बच्चा कस्ता छन् ? दोष बा-आमाकै

सबैजसो अभिभावकको चाहना हुने गर्छ, आफ्नो सन्तान ज्ञानी होस्‚ अनुशासित होस् । तर आफूले चाहना राख्दैमा कहाँ बच्चा त्यस्तै हुन्छन् र ? त्यसको विपरीत बच्चाहरू अटेर गर्ने, अभिभावकले भनेको नटेर्ने, जिद्दी स्वभावका बनिदिन्छन् । सबै बच्चाको हकमा भने यो कुरा लागू नहुन पनि सक्छ । तर अधिकांश अभिभावकको यही गुनासो रहन्छ कि– ‘बच्चा भनेकै टेर्दैन ।’

शिक्षक भएर बिताएका २० वर्षको अनुभवले बच्चाहरूले वयस्क हुँदै जाँदा देखाउने हरेक व्यवहारको जिम्मेवार उसको अभिभावक नै हुन्छ । हामी जसरी हुर्कियौँ अहिलेका केटाकेटीलाई त्यसरी नै हुर्काउन नहुने रहेछ । हामी हुर्कँदै गर्दाको परिवेश र अहिलेको वातावरण र परिवेश पहिलेभन्दा धेरै फरक छ । हाम्रो पालामा वैश्विक नागरिक (ग्लोबल सिटिजन्स) कन्सेप्ट थिएन । तर अहिले हामीले नानीबाबुलाई हुर्काउँदा वैश्विक नागरिक हुनेगरी हुर्काउनुपर्छ । हाम्रा सन्तान भोलि वैश्विक नागरिक बन्न सक्छन् की सक्दैनन् भन्ने कुरा हाम्रो हुर्काइमा निर्भर रहन्छ ।

पुरानो चलन र संस्कारअनुसार बच्चा हुर्काउँदा लाए अह्राएको काम गर्ने बनाउने भन्ने हुन्थ्यो । तर, अब बच्चा हुर्काउँदा उसलाई कसरी जिम्मेवार नागरिक बनाउने भन्ने सोचेर हुर्काउनुपर्छ । आजभन्दा ४० वर्ष पहिले हुर्काइएको बच्चामा अनुशासन बढी सिकाइएको पाइन्छ । अब त पहिलेको तुलनामा अनुशासनको परिभाषा नै बदल्नुपर्ला शायद ।

समयअनुसार अभिभावकले आफूलाई पनि परिमार्जन गर्दै लैजानु आवश्यक छ । अहिलेका बच्चाहरू जन्मिदै स्मार्टफोन, रेडियो, टेलिभिजनसँग परिचित हुन्छन् । यस्तो समयका बच्चाहरूलाई हुर्काउँदा अभिभावकले नै नयाँ कुरा सिक्नुपर्ने देखिन्छ । आजभन्दा २५ वर्षअघि डिजिटल साक्षरताका कुराहरू थिएनन् । अहिले डिजिटल साक्षरताका कुरा आएका छन् । त्योसँगै बालअधिकारका कुराहरू पनि तीव्र गतिमा अगाडि आएका छन् । त्यसैले अहिलेको समयमा बच्चा हुर्काउँदा ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा भनेको बच्चाको संवेगात्मक विकासमा अवरोध नपुर्‍याउनु हो ।

नेपालमा बच्चा हुर्काउँदा अभिभावकले एकोहोरो पेल्ने, मैले भनेको मान्नैपर्छ, गर्नैपर्छ भन्ने मानसिकता राख्ने गरेको पाइन्छ । अभिभावकको त्यस्तो सोचले उनीहरुमा भएको प्रतिभा चिन्न र प्रस्तुत गर्नमा रोक लगाउँछ । बच्चामा म कमजोर छु भन्ने भावनाको विकास हुन्छ र आफ्नो क्षमता माथि नै शंका उत्पन्न हुन्छ । त्यसो हुन नदिन बच्चा हुर्काउँदा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

शिक्षण पेशामा रहेका यी दुई दशकमा मैले विद्यार्थीको स्वभाव‚ उसले अरुप्रति देखाउने राम्रा/नराम्रा व्यवहारबारे पनि धेरै अध्ययन गरेको छु । त्यस्ता व्यवहारको कारण खोज्दै जाँदा अन्त्यमा अभिभावकमा गएर टुंगिने गरेको पाइएको छ ।

पढाइमा ध्यान नदिनु, विद्यालय नजानु, सिकाइप्रति कुनै मोह नै नहुनु, कक्षाकार्य र गृहकार्य नगर्नुदेखि एउटा बच्चाले देखाउने सबै व्यवहारको कारक तत्व अभिभावक नै बनेको पाइन्छ । साथीसँग चल्ने, अपशब्द बोल्नेजस्ता काम पनि बच्चाले हुर्किने क्रममा नै सिकेका हुन्छन् । अभिभावकले मैलै बच्चालाई स्कुल भर्ना गरेकै छु, स्कुलमा फी तिरेकै छु उसले त्यहीँ सबै कुरा सिक्छ र मैले आफ्नो जिम्मेवारी पूरा गरिहालेँ नि ! भन्ने मानसिकता राख्नु हुँदैन । विद्यालयमा बच्चाले सिक्ने भनेको सेकेन्डरी कुरामात्र हो । बच्चाको प्राथमिक अर्थात् प्राइमरी सिकाइ उसको आफ्नै घरमा नै हुन्छ । त्यसैले बालबालिकालाई सचेत र जिम्मेवार नागरिक बनाउन पहिलो भूमिका परिवारले नै निर्वाह गर्नुपर्ने हुन्छ । नियम नमान्ने, आफूलाई भएपछि हुने अरुलाई पनि चाहिन्छ र अरुको लागि पनि गर्नुपर्छ भन्ने भावना नराख्नेजस्ता अस्वीकार्य व्यवहार नदेखाउने गरी बच्चा हुर्काउनुपर्छ ।

अहिले धेरै दम्पतिको बढीमा दुईजना सन्तान हुन्छन् । अनि ती अभिभावकको चाहना आफू अभावमा हुर्किइयो, भनेजस्तो, मन लागेको कुरा गर्न पाइएन तर मैले भोगेको दुःख मेरा छोराछोरीले भोग्नु नपरोस् भन्ने हुने रहेछ । त्यसले गर्दा अभिभावकले आफ्ना सन्तानले राम्रो अथवा नराम्रो जस्तो व्यवहार गरे पनि स्वीकार गरिदिने गरेको पाइन्छ । घरको नियम तोड्दा पनि स्वीकार गर्ने व्यवहारले बच्चामा ‘ए मैले त जे गरे पनि हुने रहेछ’ भन्ने भावनाको विकास हुने गरेको पाइएको छ । त्यसपछि बिस्तारै बच्चाहरू अटेरी हुँदै जाने गरेका छन् । त्यसैले नियम र अनुशासन बच्चा सानै हुँदादेखि लागू गर्नुपर्छ ।

कतिपय अभिभावकले बच्चालाई तिमीले गृहकार्य पूरा गर अनि चक्लेट दिन्छु भनेर प्रतिज्ञा गर्नुहुन्छ तर बच्चाले गृहकार्य गरिसकेपछि चक्लेट अथवा आफूले दिन्छु भनेको कुरा नदिने, विभिन्न बहाना बनाएर टार्ने गर्नुहुन्छ । त्यसो गर्दा बच्चालाई ‘ए… यसले त भन्ने मात्र त रहेछ नि !’, ‘भनेको मान्नु त नपर्ने रहेछ नि !’ जस्ता भावना विकास हुन थाल्छ । त्यसैले बच्चाको अगाडि उसले थाहा पाउने गरी झूटा प्रतिज्ञा गर्नु हुँदैन । यसरी अभिभावकले नै बच्चालाई अटेरी बनाइरहेका हुन्छन् । बच्चाले जन्मजातै अटेरीपना लिएर आएको हुँदैन ।

अभिभावकले मैले कुन उमेरको बच्चा हुर्काइरहेको छु भन्ने कुरा विचार गर्नुपर्छ । अहिले लकडाउनको समय छ । बच्चाले आमा बुबासँग गुणस्तरीय समय बिताउन पाइरहेका छन् । यस्तो बेलामा छरछिमेक र घर नजिकैका बालबालिकासँग अभिभावकले गरेको व्यवहार नियाल्दा आफूले गर्ने काममा बाधा नपुगेपछि ‘जेसुकै गरोस्’ भनेर छोडिदिने गरेको पाइएको छ । टेलिभिजन हेरे पनि‚ मोबाइल चलाए पनि आमा बुबाले वास्तै नगर्ने । त्यसमा के सामग्री हेर्‍यो‚ कति समय हेर्‍यो केही मतलव नगर्ने । आफ्नो काममा बाधा नपुर्‍याएपछि भइगयो । हो‚ अभिभावकका यस्ता गतिविधिले बच्चाहरू गलत बाटोमा जाँदैछन् ।

बच्चालाई अभिभावकले समय दिनुपर्छ । उमेर समूह हेरेर घरमा आफुले गर्ने दैनिक काममा बच्चालाई सहभागी गराउनुपर्छ । घर सफा गर्ने, लुगा सुकाउने र उठाउने, खानेकुरा पकाउने, बगैँचामा काम गर्ने जस्ता स–साना कामहरुमा उनीहरुलाई पनि सहभागी गराउनुपर्छ । बच्चासँगै बसेर पढ्ने, छलफल गर्ने, माध्यमिकस्तरमा पढ्ने बच्चालाई किताब पढेर के बुझ्यौ सोध्ने गर्नुपर्छ । बच्चालाई तालिका बनाएर दैनिक एउटा जीवनोपयोगी सिप अर्थात् लाइफस्किल सिकाउने र त्यसलाई निरन्तरता दिने गर्नुपर्छ । यसो गरेमा बच्चालाई मप्रति मेरो परिवार गम्भीर छ भन्ने कुरा महशुस हुँदै जान्छ ।

यसरी, अभिभावकले बच्चालाई नयाँ कुरा सिकाउँदै एउटा अनुभव र अर्को प्रभावकारीता जाँच गर्नुपर्छ । बच्चालाई पनि अनुभव गराउनुपर्छ । राम्रो कुरा, व्यवहार, सिकाइ र कामको बानी पार्दै गएपछि बिस्तारै त्यही कुरा संस्कृतिको रुपमा विकास हुन्छ । पछि वयस्क अवस्थामा त्यही संस्कृति झल्किन्छ । सन्तानको मायामा भावनामा मात्र बग्नु बुबाआमाको कमजोरी हो । त्यो कमजोरीले बच्चालाई सजिलै गलत बाटोमा धकेल्छ । सन्तानले भनेको कुरा आँखा चिम्म गरेर मान्नेभन्दा पनि आलोचनात्मक भएर के सही र के गलत हो छुट्याउनुपर्छ । त्यसरी बच्चालाई हुर्काउँदा उसले समस्या आफैँ समाधान गर्न सक्ने सामर्थ्य राख्छ र सही/गलत छुट्याउन सक्ने हुन्छ ।

नेपाली अभिभावकमा आदेश दिने र बन्देज लगाउने चलन पूरानै हो । जबसम्म अभिभावकको यी २ बानी सुधारिँदैन‚ तबसम्म असल अभिभावकत्व दिएको भन्नु बेकारको कुरा हो । आदेश र बन्देजलाई छोडेर प्रश्न सोध्नुपर्छ । बच्चाले नराम्रै काम गरे पनि तिमीले यो काम किन गर्‍यौ ? यो काम गरेर तिमीलाई कस्तो महशुस भयो ? त्यस्तो काम गर्न केले प्रेरित गर्‍यो भन्ने जस्ता प्रश्न गर्नुपर्छ । अनि मात्र समाधान, सिकाइ र पश्चाताप हुन्छ । अनि दोहोर्‍याएर त्यो काम गर्दैनन् । त्यसैले अरु काम गर्न पेशामा लाग्न अध्ययन गरेजस्तै बच्चा हुर्काउन पनि अध्ययन गरौँ । बच्चालाई सही ज्ञान दिन र मार्गदर्शन देखाउने हो भने मैले मेरो बच्चालाई के दिएर कसरी हुर्काउनुपर्छ आफैँ अध्ययन गरौँ, पत्ता लगाऔँ र मुल्यांकन गरौँ । बच्चालाई सक्षम र वैश्विक अर्थात् विश्वकै नागरिक बनाऔँ ।

(युलेन्स स्कुलका प्रिन्सिपल लामिछानेसँग मकालु खबरकर्मी मनिषा पौडेलले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *