५१ कम्पनीको शेयरमूल्यमा चलखेल
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत ५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको जनाएको छ । बोर्डले मंगलबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चन्द्रागिरी हिल्स, अप्पर तामाकोसी, हिमालयन डिष्टिलरी, महिला लघुवित्त, विशाल बजारलगायत ९ वटा बिमा कम्पनीसहित ५१ कम्पनीको शेयरमूल्यमा चलखेल भएको जनाएको हो ।
खराब वित्तीय अवस्थामा रहेका ५१ वटा कम्पनीको शेयरमूल्यमा कर्नरिङ, सर्कुलर ट्रेडिङ र इन्साइडर ट्रेडिङ गरेर मूल्य बढाएको बाेर्डले निष्कर्ष निकालेको हो । ५१ वटा कम्पनीमा हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहका कम्पनी छन् ।
बोर्डले पछिल्लो समय अस्थिर बनेको शेयरबजारलाई लक्षित गर्दै अनुसन्धान सुरु गर्दा ५१ कम्पनीकाे शेयरमूल्यमा चलखेल भएको प्रवक्ता निरज गिरीले बताए । यसबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बाेर्डले जनाएको छ ।