ । ऊसँग मैले सँगै जिउने सँगै मर्ने वाचा गरेको छु । यो कुरा उसले कदापि भुल्न सक्दिन । आफ्नो कपाल आफैँ लुछ्दै रातभर कराइरह्यो सुनिल ।
बिहानको सात बजेको छ सूर्यका किरणहरू झ्यालबाट भित्र कोठासम्म फिँजारिएको छ । ढोकाबाट आएको टक टक आवजले बिहानीपख निदाएको सुनिल झसङ्ग भएर बिउँझियो । हतपत्त ढोका खोल्यो । ढोकामा राधालाई देखेर अवाक भयो । पागलसरि कराउन थाल्यो- मलाई थाहा थियो- राधा ! तिमि आउछौ भनेर, मेरो माया भुल्न सक्दिनौ भनेर । यी हेर त तिम्रो सुनिल तिम्रो अनुपस्थितिमा कत्ति बेहाल भएको छ । म तिमिबिना बाँच्न सक्दिनँ । मैले आफ्नो गल्ति स्वीकारिसकेँ । अब म तिम्रो दिल कहिले दुखाउने छैन । अब हामी छिट्टै विवाह गर्नेछौँ । राधाको नजिक गएर उसलाई अङ्गालोमा बेर्यो । राधाले चुपचाप आफ्नो मेहेन्दीले सजिएको हातले एउटा कार्ड सुनिलको हातमा थमाइदिई । जसमा लेखिएको थियो- …हाम्री आयुष्मति सुपुत्री राधाको…