लोकतन्त्र, जनताको राजनैतिक चेत र शासक
लोकतन्त्र‚ अझ भनौं उदार लोकतन्त्र वा ‘लिबरल डेमोक्रेसी’लाई आज विश्वको उत्कृष्ट शासन व्यवस्थाका रुपमा लिइन्छ । उक्त व्यवस्थाअनुसार चुनावमा बहुमत पाउनेको मनपरी शासन नभई बहुमत प्राप्त पक्षले व्यक्तिगत अधिकार, स्वतन्त्रता र विधिको शासनको प्रत्याभुति जनतामा दिँदै संविधानको दायराभित्र रहेर शासन व्यवस्था सञ्चालन गर्दछ भन्ने मान्यता छ । उक्त व्यवस्थाभित्र जनतामा सूचनाको हक, वाक् तथा प्रकाशनको स्वतन्त्रताजस्ता अधिकार निहित हुन्छन् भन्ने धारणा छ ।
सरकारले कसरी शासन सञ्चालन गरिरहेको छ । के कस्ता गतिविधि गरिरहेको छ भन्ने जानकारी पाउन र ती गतिविधि ठीक/बेठीक के छन् भन्ने बहस गर्न, प्रश्न गर्न, गलत देखिए विरोध गर्न र निरुपण खोज्न समेत जनताले पाउँछ । यसकारण उदार लोकतन्त्र एउटा सम्पूर्ण र उत्कृष्ट शासनपद्धतिका रुपमा लोकप्रिय बन्न गएको हो ।
लोकतन्त्रले यस्तो कल्पना गर्दछ कि आम जनता राजनीतिक गतिविधि र शासकका सबै क्रियाकलाप जान्न, बुझ्न र ठीकबेठीकको परख (मूल्यांकन) गर्न सक्दछन् । वा यसो गर्न उनीलाई फुर्सद र रुचि हुन्छ । जनताले बेठीक देखेमा त्यस्ता विचारधारा र शासकीय क्रियाकलाप गर्नेलाई चुनावमा मत नदिन सक्दछन् । र त्यस्ता विचारधारा राख्ने वा क्रियाकलाप गर्नेले शासकीय जिम्मेवारी प्राप्त गर्न सक्दैनन् भन्ने मान्यता लाेकतन्त्रले राख्छ । यही मान्यताका आधारमा लोकतन्त्रलाई जनताको शासन र जनता नै सर्वेसर्वा र सबैभन्दा शक्तिवान् भएको व्यवस्था भन्ने गरिन्छ ।
तर प्रश्न आउँछ– के जनता यी सबै विषयमा सूचना लिन, विश्लेषण गर्न, ठीक/बेठीकको परख गर्न र गलत देखिएमा विरोध गर्न क्षमता र रुचि राख्छन् ? वा यसो गर्न आम जनतालाई आफ्नो दैनिक पेशा–व्ययवसायबाट फुर्सद मिल्छ ?
अँह मिल्दैन । वास्तवमा जनता सबै राजनीतिक गतिविधि बुझ्ने, रुचि राख्ने वा जान्नका लागि समय दिन सक्ने हुँदैनन् । उनीहरुको आफ्नाे पेशा–व्यवसाय हुन्छ । राजनीतिक गतिविधि बुझ्ने आफ्नै स्तरको क्षमता र रुचि हुन्छ ।
अमेरिकी लेखक जसोन ब्रेन्नोनले जनतालाई राजनीतिक संलग्नताको हिसाबले हब्बिट, हुलिगान र भल्कन गरी तीन वर्गमा राखेर व्याख्या गरेका छन् । हब्बिट वर्गका व्यक्ति वा जनता राजनीतिक विषयमा चासो वा जानकारी राख्दैनन् । हुलिगान भनेका कुनैै खास राजनीतिक दल वा समूहको पक्षमा रहने जनताकाे समूह हाे । भल्कन भनेका राजनीतिक विषयमा जानकारी राख्ने विश्लेषण गर्ने र त्यसका आधारमा सही वा गलतको धारणा बनाउने जनता वा व्यक्ति हुन् ।
आज हाम्रो मात्र नभई विकसित र शिक्षित मानिएका देशमा समेत आजको वा आउने पुस्ताको जनसांख्यिक संरचनामा हेर्दा हब्बिट वा हुलिगान वर्गकै जनताकाे संख्या बढी देखिन्छ ।
जसरी एउटा शहरको प्रदुषण कम गर्न एउटा गाडीले फ्याक्ने धुँवाको भूमिका नगन्य हुन्छ, त्यस्तै लोकतान्त्रिक पद्धति जोगाउन वा राम्रो शासक छान्न हरेक व्यक्तिसँग रहेको एक भोटको मूल्य लाखौं भोटका बीचमा नगन्य हुन जान्छ । एउटा व्यक्तिको भोट कुनै उमेदवारलाई जिताउन निर्णायक हुन सक्ने गणितीय संभावना शून्य होइन तर शून्यको ननिक मात्र हुन्छ ।
यस किसिमको अवस्थाले हरेक आम व्यक्तिलाई राजनीतिक विषयमा जानकारी राख्ने, मूल्यांकन गर्ने र उचित र अनुचितका आधारमा भोट हाल्ने भन्ने जागरुकताबाट अलग राख्दछ । अनि जति जति जनता राजनीतिक विषयमा अशिक्षा वा अरुचिका कारण निरपेक्ष र बेमतलब रहन्छन्, उति नै लोकतान्त्रिक पद्धतिको डेलिभरी कमजोर बन्दछ ।
आज वास्तवमा राजनैतिक चेत नराख्ने वा राजनीतिमा रुचि नराख्ने जनताको ठूलो हिस्सामाथि शासक वर्गको मनलाग्दी शासन चलिरहेछ ।
राजनीतिक विषय र घटनाको बारेमा जानकारी नराख्ने वा खास राजनीतिक दलको वफादारिता निभाएर हिँड्ने व्यक्तिको बाहुल्यता रहँदा लोकतन्त्रमा आधारित शासन संयन्त्रले कत्तिको राम्ररी काम गर्ला ?
आज वास्तवमा राजनैतिक चेत नराख्ने वा राजनीतिमा रुचि नराख्ने जनताको ठूलो हिस्सामाथि शासक वर्गको मनलाग्दी शासन चलिरहेछ ।
गरीब र अशिक्षित जनतामा आफ्नो कठिन दैनिकीका बीच लोकतान्त्रिक अधिकारको नाममा भोट हाल्ने अधिकारबाहेक अन्य अधिकारको उपयोग गर्ने क्षमता नै छैन । आम जनतामा अशिक्षा, विभेद र गरीबी व्याप्त छ । राज्यले दिने शिक्षा, स्वास्थ्य र सुविधा पुगिरहेको छैन । साना आश्वासन वा सहयोगका देखावटी पुलिन्दाले आकर्षित हुन बाध्य छन् ।
अर्कोतर्फ, शिक्षित भएर पनि राजनीतिक विषयमा चासो, रुचि र जानकारी नराख्ने समूह छ । फेरि अर्को समूह छ– आफ्नो स्वार्थका कसीमा मात्र आफूले प्राप्त गर्ने फाइदाको हिसाबमा मात्र समर्थन वा विरोध गर्दछ । स्वार्थका लागि शासकको यो वा त्यो जुनसुकै कदमको पक्षमा र विपक्षमा उभिन सक्दछ ।
यसैले शासकवर्गले गरिरहने गलत क्रियाकलापमा देश, जनता र समाजलाई दीर्घकालीन नोक्सानी हुने निर्णयमा अलोकतान्त्रिक र स्वार्थप्रेरित कदममा समेत उठ्नु पर्ने तहको प्रश्न उठ्दैन, हुनुपर्ने तहको बहस हुँदैन, विद्रोह हुँदैन । विद्रोह भए पनि फेरि कुनै स्वार्थप्रेरित तप्काको बहकाउमा हुन्छ । अथवा जनताको बहकाउलाई कसैले फेरि दुरुपयोग गरेर आफ्नो स्वार्थको पोषण गर्न सक्दछ । यस प्रकारले लोकतन्त्र राजनीतिलाई आफ्नो स्वार्थको कुटिल पेशा बनाउनेको कब्जामा पर्न बाध्य हुन्छ ।
राजनैतिक सत्त्ता र शक्तिमा रहेकाले गरेका गतिविधि र निर्णयबारे चासो राख्ने, तिनको औचित्य र उपयोगिता बुझ्न खोज्ने, प्रश्न उठाउने, सत्यको उत्खनन गर्ने प्रवृत्ति जनतामा जति कम हुन्छ, उति नै यस्ता तत्वलाई सजिलो हुन्छ । राजनीतिको अवान्छित खेलका कारण जनतामा जति वितृष्णा फैलिन्छ । जति यो राजनीतिक खेलका समाचार र विश्लेषणदेखि वाक्क हुन्छन् चासो लिन छोड्छन्, उति नै त्यस्ता खेलाडीलाई फाइदा हुन्छ ।
यसर्थ राजनीतिक विषयमा अरुचि, उदासीनता वा निरपेक्षता अथवा कुनै दल विशेषको अन्ध समर्थन वा आबद्धताभन्दा एउटा फराकिलो र समालोचनात्मक दृष्टिबाट परख(मूल्यांकन) गर्ने र धारणा निर्माण गर्ने प्रवृत्तिको विकास गर्नु लोकतान्त्रिक पद्धतिको सार्थक र सुदृढ विकासका लागि अति आवश्यक रहन्छ ।
रुपा गाउँपालिका १, कास्की ।
एकदम यथार्थपरक विश्लेषण, सबैले मनन् गर्न जरुरी छ।