नेपाल संकटमा छ, कोभिड खोप दिनुहोस्
प्रत्येक बिहान आजभोली आमासँगै बसेर चिया नास्ता खान पाइरहेको छु। आमा यहाँ आएको पाँच वर्ष भयो । आमासँगै हुन पाएकाले होला, मलाई न्युयोर्क पनि घर (जन्मघर) जस्तै लाग्छ । आमा यतै भएकाले न्यूयोर्क मेरा लागि घरभन्दा पनि धेरै बढी हुन गएको छ । बिहानको नास्ता आमाले नै तयार पार्नुहुन्छ । नास्तासँगै, चियापत्ति, दूध, अलैँची, सुकमेल, तेजपत्ता र ल्वाङ राखेर परम्परागत रूपमा बनाइएको नेपाली चिया हुन्छ ।
नेपाली शिल्पकारका हातले कुँदेर बनाएका तामाका कपमा राखिएको चियाको चुस्कीसँगै आमाछोरा जीवनका कुरा गर्छौं । समसामयिक घटनाका बारेमा गफगाफ गर्छौँ, ख्यालठट्टा पनि गर्छौं । दिन उत्साहजनक बनाउने यी कुरा मेरा लागि सूत्रजस्तै भएका थिए केही वर्षदेखि ।
दुर्भाग्यवश, केही महिनायता हाम्रो बिहानको नास्ताको समयमा सबैको मुहारि मलीन देखिन थालेको छ । केही महिनादेखि एसियाली समुदायमाथि गरिएको आपराधिक र घृणाजनक अभिव्यक्तिका क्रियाकलापले अमेरिकालाई थिलथिलो बनाएको छ ।
अमेरिकाभर नै एसियाली मूलका समुदाय, मिडियादेखि युवा संस्कृति र दैनिक जीवनशैलीका विषयमा ‘देखिनेगरी’ प्रस्तुत हुन थाले । यसमा ऐक्यबद्धता जनाउनेहरु पनि बढ्न थाले । यो एउटा पाटो थियो ।
यो उदासीपन आंशिक रूपमा कोरोना भाइरससँग पनि सम्बन्धित छ । कोरोनालाई ‘चिनियाँ भाइरस’ भनेर जातीयता र राष्ट्रियतासँग जोडेर हेर्नाले पनि एसियाली मूलका नागरिकमाथि विभेद थपिएको थियो । विभेद निम्त्याउने पक्षले यसबाट एसियाली मूलका नागरिकले डराएको, सीमान्तकृत भएको महशुस गरुन् भन्ने चाहेपनि उनीहरुले त्यसो गरेनन् बरु, यसले धेरै एसियाली मूलका अमेरिकीलाई अझ एक हुन बल पुर्यायो । यसले गर्दा लामो समयदेखि अमेरिकामा निरन्तर ‘अदृश्य’ रहँदै आएका एसियाली मूलका नागरिक अलिअलि भएपनि देखिन सक्नेगरी प्रस्तुत हुन सके ।
अमेरिकाभर नै एसियाली मूलका समुदाय, मिडियादेखि युवा संस्कृति र दैनिक जीवनशैलीका विषयमा ‘देखिनेगरी’ प्रस्तुत हुन थाले । यसमा ऐक्यबद्धता जनाउनेहरु पनि बढ्न थाले । यो एउटा पाटो थियो ।
यति बेला पृथ्वीको अर्को भागमा पर्ने पूर्वी एसियामा बस्ने हाम्रा घरपरिवारका सदस्य भने बेग्लै खालका अनेक युद्धमा होमिएका छन् । उनीहरू जीवित रहनका लागि युद्धमैदानमा होमिएका हुन् ।
मेरो देश नेपाल यति बेला कहिल्यै नभोगेको जनस्वास्थ्य समस्यासँग लडिरहेको छ । भारत र चीनका बीचमा रहेको नेपालमा फैलिएको कोरोना महामारीको विषय दक्षिणी छिमेकी देशका कारण ओझेलमा परेको छ ।
नेपालको पीडा ठूला अन्तर्राष्ट्रिय मिडियामा अटाएनन्, त्यसैले नेपालको पीडाको विषय धेरैको दृष्टिमा परेन । बाँकी विश्वले समतामूलक सहयोग गरोस् भन्न पनि मिडियामा यी विषयहरु अटाउनु जरुरी थियो, जसले यो विषय धेरै मानिसको दृष्टिमा पार्ने थियो ।
नेपालमा अक्सिजनको अभाव अति नै भएपछि सरकारले सगरमाथा आरोहण गर्ने पर्वतारोहीसँग पनि अक्सिजन सिलिन्डर माग्नुपर्ने अवस्था थियो । धेरैजसो पर्वतारोही श्वेतबर्णका र पश्चिमी देशका हुने भएकाले अक्सिजन अभावका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपरेको विषयले केही हदसम्म भएपनि विश्वको ध्यान खिच्न सफल भएको हो ।
मे १२ मा अमेरिकी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कोभिड नियन्त्रणमा भइरहेको अन्तर्राष्ट्रिय प्रयासबारे छलफल गरिएको थियो ।
गएको मे महिनामा नेपालमा कोरोना भाइरसको संक्रमणदर प्रति १ लाख जनसंख्यामा ३२ थियो । जुन, विश्वभरकै सबैभन्दा बढी थियो । यति ठूलो महामारी थेग्न सक्नेगरी स्वास्थ्य सेवा प्रवाह गर्ने पूर्वाधार नेपालमा छैनन् । देशभर आईसीयू शय्या अभाव भए । गम्भीर अवस्थामा पुगेका बिरामीले पनि शय्या पाएनन् । उनीहरूलाई अस्पतालले त्यतिकै फर्काइदिए । अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाइयो । एक शय्याका लागि १० जनाले पालो कुर्नुपर्ने अवस्था सिर्जना गर्योग । नेपालमा अक्सिजनको धेरै नै अभाव भएपछि सरकारले सगरमाथा आरोहण गर्ने पर्वतारोहीसँग पनि अक्सिजन सिलिन्डर माग गरेको थियो ।
अक्सिजन अभावले नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद हो ।
कयौँ संरचनागत बाधाका बिच नेपालले खोप कार्यक्रममा भने उदाहरणीय कीर्तिमान बनाएको छ । सन् १९९० मा ४३ प्रतिशतमा रहेको खोपको पहुँच सन् २०१२ मा ९० प्रतिशत पुगेको छ । २२ वर्षमा नै नेपालले खोपमा नागरिकको पहुँच दोब्बर बनाउन सफल भएको छ । नेपालमा ५५ हजारभन्दा बढी तालिमप्राप्त स्वास्थ्य स्वयंसेविका छन् । उनीहरू समुदायमा नै रहने र समुदायका सांस्कृतिक संवेदनशीलताको रणनीतिका कारण पनि नेपालको खोप कार्यक्रममा नागरिकको पहुँच विस्तार भएको हो । यसले नेपालका दुरदराजका क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहमा सहज पनि भएको हो । नेपालमा भ्याक्सिनको महत्त्वबारे नागरिकमा ज्ञान उच्च छ । कोभिड खोप कार्यक्रमलाई तीव्रता दिनका लागि भ्याक्सिन भण्डारण गर्न देशको ‘कोल्ड चेन’ क्षमता र राम्रो पुर्वाधार बनिसकेको छ । हामीकहाँ भ्याक्सिनको भने अभाव छ ।
३ करोड जनसंख्या भएको नेपालले हालसम्म कोरोनाविरुद्धको ३० लाख मात्रा खोप लगाइसकेको छ । दुर्भाग्य नै भन्नुपर्छ, यीमध्ये धेरै मानिसले पहिलो मात्रामात्र लगाएका छन् । दोस्रो मात्रा पाउन सकेका छैनन् । दोस्रो मात्रा पनि नलगाए खोपको मात्रा पूरा हुँदैन । नेपालका २ प्रतिशत मानिसले मात्र पूर्ण मात्रामा खोप पाएका छन् । खोप लगाउने दर अहिलकै जति मात्र रहिरहे १० प्रतिशत नागरिकलाई खोप लगाउन पनि ४८१ दिन लाग्ने अनुमान विज्ञहरूले गरेका छन् । ‘हर्ड इम्युनिटी’का लागि ६० देखि ८० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने विज्ञले बताउँदै आएकाले हालकै दरमा खोप लगाइयो भने यसका लागि वर्षौं लाग्ने अवस्था छ ।
मे १२ मा अमेरिकी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कोभिड नियन्त्रणमा भइरहेको अन्तर्राष्ट्रिय प्रयासबारे छलफल गरिएको थियो ।
छलफलमा कनेक्टिकटबाट निर्वाचित डेमोक्रेटिक पार्टीका सांसद क्रिस मर्फीले ‘भारतले भोगिरहेको समस्या नेपालले भोग्नु नपरोस् भन्नका लागि हामी के गर्न सक्छौँ ?’ भनेर सोधेका थिए । छलफलमा सहभागी अमेरिकी सहयोग नियोग (यूएसएड) का कोभिड कार्यदलका कार्यकारी निर्देशक जेरमी कोनिन्ड्याकले अमेरिकाले नेपाललाई मेडिकल सामग्री र परीक्षण उपकरणका लागि २ करोड अमेरिकी डलर सहयोग गरेको जानकारी गराएका थिए ।
त्यसबेलासम्ममा तीन चरणमा स्वास्थ्य सामग्री पठाउने भनेको अमेरिकाले नेपाललाई पहिलो चरणको स्वास्थ्य सामग्री पठाइसकेको पनि थियो ।
स्वास्थ्य सामग्री आपूर्ति अत्यावश्यक थियो । सहयोगप्रति कृतज्ञता । स्वास्थ्य सामग्रीले कोभिड संक्रमणदर कम गर्न वा संक्रमण भइसकेका नागरिकको उपचारमा सहयोग पुग्ने भएपनि कोभिडलाई पूर्ण नियन्त्रण गर्न सक्दैन । त्यकारण कोभिड संक्रमण भइसकेपछिको उपचार बारे सोच्नुभन्दा संक्रमण नै हुन नदिनु कता हो कता प्रभावकारी हुन्छ । यसका लागि चाहिने कुरा भनेको खोप नै हो ।
खोपको समतामूलक वितरणका लागि बनाइएको विश्वव्यापी कार्यक्रम कोभ्याक्सबाट नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको छ । यो कार्यक्रमका लागि अहिले सबैभन्दा ठूलो दाता देश नै अमेरिका छ । जुन ३ मा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकामा बचेको ८ करोड डोज भ्याक्सिन विभिन्न देशमा वितरण गर्न चाहेको घोषणा गर्दै यो खोप जुन महिनाको अन्त्यसम्ममा वितरण गरिसक्ने योजना रहेको सार्वजनिक गरेको थियो ।
जुन १० मा बाइडेन प्रशासनले ५० करोड डोज फाइजर खोप सहुलियतपूर्ण दरमा किनेर विश्वका कम आम्दानी भएका देशमा सन् २०२२ को जुन महिनासम्ममा वितरण गर्ने थप योजना सार्वजनिक गर्यो । उसले खोपको २० करोड मात्रा सन् २०२१ को अन्त्यसम्ममा उपलब्ध गराउने योजना बनाएको बताएको छ । हालै सम्पन्न विश्वका ठूला अर्थतन्त्र भएका ७ देशको समूह ‘जी- सेभेन’को बैठकमा अरू देशले पनि अमेरिकाको सिको गरे । जी-सेभेन देशले कम आय भएका देशमा दिने खोपको प्रतिबद्धता बढाएर ८७ करोड मात्रा पुर्याएका छन् ।
धनी देशले कोभिड खोपका लागि प्रतिबद्धता बढाउनु वास्तवमा नै राम्रो समाचार हो । यसले नेपालका सयौँ अभियन्ता र खोपमा समतामूलक पहुँच हुनुपर्ने भन्दै आएका विश्वभरका नागरिकलाई ठूलो राहत पुर्याएको छ । तैपनि, धनी देशले विश्वभर खोप पुर्याउन लगानी सुनिश्चित गर्नुपर्ने र यसको समतामूलक पहुँचका लागि हामीले अझै पनि दबाब बढाउनु जरुरी छ, ताकि यो काममा उनीहरूको सहयोग गति मन्द नहोस् र नरोकियोस् पनि ।
अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर लगाइएको कोभिड खोपमध्ये ७५ प्रतिशत धनी १० वटा देशमा मात्र लगाइएको छ। भ्याक्सिन वितरण र पहुँचमा भएको यस्तो असमानताले पूरै विश्वलाई जोखिममा पुर्याएको छ। विश्व नै जोखिममा पर्दा धेरै खोप लगाएका धनी देशमा चाहिँ जोखिम नहुने हुँदैन । हामीलाई थाहा छ, खोप नलगाएका र शारीरिक रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका मानिसमा कोभिड भाइरस धेरै छिटो संक्रमण हुन्छ र म्युटेसन हुँदै घातक नयाँ स्वरुपहरु बन्न सक्छन् । कोभिड नियन्त्रण गर्न हामीले भाइरसभन्दा धेरै नै छिटो गतिमा दौडनुपर्नेछ । चुप लाग्ने वा अरु कुरामा अल्मलिने र राष्ट्रवादी दृष्टिकोणका कुरा गरेर बस्ने समय हामीसँग छैन ।
विश्व स्वास्थ्य संगठन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनका नेताले कोरोना महामारी अन्त्य गरी विश्वलाई संक्रमणमुक्त बनाउन तत्काल भ्याक्सिन उपलब्ध गराउन र कम्तिमा ५० अर्ब अमेरिकी डलरको थप वित्तीय सहायता जुटाउन धनी देशहरुलाई आग्रह गर्दै जुन महिनाको सुरुतिर संयुक्त वक्तव्य जारी गरे । वक्तव्यमा विश्वको कम्तिमा ४० प्रतिशत जनसंख्यालाई खोप लगाउन दबाब सिर्जना गर्न पनि आग्रह गरिएको थियो ।
यूएसएडले नेपालको कोभिड संकटलाई पहिलो प्राथमिकतामा राखेको बताए पनि उसको थप सहयोग हामीलाई चाहिएको छ । यो कुरा नेपालका जनप्रतिनिधिमार्फत अमेरिकाको दक्षिण एसिया उपसमितिका सिनेटरसम्म पुग्नु बढी प्रभावकारी हुन्छ । चुनावका बेला गरेका बाचा पूरा गर्न, खोप छिटो उपलब्ध गराउन र अझ बढी जनउत्तरदायित्वपूर्ण काम गर्न जनप्रतिनिधिलाई दबाबको खाँचो छ । नेपाली नागरिक यो महामारीलाई पराजित गर्न आतुर छन् भन्ने कुरा नेपालमा रहेका मेरा आफन्त र साथीभाइको कुराकानीबाट मैले बुझेको छु। उनीहरूलाई खोप, परीक्षण गर्ने किट, अक्सिजन सिलिन्डरलगायतका अत्यावश्यक सामग्री मात्र चाहिएको छ।
दैनिक कुराकानी हुने नेपालमा रहेकी मेरी दिदी, परिवारका सदस्यहरू र साथीभाइले मलाई बारम्बार देशमा ‘विध्वंस’ को अवस्था आएको बताइरहन्छन् । नेपालको स्थिति थप कमजोर भइरहेको छ । साथमै रहेको परिवारको सदस्य आँखा झिम्क्याउन नपाउँदै गुमेको छ। धेरै नेपालीका लागि यति धेरै संख्यामा भइरहेको मृत्युका कारण आफ्नै टाउको मात्र थाम्न पनि गाह्रो भइरहेको छ। सन् २०१५ मा आएको विनाशकारी भूकम्पमा पनि नेपालले ठूलो क्षति व्यहोरेको थियो । एक दशक पनि नपुग्दै यति ठूला विनाशकारी प्रकोपको सामना गर्नुपर्ला भन्ने कुनै नेपालीले कल्पनासम्म पनि गरेको थिएन ।
न्युयोर्कको नयाँ घरमा आमासँगै बस्न पाउने त म धेरै भाग्यमानी हुँ । तर हाम्रा सबै पहिचानको जरा नेपालसँगै गहिरो गरी गाडिएका छन् । मलाई आजको अवस्थामा ल्याइपुर्याउने त्यो ठाउँ, त्यो संस्कृति, ती मानिस र त्यही देशको यो अवस्था देख्दा र महामारीका कारण मेरा परिवारका धेरै सदस्यले ज्यान गुमाउँदा मेरो मुटु सर्बाधिक गह्रौँ भएको छ । कोरोनासँग लड्न र बाँच्न नेपालका नागरिकले ठूलो संकट सामना गरिहरेका छन् भने हामीले सहयोग गर्नैपर्छ, उनीहरूको दृष्टि का लागि संघर्ष गर्नैपर्छ, ता कि नेपाली र एसियाली आवाज फेरि ‘अदृश्य’ नबनोस् ।
(नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङले टाइम पत्रिकामा लेखेको लेखको भावानुवाद)