रहर लाग्दो ‘रहर’
स्नातक दोस्रो वर्षको परीक्षा नजिकिसकेको थियो । एकदिन फेसबुकको न्युजफीड चहार्दै गर्दा ‘रहर’ नामक पुस्तकको बारेमा देखेँ । केही वर्षयता पुस्तकहरुसँग गहिरो प्रेममा छु म । कुनै नयाँ पुस्तकको बारेमा कतै केही देख्यो कि उत्सुकता जागिहाल्छ । कुन विधाको होला ? लेखक को होला ? पुस्तकको लेखाइ कस्तो होला ? समीक्षा के कस्ता आएका होलान् ? यस्तै यस्तै प्रश्नहरु जमराजस्तै भुरुरुरु उम्रिन्छन् ।
पुस्तकहरुको भोक बढेको बखत ‘रहर’ देखेपछि यसबारेको भोक पनि बढ्यो । बाल्यकाल र तरुण वयका अनुभव र कथाहरु पनि समेटिएको भन्ने थाहा पाएपछि ‘रहर’ किन्ने रहर जाग्यो । तर आफ्ना वरिपरिका सबै पुस्तक पसल चहार्दा पनि ‘रहर’ पढ्ने रहर भने पुरा हुन सकेन । एउटा पुस्तक पसलका पसलेले धेरै आग्रह गरेपछि ‘रहर’ ल्याइदिने वाचा गर्नुभयो । केही दिनमा गाता हेर्दै पढ्न मनलाग्ने ‘रहर’ मेरो हात पर्यो ।
कथा सङग्रह ‘रहर’ पढ्न सुरु गरेपछि नसकिएसम्म दाँयाबायाँ गर्न मनै नलाग्ने, अचम्मको साइनो गाँसियो रहरका अक्षरहरुसँग … । छोटा, रमाइला र आफ्नैजस्ता लाग्ने १३ वटा कथा समेटिएको रहरका लेखक सुरेश बडाल हुनुहुन्छ ।
‘नास्पाती’ कथामा हजुरआमाले ‘धेरै मान्छे मर्ने वर्ष फलफूल पनि लटरम्म फल्छ, बालीनाली पनि राम्रो हुन्छ’ भनेको हरफ पढ्दै गर्दा केही वर्ष पहिला हामीलाई छाडेर स्वर्गलोक जाने बेलामा हजुरबुबाले ‘यो साल आँप लटरम्मै फल्यो बाचिँदैन कि के हो ?’ भन्दै आँपको बोटतिर औँल्याउनुभएको याद आयो ।
स्कुल पनि त सँगै जान्थ्यौं हामी । जो छिटो भएपनी मन्दिर छेउको चैतारोमा भेला भई हात समाएर सँगै स्कुल जाने बानीसँगै लभ परेको थियो ।
अर्को कथा ‘आमाको पढाइले लेखकको मात्र होइन‚ हाम्रा समाजका आमाहरुको शिक्षाको अवस्थालाई देखाएको छ । कथाकी आमालाई जस्तै मेरी आमालाई पनि त अङ्ग्रेजी आउँदैन रहेछ भन्ने मैले धेरै पछि थाहा पाएकी हुँ । मेरो हरेक जन्मदिनमा ‘ह्याप्पी बर्थ डे माई डियर डटर’ भनेको सुन्दा म दङ्ग पर्थेँ । मेरी आमालाई पनि अङ्ग्रेजी आउँदो रहेछ भन्ठान्थेँ म । तर पछि आफू बिरामी भएर विद्यालय जान नसक्दा प्रिन्सिपललाई अङ्ग्रेजीमा लेख्नुपर्ने चिठीको सुरुवातै गर्न नआउँदा पो थाह पाएँ‚ मेरी आमालाई अङ्ग्रेजी आउदो रहेनछ । उहाँलाई त मलाई सजिलो लाग्ने ए, बी, सी, डी पनि नआउँदो रहेछ । कथाकी आमाले त अन्त्यमा बाङ्गाटिङ्गा अक्षरमा भएपनि आफ्ना पारिवारिक सदस्यहरुको नाम लेख्नुभयो तर मैले मेरी आमालाई कलम समाउन सिकाउनै बाँकी छ ।
बाल्यकालमा घर छेउको टाँकी फूलेपछि दशैँ आउँथ्यो,आफ्नो परिवारलाई ठिक्क पुग्नेगरीको कालो खसी ल्याइन्थ्यो, बुबालाई कर गरेरै भएपनि फिरीक्क परेको पुतली झैँ देखिने जामा हात पारिन्थ्यो ।
तर खुसी नै खुसीका बेला फेरि स्कुलबाट चाहिँ वर्ष दिनमा पनि नसकिने गरिको होमवर्क पाइन्थ्यो । बल्ल बल्ल आएको दशैँमा पारीघरे काका र दुई डाँडा काटेसी बल्ल पुगिने मावलीमा टिका थापेर पिङमा मच्चिँदै गर्दा दशैँ होमवर्कको कापी नकिन्दै दशैँले होमवर्क र मलाई छाडेर गएको पत्तै नहुने । स्कुल सुरु भएपछि शिक्षक शिक्षिकाले होमवर्क नगर्नेलाई अगाडि लाइन लगाएर सिर्कनाले हत्केलामा सुम्ला बसाएको मेरो कथा पनि त ‘रहर’ मा समेटिएको छ, कथा सङ्ग्रहको ‘दशैँ होमवर्क’ कथामार्फत् ।
‘रहर’ कथामा रुपाका बोल्ने आँखाहरु थिए । अनि तिनै बोल्ने आँखाहरुसँग ‘म’ पात्रको बालप्रेम । साउन १३ गते उनीहरुको धुमधामसँग लभ परेको थियो । तर त्यत्रो लभ पर्दा पनि त्यहाँ सिनेमाको जस्तो गीत बजेको थिएन । हेहेहे…, लालाला… गर्दै नयाँ जोडीको वरिपरी उस्तै लुगा लगाएका ठिटाठिटीहरु नाचेका थिएनन् । जे भए पनि कथामा लभ परेको थियो । यो कथा पढ्दैगर्दा मैले मेरो बालप्रेमलाई सम्झिएँ । उसको र मेरो घर नजिकै थियो । अझ भनौँ उसले घरमा पिटाइ खाएर बेस्सरी चिच्याउँदा उसको पिडा म महसुस गर्थेँ । नगरौँ पनि कसरी उसँग मेरो भर्खर भर्खर लभ पर्दै थियो ।
उसको हिस्सी परेको अनुहारसँग लभ परेको थियो, ऊ मुसुक्क हाँस्दा उसका गालामा पर्ने खोपिल्टासँग लभ परेको थियो ।
छुट्टीका दिनमा सँगै गोठालो जाने बानीसँग लभ परेको थियो । अनि उसले आफ्ना घरबाट चोरेर ल्याइदिने गुलिया आरुका दानाहरुसँग लभ परेको थियो ।
कथाकारको लेखनशैली सरल र सुन्दर नभएको भए यसअघि नामै नसुनेका कथाकारको लेखनीले यति धेरै तान्ने थिएन ।
स्कुल पनि त सँगै जान्थ्यौं हामी । जो छिटो भएपनी मन्दिर छेउको चैतारोमा भेला भई हात समाएर सँगै स्कुल जाने बानीसँगै लभ परेको थियो ।
कथाकी रुपाले टाउकोमा भएको बिरामले गर्दा आफ्नो प्रेमीलाई छोडेर गई अनि मैले पनि सुनौलो भविष्य खोज्दै आफ्नो प्रेमीलाई छोडेर आएँ । फरक यत्ति हो‚ रुपा कहिल्यै फर्कन्न तर म आफ्ना सपनाहरु पुरा गरेर गाउँ फर्कन्छु ।
‘बोल्ने आँखाहरु’ कथाले फेरि मेरो बालप्रेमलाई झक्झक्याइदियो । मेरो मस्तिष्कमा मेरो बालप्रेमीको आकृति कोरिदियो ।
अनि मैले कल्पला गर्न थालेँ- ती बोल्ने आँखाहरुमा मेरा लागि भरिएको प्रेम । साँच्चै अहिले कस्ता भए होलान् ती बोल्ने आाँखाहरू ? मेरो बाटो अझै कुर्छन् होला ती बोल्ने आँखाहरुले ? यस्तै यस्तै सोच्दासोच्दै कथा सकियो तर मेरो जीवनको प्रेम कथाको भर्खर पालुवा पलाए झैँ लाग्यो । अब मैले छिट्टै आफ्ना बोल्ने आँखाहरुलाई भेट्न गााँउ जानु छ । आँखाकै भाषाले यत्रो वर्षसम्म मेरो याद आएन ? भन्ने प्रश्न गर्नु छ‚ अनि मलाई असाध्यै मन पर्ने बलिउड अभिनेता शाहरुख खानलाई ऊजस्तै देख्छु र मैले पढ्ने प्रेमका उपन्यासहरुमा उसलाई नै भेट्छु भन्नु छ ।
अहो ! म त ‘रहर’का कथाहरुसँग आफ्ना कथाहरुको साइनो पो गाँस्न पुगेछु । नपुगौँ पनि कसरी‚ कथा सङग्रहका कथाले मेरै बाल्यकालको कथा, भोग्दै गरेको यौवनको कथा, पल्लाघरे हजुरबुबाको राजनैतीक कथा, म सानी हुँदा सँगै स्कुल आउने‚ अझ भनौँ मेरो बालप्रेमीका विषयमा बोल्ने आँखाहरुको कथा समेटेको छ ।
सधैँभरि जानेरै प्रेम सम्बन्धमा परिएको हुँदैन । आकर्षणमा फसिएको पनि हुन सक्छ । जब एकअर्कालाई जान्दै गइन्छ, तब थाहा हुन्छ प्रेमको असली वजन । एकछिन गाह्रो हुन सक्छ । केही हप्ता छाति चिरिन सक्छ । केही महिना सम्झनाका घनले हिर्काइरहन सक्छन् । तर मनै नमिली जबरजस्ती घिसार्ने सम्बन्धले भन्दा त्यो बन्धन चुडाउनाले खासमा दुवैलाई खुसी दिने रहेछ ।
जब प्रेम हल्का र सम्बन्ध भारी लाग्छ, तब कतै सजिलो चौतारी खोजेर त्यो सम्बन्ध बिसाएकै बेस हुन्छ । (कथा शीर्षक एक टुक्रा रङ) कति सुस्पष्ट रुपमा भनेका छन् कथाकारले यो कुरा । तर बिर्सन भनेजस्तो सजिलो भने कहाँ छ र ? झन् बिर्सन खोज्यो सम्झनाचाहिँ बढी आइदिएपछि कसरी सकिन्छ बिर्सन ? यसैकारण पनि होला कथाकार बडाल भन्छन्- मनको मान्छेलाई बिर्सिनु भनेको त पैतालाको घाउ बिर्सिएजस्तै हुने रहेछ । ट्याक्क खुट्टा टेक्दा दुखेझैँ‚ झलक्क सम्झना आउदा छुस्स मन दुख्दो रहेछ ।
यसरी ‘रहर’ कथा सङग्रह पढ्दा कतै आफ्नो बालापनले घच्घच्यायो‚ त कतै यौवनले चुर्लु्म्म भिजायो‚ अनि वियोगका कथा पढ्दा छाति चिरिँदै आँखाबाट आँसु झरेर भावनाको भेल बगायो ।
‘रहर’ का कुनै कथामा बालमनोविज्ञानको चित्रण छ त‚ कतै प्रेमको फूलले ढकमक्क फुलेको फुलबारीमा पाठकलाई ती फूलहरुको सुगन्धको आस्वादन गराउँदै सँगसँगै हिँडाउन सफल छन् कथाकार । कुनै कथाले समाजका राजनीतिक एवम् आर्थिक र सामाजिक पक्षलाई झल्क्याएको छ ।
कथाकारको लेखनशैली सरल र सुन्दर नभएको भए यसअघि नामै नसुनेका कथाकारको लेखनीले यति धेरै तान्ने थिएन ।
यही कारण पनि हो कि म जीवनमै पहिलोपटक मैले पढेका धेरै पुस्तकहरुमध्ये रहरकै बारेमा यो सामग्री लेख्दैछु । के छुट्यो वा के पुगेन बान्की कस्तो बन्यो वा संरचना भयो कि भएन भनेर खुट्याउन म सक्दिनँ । बस् ! एक पाठकका रुपमा मलाई रहर कथा संग्रह मज्जाको लाग्यो । पढ्न थालेपछि छोड्नै मन नलाग्ने । मैले परीक्षाको मुखैमा पनि कोर्सका किताब र नोट थन्क्याएर रहर पढिसकेँ ।
आगामी दिनमा पनि प्रिय लेखक सुरेश बडालबाट यस्तै मीठा खुराकहरुको अपेक्षा गर्दछु । र प्रकाशक फाइन प्रिन्टलाई पनि यति प्रिय रचना प्रकाशनका लागि धन्यवाद ।
लु गज्जब लेखाइ
keep it up
Unhappy for dislikers but doesn’t matter, Diamond isn’t for everone❤👍👏
Unhappy for dislikers but doesn’t matter,Diamond isn’t for everyone❤✨️👏
“रहर” पढ्ने रहर लाग्यो। लकडाउन खुलेपछि मैले किन्ने पहिलो पुस्तक यहि हुनेछ।
राम्रो पाठकीय टिप्पणी