जसपालाई जेपीको जिज्ञासा

तिम्रो साथी पनि थिएँ‚ मतदाता पनि ! तर, मेरो प्रश्न छ !

मुलुक दुर्भाग्यको खाडलमा धकेलियो । यसका अनेक पात्रहरू भए । ‘सिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा जसपा पनि रह्यो । जसपा वा यसअघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक पटक विभिन्न सरकारहरूमा सहभागी भएकै हुन् । हरेक पटक ‘मधेसका मुद्दाहरू’लाई तर्पण दिने भनी सरकारमा गएकै हुन् ।

अतितका सबै मुद्दा विसर्जन र सत्ताका अगाडिको समर्पणलाई अबोध र अवचेतन मधेसी समुदायले क्या बात भनेकै थिए । मधेस नामबाट व्यापार र मधेस भवनहरूबाट अविच्छिन्न राजपाट सब चलेकै थियो ।

तर, अपवाद बाहेक यिनका क्रियाकलापहरू देशलाई नै ‘बरमुडा ट्यांग्लर’ मा खसाली दिने काम भएको थिएन। आफैँले मलजल दिनुपर्ने संघीयतालाई निमोठिदिने काम भएको थिएन। छुट्याएको मानोभन्दा धेरै बढी खान पाएर वक्रतुण्ड हुँदै थिए- मधेसका यी पुराना कृशकाय, सुदामा र शिशुपालहरू। यिनी यदाकदा गर्व गर्थे, मधेसीहरूले मुलुक बेचेका छैनन् भनेर । यसो बोल्दा संसदमा दुर्योधनहरू शीर निहुर्‍याउँथे ।

साख बँचाएकै थिए । तर, मुलुकमा दैनिक दुई हजार-पच्चीस सय निरपराध नेपालीहरू अकाल मृत्यूको शिकार भइरहेको कहाली लाग्दो अवस्थामा, देशको सबै खाले बेथितीहरूका लागि संघीयतालाई नै दोषी ठहर्‍याई रहिएको अवस्थामा, शासकीय प्रतिगमनकारीहरू बलियो हुँदै गइरहेको अवस्थामा मधेसी दल, जसपा एउटा ‘किंगपीन’ हुन सक्थ्यो । जसले, जसको सकारात्मक पहलबाट विचलनका लागि उद्यत् राजनीतिक उन्मादलाई लीकमा राख्न सकिन्थ्यो ।

जसपाले विकृत राजनीतिका विद्यमान दुई धारमध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त वैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमन्त्री ओलीलाई नै खुला समर्थन गरेको भए शायद संसद विघटनको बाटो अवरूद्ध हुन्थ्यो । एउटा प्रजातान्त्रिक मधेसी दलको एकिकृत पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन । रोक्न सकिन्थ्यो । रोक्न नसकिने भएपनि त्यो विघटनमा पुनर्जीवनको ठूलो शक्ति हुन्थ्यो ।

जसपा एक पार्टीको रूपमा, भावनात्मक रूपमा एक पनि रहेन । संविधानमा संशोधन गराउँछु भन्थ्यो, संविधान संशोधनको मातृस्थल संसदको वध गरायो । सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भई फर्किएर आफूले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेलमै रहे पनि सांसद थिए, रेशमलालको त्यो शक्ति पनि जसपाले समाप्त पारे ।

मधेसका आन्दोलनकारीहरू उपर लगाइएका सय/पचास मुद्दाहरू फिर्ता गराए । यही ऐतिहासिक उपलब्धि हुन् त ? आखिर के उपलब्धि पायो त ? सय/पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउँदै मेटेर जाने आत्ममुग्धतापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनुपर्‍यो !

म जान्न चाहन्छु कि आखिरकार जसपाले अपनाएको ‘आत्मघाती’ ‘विखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *