यादको एल्बम पल्टाएर हेर्दा
‘मैले त पापाको अनुहार नै बिर्सिसकेँ । पापाको फोटो पठाउनू न नाना ।’ भाइले भन्यो ।
म अवाक् भएँ । वर्षौंपछि भाइले म्यासेन्जरमा मागेको थियो, पापाको सिङ्गल फोटो ।
सम्झियोस् पनि कसरी ? पापा ईश्वरको देशको यात्रामा निस्कँदा ऊ जम्माजम्मी पाँच वर्षको थियो । अचानक आएको म्यासेजको बदलामा जवाफमा फोटो पठाऊँ कि शब्द ? आँखामा बादल डम्म लागेजस्तो भयो । फोनको स्क्रीन धमिलो देखेँ ।
यादको पत्रहरु खापिँदै जाँदा पापाको सम्झना धमिलो हुँदै गएको थियो । भाइले यसरी पापाको प्रसंग झिक्दा म कसो कसो बगेछु, आँखाबाट ।
मेरो स्मृतिको ग्यालरीमा कहिल्यै डिलिट नहुनेगरी बसेको फोल्डरमा छन् पापा । पापासँगका बाल्यकालीन घटना, किस्साका थुप्रै फाइल छन् त्यो फोल्डरमा । भाइको अनुरोधले मलाई त्यो फोल्डर खोल्न उत्प्रेरित गर्यो । फाइलहरू एक–एक गरी खोल्दै गएँ । प्रत्येक जस्तो फाइल किस्साहरुले भरिएका भेटेँ ।
किस्सा नं. १
त्यतिबेला अहिले जस्तो मोबाइल थिएन । झन् एन्ड्रोइड मोबाइलको त कल्पनै थिएन । फोटो खिचेर यादको संग्रहालयमा राख्न पापाले पानासोनिक ब्रान्डको ३६ वटा रिल भएको क्यामेरा ल्याउनुभएको थियो । त्यो हाम्रो ठूलो पापाले गिफ्ट दिनुभएको थियो । ठूलो पापालाई पनि कतैबाट गिफ्ट आएको थियो । पापाले सेकेन्डह्यान्ड गिफ्ट पाउनुभएको थियो । सेकेन्डह्यान्ड गिफ्ट पाउँदा पनि पापा निकै फुरुङ्ग हुनुभएको कुरा उहाँका चम्किला आँखाले बताइरहेको थियो । फोटो खिच्नु, धुलाउनु, सिसाको फ्रेममा सजाउनु, भित्तामा टाँग्नु पापाको सोख थियो । यस्तो सोख पापाका अनेक थिए । जस्तो कि, बाटोमा हिड्दै जादा अलिक फरक आकारको ढुङ्गा देखे टिपेर घरमा ल्याउने । मन परेका गितका पङ्क्तिहरू डायरीका पानामा टिप्ने । सायरीका टुक्रालाई सुन्दर अक्षरले घरका भित्तामा लेख्ने । कुनै चाडपर्व आएमा खानपिन बनाउन अघि सर्ने । पापा हामीसँग सधैं केटाकेटीजस्तै व्यवहार गर्नुहुन्थ्यो । कहिलेकाहिँ नयाँ कपडा किनेर ल्याउनुभयो भने तुरुन्तै लगाइहाल्नुपर्थ्यो । नयाँ कपडा लगाएपछि क्यामेरा झिकेर हाम्रो फोटो खिचिक्क पार्न भ्याइहाल्नुहुन्थ्यो । त्यसरी पापाले हाम्रो बाल्यकाललाई क्यामेराको रिलमा थुप्रै पटक कैद गर्नुभएको थियो । जसको प्रमाण अझै पनि हाम्रो घरको एल्बममा सुरक्षित छ ।
तर एक बिहानको घामसँगै शुरु भएको त्यो प्रतीक्षा कहिल्यै अन्त्य भएन । पापा त्यस बिहान निस्कनुभएको थियो, घरबाट र कहिल्यै फर्किनुभएन । त्यसयता न हाम्रो घोडाले टाउको हल्लायो न घण्टी बज्यो । तर हामीले सिकुवामा कुर्न भने छोडेनौं ।
त्यो एल्बम पल्टाउँदै जाँदा यादका पत्रहरू उप्किँदै जान्छ । धमिलो हुँदै गएको बाल्यकालीन यादहरु पुनः ताजा भएर आउँछ ।
किस्सा नं. २
पापा उत्पट्याङ पनि उस्तै गर्नुहुन्थ्यो ।
एउटा घटना सम्झिन्छु । त्यस दिन लक्ष्मीपुजा थियो । साँझ लक्ष्मी पुजा सकेर पापा आँगनमा उभिनुभयो । म आँगनको छेउमा उभिएँ । पापाले पटका ल्याउनुभएको रहेछ । सलाई कोरेर पटकाको पुच्छरमा झोस्नुभयो र तुरुन्तै एउटा भाडाले त्यसलाई छोप्नुभयो । छिनभरमै पटका पड्कियो । पटकासँगै पापा उछिटिएर आँगनमा पछारिनुभयो ।
एकछिनमा उठेर पापा सिकुवामा आउनुभयो । उल्यालोमा हेर्दा त पापाको निधारबाट रगत बगिरहेको थियो । खासमा त्यसदिन पापाले दुईवटा पटका एकैठाउँमा बाँध्नुभएको रहेछ । अलि ठुलै ब्लास्ट गर्न भनेर । दुईवटा पटका एकैसाथ पट्किदाँ छोपेको भाँडा आकाशतिर जोडले उछिटिएर खस्दा निधारमा ठोक्किएछ । त्यसयता ममीले हामीलाई पटका पट्काउन बन्देज लगाउनुभयो ।
किस्सा नं.३
पापा साँझ घर फर्किँदा गोजीमा केही न केही बोकेर फर्किनुहुन्थ्यो । जस्तै, चकलेट , बिस्कुट । ती हाम्रा लागि हुन्थे । त्यसैले साँझ हामी पापाको व्यग्र प्रतीक्षामा रहन्थ्यौं । हाम्रो एउटा घोडा थियो । घोडाले पापा परबाटै आउँदै गरेको चाल पाउँथ्यो । अनि ऊ टाउको हल्लाउँथ्यो । टाउको हल्लाउँदा उसको गर्धनको घण्टी पनि हल्लन्थ्यो र टिङ्टिङ् बज्थ्यो । जसै घण्टी बज्थ्यो‚ हामी थाहा पाउँथ्यौं‚ पापा आउनुभयो भनेर । हामी हतार हतार सिकुवामा आएर बस्थ्यौं । प्रत्येक जसो साँझ हाम्रो डिउटी नै हुन्थ्यो, पापाको प्रतीक्षा । प्रत्येक दिन घामसँगै शुरु हुने त्यो प्रतीक्षाको प्रत्येक साँझ अन्त्य हुन्थ्यो ।
तर एक बिहानको घामसँगै शुरु भएको त्यो प्रतीक्षा कहिल्यै अन्त्य भएन । पापा त्यस बिहान निस्कनुभएको थियो, घरबाट र कहिल्यै फर्किनुभएन । त्यसयता न हाम्रो घोडाले टाउको हल्लायो न घण्टी बज्यो । तर हामीले सिकुवामा कुर्न भने छोडेनौं ।
हाम्रो उत्तरले उसको अर्को दिन आनन्दमय हुन्थ्यो । फेरि साँझपख उही कष्टकर प्रतीक्षा शुरु हुन्थ्यो । साँझपख चल्ने बतासको झोक्कासँगै उसको पापाको यादको झोक्का चल्थ्यो । र आएर उसलाई बिथोलेर जान्थ्यो ।
पापा हिँड्नुभएको बिहानको घाम साँझ अस्तायो । भोलिपल्ट पनि उस्तै गरी उदायो । तर घामजस्तै पापा फेरि–फेरि किन उदाउनुभएन ? लामो समयसम्म भाइले यो प्रश्न गरिरह्यो । म उमेर र अनुभवले केही बुझ्ने भइसकेकी थिएँ । म जन्म र मृत्युको अन्तर छुट्ट्याउन सक्ने भइसकेकी थिएँ । मेरो चेतनाले पापा अब कहिल्यै घाम जसरी उदाउनुहुने छैन भन्ने थाहा दिएको थियो । तर मेरो पाँच वर्षे भाइले पापा हाम्रो जीवनबाट सधैंका लागि अस्ताउनुभएको कुरा थाहा पाउन सकेको थिएन । ऊ सधैं साँझ परेपछि सिकुवामा गएर उभिन्थ्यो ।
अबेर रातिसम्म पनि पापा नआउनुभएपछि भने मलाई सोध्थ्यो‚ ‘पापा कहिले आउनुहुन्छ ? कहाँ जानुभएको छ ?’
एउटा निर्दोष अनुहारले सोधेको निर्दोष प्रश्नको झुटो उत्तर दिन हामी ममी-छोरी बाध्य हुन्थ्यौं ।
हाम्रो उत्तरले उसको अर्को दिन आनन्दमय हुन्थ्यो । फेरि साँझपख उही कष्टकर प्रतीक्षा शुरु हुन्थ्यो । साँझपख चल्ने बतासको झोक्कासँगै उसको पापाको यादको झोक्का चल्थ्यो । र आएर उसलाई बिथोलेर जान्थ्यो ।
समयसँगै बिस्तारै भाइको चेतना फैलिँदै गयो । चेतनासँगै उसले बुझ्यो कि, पापा अब कहिल्यै नफर्किने बाटो भएर जानुभएको छ । अब हाम्रो घोडा हिन्हिनाउने छैन । अब घण्टी बज्ने छैन । अब सिकुवामा गएर उभिनुको औचित्य छैन । समय बलवान सावित भइदियो । समयले नै बतायो भाइलाई सबै सबै सत्य । त्यसयता उसले हामीलाई कहिल्यै सोधेन, ‘पापा कहिले आउनुहुन्छ ?’
पापा हुनुभएको भए यस्तो भन्नुहुन्थ्यो, यस्तो गर्नुहुन्थ्यो होला भन्ने काल्पनिक बाटोमा हिँडिदिन्छौं । तर कहिल्यै एकआपसमा पापाबारे कुरा गरेनौं । मलाई याद भएसम्म आजसम्म हामीले निकै कममात्र पापाको कुरा झिकेका छौं । हृदयले भने चुपचाप–चुपचाप पापालाई सम्झिरहन्छौं । मेरो मस्तिष्कमा सधैं पापाको एउटा अग्लो, सग्लो प्रतिबिम्ब उभिरहन्छ । जबसम्म रुन्नँ, त्यो प्रतिबिम्ब एकक्षत्र भएर ममा हावी भइरहन्छ । रोएपछि आँसुले त्ये प्रतिबिम्ब बिस्तारै बिस्तारै पखालेर लान्छ ।
कसो–कसो पन्ध्रवटा हिउँद कटेछ । प्रन्ध्रवटा वर्षा झरेछ । यो पन्ध्रवटा वर्षले पापाको अभाव भने महसुस गराइरह्यो । यो पन्ध्र वर्षमा एक बालक किशोर भएछ । एक किशोरी युवती भएछ । एक आइमाई बुढी भएछ । यसबीचमा आँगनमा कति छिमल फूल फुल्यो र झर्यो ? कति खेप बारीको आँपको रुखमा चिचिला लाग्यो ? कति खेप लटरम्म फल्यो वा कति पटक नफलेरै सिजन सक्यो होला ? कुन–कुन वर्ष खेत बाँझै पल्ट्यो ? कति पटक बारीमा हल गोरु पसेन ? कतिवटा दिन चामलको बोरा टक्टकाउँदै आमाले भान्सा पकाइन् होला ? घरको एककुनामा गुँड लगाएको परेवाले कति छिमल बचेरा जन्मायो होला ? र उड्न सिकायो होला ? उड्न सिकेर ती परेवा कहाँ–कहाँ पुगे होला ? हाम्रो घर अगाडिको बाटो भएर हिँडेको बटुवा गन्तव्यसम्म पुग्यो कि पुगेन होला ? हाम्रो अनुहारबाट झरेको खुसी सिकुवामा कति समयसम्म टुसुक्क बस्यो होला ? बितेको पन्ध्र वर्षमा गर्नुपर्ने अनगिन्ती हिसाब छन् । यो पन्ध्रवटा वर्षको लिग जोड्दै जाँदा जिन्दगी कुदाउने रेल बन्न पुग्छ । म त्यही रेलको सफर गर्दै यहाँसम्म आइपुगेँ । यतिञ्जेलमा सम्झनाको एल्बमा तुवाँलो लाग्न थालेको थियो । आज भाइको प्रश्नले त्यो तुवाँलो पन्छाउँदै विगततिर फर्किन म बाध्य भएँ ।
विगतको फेरो समाउँदै जाँदा म जहिल्यै पापाको अभाव बाँच्दछु । आफ्नो प्रियजनको अनुपस्थितिमा बाँच्न असहज हुन्छ । अझ त्यसमा पनि आकाश गुमाएको छोराछोरीले कुन सकस खेप्छन् ? तिनीहरुको सकस सायदै अरुले महसुस गर्न सक्छन् । हामी ममी, छोरी र छोराले आ-आफ्नै हिस्साको अभाव खट्किएको पायौं । तर कहिल्यै एकअर्कोको सामुन्ने आँसु बगाएनौं । खुसीका क्षणहरुमा, चाडबाडहरुमा आ आफ्नै तरिकाले याद गर्छौं ।
पापा हुनुभएको भए यस्तो भन्नुहुन्थ्यो, यस्तो गर्नुहुन्थ्यो होला भन्ने काल्पनिक बाटोमा हिँडिदिन्छौं । तर कहिल्यै एकआपसमा पापाबारे कुरा गरेनौं । मलाई याद भएसम्म आजसम्म हामीले निकै कममात्र पापाको कुरा झिकेका छौं । हृदयले भने चुपचाप–चुपचाप पापालाई सम्झिरहन्छौं । मेरो मस्तिष्कमा सधैं पापाको एउटा अग्लो, सग्लो प्रतिबिम्ब उभिरहन्छ । जबसम्म रुन्नँ, त्यो प्रतिबिम्ब एकक्षत्र भएर ममा हावी भइरहन्छ । रोएपछि आँसुले त्ये प्रतिबिम्ब बिस्तारै बिस्तारै पखालेर लान्छ ।
कहिलेकाहीँ आँसु झर्दैन । घाँटीमा हिक्का बनेर बस्छ । त्यस्तो समयमा ओठमा मुस्कान फुलाएर उभिन्छौं हामी । त्यसरी मुस्कान फुलाएर उभिएको फोटोहरु थुप्रै छन् मोबाइलको ग्यालरीमा । भाइले फोटो मागेपछि मैले धुइँधुइँती ग्यालरी चहारेँ ।
मात्रै दुईवटा फोटो भेटेँ पापाको । त्यो पनि पुरानो फोटो मोबाइलले स्क्यान गरेको । कोरिया आउनुअघि पापाको सम्झना एल्बमबाट ग्यालरीमा राख्न मन लाग्यो र स्क्यान गरेर ल्याएकी थिएँ । त्यस फोटोमा पापा सप्तरङ्गी टिकामा देखिनुभएको छ । गलामा सयपत्री फूलको माला । मन्द मुस्कानसहित । मलाई त्यो फोटो खिच्दाको धमिलो सम्झना छ । पापाको चेली नजिकै थिएन । त्यसैले जेठी माइजुले भाइटिकामा पापाको निधार रङ्ग्याइदिनुभएको थियो । त्यही सुमधुर पललाई पापाको क्यामेराले कैद गरेको थियो । अर्को चाहिँ कुनै आफन्तले सामाजिक संजालमा पोस्ट गर्नुभएको थियो । त्यही सेभ गरेकी थिएँ ।
मैले ग्यालरीमा सुरक्षित भएको त्यही फोटो पठाइदिएँ । रियाक्टमा लभको इमोजी पठायो, भाइले । भाइले फोटो मागेको साँझ म पापाको यादले बिथोलिएँ । सोचमग्न भएँ । साँच्चै पापाको याद धमिलो हुँदै गएछ । धमिलो हुँदै कुनै दिन पुरै मेटिएला कि ? कतै पुरिएला कि ? मलाई डर लाग्यो । मपछिको पुस्ताले पापा कस्तो हुनुहुन्थ्यो ? भनेर सोध्ला कुनै दिन । मलाई पापाको याद कहिल्यै नपुरिने गरी सबैले देख्नेगरी राख्न मन लाग्यो । ममीलाई सरप्राइज दिन मन लाग्यो । पापाको फोटोको पेन्टिङ बनाएर । हठात् मनमा आयो, कतै पापाको यादले ममी बिथोलिनुभयो भने ? खाटा बसिसकेको घाउ बल्झिने पो हो कि ? निकै दिन म अलमलमा परेँ । होइन, ममीको अन्तरहृदयमा कहिल्यै नमेटिने भनेको पापा नै हो । उहाँ त सधैं पापालाई बोकेरै यात्रारत हुनुहुन्छ । बरु मेरो सरप्राइज सुखद हुन जाला । अन्ततः फोटोलाई पेन्टिङ बनाउने निर्णय गरेँ ।
सामाजिक संजालले धेरै कुरामा हाम्रो पहुँच बनाएको छ । केही दिनअघि न्युजफिडमा एकजना साथीले कसैको पोट्रेट बनाएर पोस्ट गर्नुभएको थियो । मैले प्रोफाइल सर्च गरेँ ।
‘मेरो पापाको फोटोको एउटा पोट्रेट गरिदिनुस् न ।’ मैले प्राइभेट म्यासेज गरेँ । उहाँले सहर्ष स्वीकार्नुभयो । बीस-पच्चिस दिन लाग्ने बताउनुभयो । तर उहाँले दश दिन नबित्दै आफ्नो सुन्दर कला प्रयोग गरेर पापाको जिवन्त पोट्रेट बनाइदिनुभयो । धन्यवाद नदिई कसरी बस्न सक्छु ! कृतज्ञ छु, विष्णुजीप्रति ।