अक्सिजन सिलिन्डरमा वनमन्त्रीको तस्बिर, व्यक्तिगत ५० लाख रुपैयाँ खर्च गरेको दाबी
धनगढी । वन तथा वातारण मन्त्री प्रेम आलेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गृहजिल्ला डोटीमा वितरण गरेका अनुदानका अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिर टाँसेर वितरण गरेका छन् ।
मन्त्री आलेले व्यक्तिगत सहयोगमा भन्दै सबै अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीमा आफ्नो तस्बिरसहितको स्टिकर टाँसेका छन् । उनले यसरी स्वास्थ्य सामग्री वितरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनले सिलिन्डरदेखि औषधिका प्याकेटसम्ममा आफ्नो तस्बिर अंकित स्टिकर टाँसेका छन् ।
मन्त्री आलेका स्वकीय सचिव भक्त आलेका अनुसार जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिन्डर, सेनिटाइजर, एचडियू बेड, सर्जिकल मास्क र एन्टिजेन किट वितरण गरिएको छ ।
त्यस्तै जिल्लाका ९ स्थानीय तहलाई पाँच/पाँच वटा अक्सिजन सिलिन्डर र एचडियू बेड र सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको छ ।
उनका अनुसार डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिन्डर वितरण गरिएको छ । मन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा जम्मा १२५ वटा अक्सिजन सिलिन्डर पुर्याएका हुन् । जसमध्ये १५ वटा स्वास्थ्य सेवा विभागबाट पठाइएका छन्, भने बाँकी ११० वटा आफ्नै लगानीमा खरिद गरिएको स्वकीय सचिव आलेले बताए ।
विभागबाट पाएका १५ वटामा सिलिन्डरमा पनि मन्त्रीले आफ्नै लगानीमा अक्सिजन भरेर ल्याएको हुँदा सबैमा आफ्नो तस्बिर टाँसेको स्वकीय सचिव आलेले बताए । उनले अक्सिजन सिलिन्डरसहित मन्त्री आलेले सुदूरपश्चिममा ५० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेको दाबी गरेका छन् ।
‘४३ लाख रुपैयाँ सिलिन्डरसहित स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ,’ उनले भने, ‘अक्सिजन फिलिङ, ढुवानीलगायत गरेर जम्मा ५० लाख बराबर मन्त्रीज्यूको व्यक्तिगत खर्च भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त सिलिन्डरमा अक्सिजन भर्ना ९ हजार रुपैयाँ मैले आफैँले दिएको छु,’ मसँग सबै सामान खरिदको बिल पनि छ ।’
अक्सिजन पाउन हम्मेहम्मे भइरहेका बेला यत्रो सहयोग लिएर आउँदा पनि स्टिकर टाँसेको विषयलाई ठुलो मुद्दा बनाएर विरोध भएकोमा आफू अचम्मित भएको उनको भनाइ छ ।
मन्त्री आलेले अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री सोमबार गृहजिल्ला डोटीमा वितरण गरेका थिए भने मंगलबार सेती प्रादेशिक अस्पतालमा वितरण गरेका छन् ।