निषेधाज्ञाका बीच चितवनमा रक्त संकलन अभियान
चितवन । जिल्लामा रगतको अभाव भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवन र अखिल क्रान्तिकारी चितवनले रक्त सङ्कलन अभियान गरिरहेका छन् । ती दुई सङ्गठनले चार स्थानबाट ३ सय ६२ युनिट रगत सङ्कलन गरिसकेका छन् ।
वाइसिएल चितवनका इन्चार्ज सन्तोष पनेरुका अनुसार रामनगरमा ८१ युनिट, जगतपुरमा १ सय ३ युनिट, भोजाडमा ६२ युनिट र कालिका नगरपालिकामा १ सय १६ युनिट रगत सङ्कलन भइसकेको छ । शुक्रबारबाट माडीका ४ ठाउँमा रगत सङ्कलन गरिँदैछ । त्यहाँबाट पनि यति नै हाराहारीमा रगत सङ्कलन हुने अनुमान गरिएको छ । पनेरुले भने‚ ‘रगतको अभाव भएको भन्दै सङ्कलनका लागि रक्तसञ्चार केन्द्रले आग्रह गरेपछि हामीले अभियान सुरु गरेका हौं ।’
माडीमा जेठ २१ गते बाँदरझुलामा, २२ गते वगइ र देवेन्द्रपुरमा, २३ गते वसन्तपुरमा र २४ गते बरुवामा रक्तसङ्कलन गरिँदैछ । अभियान जेठ १३ गतेबाट सुरु गरिएको हो । अखिल क्रान्तिकारी चितवनका इन्चार्ज अशोक देवकोटाले कोरोना सङ्क्रमणका कारण सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर रक्त सङ्कलन गरिएको बताए । एक पटकमा थोरै सङ्ख्यालाई मात्रै राखेर ठाउँठाउँमा रगत सङ्कलन गरिएको उनको भनाइ छ । उनले भने, ‘अन्य समय भएको भए निकै धेरै रगत सङ्कलन हुन्थ्यो । अहिले हामीले विशेष सावधानी अपनाएर सुरक्षित ढङ्गले थोरै मात्र रगत सङ्कलन गरेका हौं ।’
रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय भरतपुरका प्रमुख रमेशकान्त पौडेलले यो समय रगतको निकै अभाव हुने समय भएको बताए । रगतको अभाव हुने देखिएपछि राजनीतिक दललाई आग्रह गरिएको उनले बताए । यतिबेला कोरोनाको जोखिमसँगै स्कुल, कलेज, सहकारी संघ संस्था बन्द, अत्यधिक गर्मी खेतिपातीको समयलगायतका कारण रगत सङ्कलनमा कमी भएको हो ।
कोरोना संक्रमण नहुँदा समेत यो समयमा रगतको अभाव हुने उनको भनाइ छ । जिल्लामा अन्य समयमा दैनिक १ सय ५० युनिट रगतको माग हुने गरेकोमा कोरोनाका कारण माग आधा घटेको पौडेल बताउँछन् । कार्यालयले एक वर्षमा ३० हजार युनिट रगत सङ्कलन गरेर वितरण गर्ने गर्दछ । यस कार्यालयले चितवनसहित सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, तनहुँ, धादिङ्, गोरखा, लमजुङ र नवलपरासीका दुवै जिल्लाबाट रगत सङ्कलन गर्ने गर्दछ ।
हाल निषेधाज्ञाका कारण ती जिल्लामा रगत सङ्कलन हुन सकेको छैन । जिल्लाको भरतपुर अस्पतालमा धेरै सुत्केरी हुने हुँदा रगतको माग धेरै हुन्छ । यसैगरी विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बिरामीलाई समेत धेरै रगतको आवश्यकता पर्ने गर्दछ ।