[कविता] प्रतिबन्ध
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ
हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ- हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ।
ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ।
उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ।
इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई
झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठीलाई
झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई
झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा
युगको हुंकार सुन्न चाहिरहेछु
व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखूँ-नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी-बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटमा ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न ।
- (कृष्ण सेन ‘इच्छुक’को १९ औं स्मृती दिवसको अवसरमा उनको कविता प्रतिबन्ध प्रकाशन गरेका हौं । )