कोरोना जित्न सकारात्मक सोच

दुई साता लामो ‘अर्धभूमिगत’ अवस्था गुजारेर नियमिततामा फर्केको छु । सायद धेरै प्रियजनलाई जानकारी गराइनँ । दु:खको बिस्कुन फिजाउन मनै लागेन र आज खुसीको समाचार सुनाउँदै छु । किनकि यो समय सबैलाई सकारात्मक खबरको खाँचो छ । जुन मैले १५ दिन आइसोलेसनमा बस्दा महसुस गरेँ ।

कोभिड-१९ को दोस्रो लहर यति भयानक तरिकाले नेपालमा भित्रियो कि मैले पहिल्यै ठानिसकेको थिएँ, संक्रमणबाट भाग्न गाह्रै छ । अन्तत: कोरोना संक्रमितको लहरमा मेरो संख्या पनि थपियो । जसरी म पहिल्यै तयारी अवस्थामा थिएँ, त्यो तयारीले कोभिडविरुद्ध लड्न निकै मद्दत गर्‍यो । जस्तो कि म आत्तिइनँ । जीवनशैलीलाई एउटा कोठाभित्रै सक्रिय बनाइराखेँ । सकेसम्म शारीरिक व्यायामलाई निरन्तरता दिएँ । पोसिलो खानपानमा जोड दिएँ । मासु/अण्डा/च्याउ/पौष्टिक तत्व मिल्ने सागसब्जीको सुप बढ्ता लिएँ । अरुचि पैदा हुन दिइनँ ।

सुरुवाती ३/४ दिन ज्वरो देखियो तर नियमित सिटामोल खाएपछि ज्वरोलाई भगाइदिएँ । हल्का खोकी देखिनु संक्रमितको साझा लक्षण रहेछ । चिसोबाट जोगिएँ । नुनपानी वा बेटाडिनले दिनको ३ पटक गार्गल गरेँ । बाफ लिन छाडिनँ ।

मिडियाकर्मी हुनुका नाताले सामाजिक सञ्जाल र न्युज पोर्टलहरु चहार्न मन लागिहाल्ने रहेछ । तर यसबीचका समाचार र फेसबुकमा पोस्टहरुले मलाई नै निकै मर्माहत बनायो । फेसबुकमा फोटोसहित श्रद्धाञ्जली दिनेहरुको ‘होडबाजी’ देखियो भने मिडियामा पोजिटिभ एंगलका समाचार निकै कम पढ्न पाइयो । धेरैजसोले मृत्युको लगतमात्रै उतार्ने काम गरे ।

म बिसेक हुँदै थिएँ । यहीबीच इलामका मेरा दुई साथीलाई कोरोनाले चुँडेर लग्यो । फेसबुकको टाइमलाइनमा लगातार उनीहरुको तस्बिरसहित श्रद्धाञ्जलीको लहर चल्यो ।

यो खबर पाउनासाथ निकै असहज भयो । मुटुको गति बढ्यो । कमजोर बनेको शरीरमा थप पीडा भयो । तैबिसेक आफूलाई संयमित राखेँ तर जटिलतासँग गुज्रिइरहेका संक्रमितलाई यस्ता खबरले कस्तो मानसिक आघात पार्‍यो होला?

यथार्थलाई त आत्मसात गर्नैपर्छ । तर यो बेला अवस्था फरक छ । त्यसैले मैले सुरुमै लेखेँ नि- सामाजिक सञ्जालमा दु:खको बिस्कुन फिजाउन मन लागेन र आज खुसीको समाचार सुनाउँदैछु । किनकि यो समय सबैलाई सकारात्मक खबरको खाँचो छ ।

म त कोरोनाबाट मुक्त भएँ । कामना गर्छु, तपाईंलाई संक्रमण नहोस् । यदि भइहालेमा तपाईं पनि यो भाइरसबाट मुक्त हुनुहुनेछ । त्यसका धेरै सूत्र छैनन् । कुनैबेला लाग्ने रुघाखोकी वा ज्वरो फेरि बल्झिएछ भन्ठान्ने र नआत्तिने । शरीरलाई सक्रिय भने बनाइराख्ने । केही असहज देखिएमा मात्रै स्वास्थ्यकर्मीलाई फोन गरेर सुझाव लिने ।

आइसोलेसनमा बसेका बेला नकारात्मक समाचारमा ध्यान नदिने । पढ्ने, लेख्ने, म्युजिकको आनन्द लिने वा फिल्म हेर्ने ।

चिकित्सकका अनुसार लक्षण देखिन छाड्यो भने १० दिनपछि परिवारमा घुलमिल हुन मिल्छ । तर सावधानीपूर्वक । धेरैले निको भएर पनि विश्वस्त हुन पटकपटक पुन: परीक्षण गर्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले भनेका छन्, ‘नौ दिनपछि सक्रिय भाइरस देखिएको छैन । त्यसैले दोहोर्‍याएर परीक्षण गर्नु जरुरी छैन । १४ दिनपछि पुन: परीक्षण गर्नै पर्दैन ।’

विज्ञहरु तेस्रो लहरको समेत चेतावनी दिइरहेका छन् । त्यसैले अहिले हामी घरभित्रै रह्यौं र अत्यावश्यक काममा मात्रै उच्च सावधानीका साथ बाहिर निस्क्यौं भने मात्रै कोरोनाको ‘चेन ब्रेक’ हुन सक्छ र बिस्तारै अवस्था सामान्य बन्छ ।

तर राज्यले जुन रफ्तारमा परीक्षण, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । जसका कारण गाउँगाउँमा संक्रमण भुसको आगोझैं सल्किइसकेको छ । लक्षण भएकाले समेत परीक्षण गराउन पाएका छैनन् । अर्कोतिर संक्रमण रोक्न निषेधाज्ञा मात्रै ठूलो अस्त्र ठान्ने सोचले झनै चिन्ता थपिएको छ । उपत्यकामा त एक साताका लागि खाद्यान्न पसलसमेत बन्द गर्ने उर्दी जारी भइसक्यो । थाहा छैन महामारीमा अझै कति ‘सूर्यबहादुर तामाङ’हरु थपिने हुन्!

जनतालाई थुनेर मात्रै संक्रमण रोकिने त होइन । यही समयमा जतिसक्दो परीक्षण गराउने र संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउनुपर्थ्यो । कोभिड अस्पताल विस्तार गरेर आईसीयू, भेन्टिलेटर, अक्सिजनको आपूर्ति सहज बनाउनुपर्‍यो । झन्डै एक महिनाको निषेधाज्ञामा पनि अपेक्षाकृत संक्रमणदर घटेको देखिन्न । जसको कारण उही घिनलाग्दो राजनीतिक खेल नै हो भन्नेमा त तपाईं जानकारै हुनुहुन्छ । मुख्य ध्यान कोरोना नियन्त्रणमा हुनुपर्थ्यो तर भइदियो सत्तामाथिको उछलकुद ।

खैर, भाइरसजन्य यो बिमारबाट नअत्तालिऔं तर मामुली पनि नठानौं । यतिबेला सबैभन्दा महत्वपूर्ण आफ्नो स्वास्थ नै हो । सक्रिय बन्नुस्, स्वस्थ रहनुस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *