संस्कारी राजनीतिज्ञको आवश्यकता
म कलेजमा अध्ययनरत रहँदा एकजना स्ववियु सभापतिले कलेजको १४ लाख हिनामिना गरेर सम्पर्कविहीन हुनुभयो । म स्वयम् उक्त युनियनको सदस्य भएको नातालेमलाई सारै चित्त दुखेको थियो । प्रतिपक्षी विद्यार्थी संगठनको तिखो प्रहार निरन्तर खानुपर्दथ्यो । केही समयपश्चात् उहाँलाई भेटेर मैले प्रश्न गरे यस्तो गलत कार्य किन गर्नुभयो ? उहाँले भन्नुभयो ‘स्ववियु चुनाव लड्दाको खर्च कसले तिरिदिन्छ ? के मैले घरखेत बेचेर तिर्ने ?’
हामीजस्ता धेरैजसो विकासोन्मुख राष्ट्रका राजनीतिज्ञहरुको साझा समस्या हो यो । स्ववियु राजनीतिज्ञ उत्पादन गर्ने थलोको रुपमा रहँदै आएका छन् । हरेक राजनीतिक परिवर्तनहरुमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तर गणतन्त्रपछिको अहिलेको अवस्था स्ववियुलगायत अन्य संगठनको औचित्य के हो ? राजनीतिक पार्टीहरुलाई यदि सचेत युवा समूहलाई स्ववियुको नाममा र शिक्षक र कर्मचारीतन्त्रलाई आफ्नो स्वार्थ पूर्तिका लागि प्रयोग गर्न दिएनौं भने उनीहरू सतर्क बन्ने थिए र अहिलेको राजनीतिक कुसंस्कार घट्दै जाने थियो । तर बिडम्बना हालका ठुला भनाउदा पार्टीका नेताहरुमा अहंकार र सर्वसत्तावादको भूत सवार छ । उनीहरुलाई के विश्वास छ भने चुनाव जित्न मेरो संगठनको कर्मचारीतन्त्र छ, प्रहरी प्रशासनको दुरुपयोग गर्न सक्छु, युवालाई अनेकौं आश देखाएर भजनमण्डली बनाउन सक्छु ।
अठारदेखि पैँतालिस वर्ष उमेर समूहले चाहेमा हरेक परिवारमा उथल पुथल आउँछ ।
यसको प्रयोग २०४६ सालदेखि निरन्तर हुँदै आएको छ । कुनै पनि देशमा वास्तविक रुपमा राजनीतिक, सामाजिक र आर्थिक रुपमा आमूल परिवर्तनका लागि आम जनताको सहभागिता अपरिहार्य नै हो । जुन ०४६, ०६२/६३ सालको जनआन्दोलनमा हामीहरुले देखेका छौँ । स्ववियू, शिक्षक संगठन, कर्मचारी संगठनहरूलगायत अन्य संगठनहरू विशुद्ध रुपमा तत्–तत् क्षेत्रको हकहीतका लागि हुनुपर्नेछ । हामीसँग त्यो अदम्य साहस छ भने आजै भन्न सक्नुपर्दछ कि म अब पार्टीको कामको लागि होइन‚ म मेरो पेशालाई मर्यादित बनाउन समय दिनेछु र आफ्नो पेशाको हकहीतका लागि मात्र कार्य गर्छु भनी सबैले प्रण गर्ने बेला आएको छ ।
भ्रष्टाचार बाध्यता कि रहर ?
प्रश्न यहीँनेर छ । हाम्रो देशमा चुनाव दिनप्रति दिन भड्किलो र खर्चिलो बन्दै गइरहेको छ । निर्वाचन आयोगले अनावश्यक चुनावी खर्चहरू रोक्न प्रेस विज्ञप्ति निकाल्नेबाहेक केही गर्न सक्दैन र सम्भावना पनि छैन । किनकी सबैजसो संवैधानिक आयोगहरुमा राजनीतिक नियुक्तिको दबदबा छ । जबसम्म विधि‚ प्रक्रिया र विज्ञको सम्मान हुँदैन तबसम्म आशा भरोसा गर्नु पनि निरर्थक हुन्छ ।
म पुनः स्ववियू चुनावको विषयमा केन्द्रित हुन चाहन्छु । के खर्चिलो स्ववियू चुनाव आवश्यक हो ? जहाँ अध्ययनरत विद्यार्थीहरुको कुनै पनि आयस्रोत छैन तर खर्च अत्यधिक छ । उनीहरुसँग भ्रष्टाचार गर्नुको विकल्प नै छैन । विद्यार्थी जीवन नै असल संस्कारको जग बसाउने थलो पनि होइन र ? भ्रस्टाचारी उत्पादन गर्ने कि राजनेता, अब सोच्नुपर्ने बेला आएन र ? हिजोदेखि चल्दै आएको राजनीतिक परिपाटी बदल्ने कि ? हामी कार्यकर्ताहरु कति मूर्ख र अन्धभक्त छौँ भने कुनै एक पार्टीका प्रमुखहरुले जेट विमानमा दुईवटा पाइलट चाहिन्छ‚ त्यसैले हामी दुई अध्यक्ष भन्दा ताली पिट्छौँ ।
आजभोलि एक अर्काका कार्यकर्तालाई तथानाम गाली गर्छौं । हाम्रा मुख्य दलका प्रमुख नेताहरू एक आपसमा आरोप प्रत्यारोप गर्छौं । आन्दोलन गरी हप्ता दिनसम्म देश ठप्प पार्छौँ । एक अर्कालाई विदेशीको दलाल भन्नसम्म पछि पर्दैनौं । यस्ता घटना त कति छन् कति‚ तर हिजो तत् तत् नेताहरुले गरेका गल्तिहरुको आत्मालोचना गरी आगामी दिनहरुमा यस्तो हुँदैन भन्ने प्रतिबद्धता लिखित तथा मौखिक रुपमा कतै पाएका छौं ? विगतका गल्तिको आत्मालोचना र संस्कारमा परिवर्तन आउँदैन किनकि ५० वर्षभन्दा माथिका प्रौढ मानिसहरुको आनिबानीलाई परिवर्तन गर्न सकिँदैन र उहाँहरू स्वयंले पनि सक्नुहुन्न । हामीहरुले देखेका छौं, भागेका छौं, सबैभन्दा छिटो बालबालिकाहरुलाई परिवर्तन गर्न सकिन्छ किनभने उनीहरू अरुले भनेको सुन्ने तथा मान्ने गर्दछन् । तर जति उमेर बढ्दै जान्छ अरुले भनेको सुन्ने तथा मान्ने क्षमतामा ह्रास आउँदै जान्छ । थोरै मानिसहरुले मात्र आफूले आफैँलाई परिवर्तन गरेका हुन्छन् ।
वास्तविक रुपमा हाम्रो राजनीतिक कुसंस्कारको जिम्मेवार हामी नै हौं किनभने गलत मान्छे/नेतृत्व/काम/निर्णयलाई देवत्वकरण गर्यौँक र गरिरहेका छौं ।
के छ उपाय संस्कार बदल्ने ?
सुरुवात आफैँबाट गर्नुपर्छ । जबसम्म हामीले आफ्नो सोचमा परिवर्तन ल्याउन सक्दैनौं, तबसम्म परिवर्तनको कुनै गुञ्जायस हुँदैन । तसर्थ हामीहरुले एकपटक सोचौं र आफैँले आफैँलाई भनौं- के म ठिक गरिरहेको छु, आफ्नो ब्रह्मज्ञानले यो ठिक गरिस्, यो बेठिक गरिस् त भन्छ नि ! होइन र ? मानव सर्वश्रेष्ठ प्राणी हो किनभने उसको आफ्नो सोच्न सक्ने विवेक हुन्छ । वास्तविक रुपमा हाम्रो राजनीतिक कुसंस्कारको जिम्मेवार हामी नै हौं किनभने गलत मान्छे/नेतृत्व/काम/निर्णयलाई देवत्वकरण गर्यौँक र गरिरहेका छौं । कहिले काहीँ मान्छेलाई आफूले गरेको गल्ति महशुस हुँदाहुँदै पनि उसका निकटका मान्छेहरुले ठिक गर्नुभयो, राम्रो हो भनेर प्रशंसा हुन्छ । स्वयं आफैँले गल्ति महसुस गर्दागर्दै पनि सही महसुस हुँदो रहेनछ । अहिले वास्तविक रुपमै यही भइरहेको छ ।
यदि हाम्रो सोचमा परिवर्तन ल्याएनौँ भने ?
अहिले अधिकांश नेपालीको पहुँचमा मोबाइल छ र कतिपयलाई मोबाइल नभएको भए के हुन्थ्यो जस्तो पनि लाग्छ । सन् २००० देखि २०११ सम्म बजारमा एकाधिकारजस्तै सबैभन्दा बढी बिक्री हुने नोकिया मोबाइल आजका दिन भेट्न पनि गाह्रो छ भने सन् २०११ देखि सामसुङ र सन् २०१९ पछि एप्पललगायतका मोबाइल कम्पनीले बजारमा राज गरिरहेका छन् । यसको एउटै कारण समयअनुसार सोचमा परिवर्तन आएन भने कसैले पनि सधैं आफ्नो आधिपत्य जमाउन सक्दैनन् र सम्भव नै छैन किनभने अबको पिढी हरेक कुरामा नविनता चाहन्छ । हालका राजनीतिक पार्टीहरूको सबैभन्दा ठुलो शक्ति भनेको उनीहरुको नेटवर्किङ हो । हरेक क्षेत्रमा विधि/विधान र पद्धति भत्काएर लम्पट कार्यकर्ताहरु बनाइएका छन् । तर एकदिन सचेत नेपालीहरू जाग्नेछन् र ती परिवर्तन हुन नखोज्ने नेताहरू नोकिया मोबाइल बन्नेछन् । पुरातन सोच भएका मानिसहरुले विष्णु भगवानको अवतार ठान्ने २४० वर्ष इतिहास बोकेको शासन प्रणालीको अन्त्य हामी नेपालीहरुले नै गरेका हौं । तर तत्पश्चात पनि हामी नेपालीहरुको सुखी र सम्पन्न बन्ने आशामा कुनै नयाँ किरण आएन ।
कसरी आउछ त नयाँ किरण ?
पानी पनि फिल्टर नगरी खायौँ भने पखाला लाग्छ भने हामीले हाम्रो नीति, नियम, पद्धति, संस्कार, सम्पन्नता बनाउने माओनीतिमा कसलाई नेतृत्व दिइराखेका छौं र कहिलेसम्म दिने हो एकपटक हामी सबैले सोच्नैपर्छ । कोरोना महामारीका बीचमा कुन नेतृत्वले के गर्यो, कसरी गर्यो र के भयो भन्नेबारे हामीले केलाउन सक्छौँ । कहिलेकाँही हामी मान्छेको जात अतिइमोसनल पनि हुन्छौँ ।
हाम्रो टोल छिमेकमा विभिन्न पार्टीका नेताहरुले केही बन्डल मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डर बाँडेको फोटो सामाजिक सञ्जालमा राखेको देखिन्छ । हामी शायद खुसी भयौँ र उहाँहरूप्रति अनुग्रहित पनि भयौँ होला, तर वास्तविकता हामीहरुलाई जहिले पनि भिखारी, निमुखा बनाउन खोजेको होइन र ? यदि उहाँहरूले देशमा पद्दति निर्माण गरिदिएको भए हामीहरुले कसैसँग भीख माग्नुपर्ने थियो र ! पक्कै पनि पर्ने थिएन । समाजका केही यस्ता व्यक्तित्वहरु हुनुहुन्छ, जसले स्वार्थरहित ढंगले आफ्नो आय आर्जनबाट हामीहरुलाई सहयोग गरिरहनुभएको छ । उहाँहरुले गर्ने पनि त्यही हो किनभने उहाँहरू नेतृत्वमा हुनुहुन्न ।
मिडियाको भूमिका
चुनावको बेला संचार माध्यमहरुले ‘हेभी वेट’ भएका नेतासँग अरु उम्मेदवार पनि भनेर समाचार सम्प्रेषण गर्ने गर्दछन् अर्थात् मूलधारका संचार माध्यमहरुले लामो समयदेखि चुनाव जितिरहेका, चिरपरिचित तर देश र जनताका लागि केही पनि गर्न नसकेकाहरू र गलत कदम चाल्नेहरुको समेत पक्षधरता देखाउँछौँ । उहाँहरुले जित्नुभएन भने आकाशै खस्छ भनेजसरी अप्रत्यक्ष ढंगले समाचार सम्प्रेषण गरिरहेका छौँ ।
अब सोच्ने, गर्ने र देश बनाउने पालो हामी युवाहरूको हो । अब पनि जागरुक नहुने हो भने सबै युवाहरुको सपना सपना नै हुनेछ ।
जसले मिसन पत्रकारिता गर्दछ, उसलाई त मेरो केही भन्नु पनि छैन, किनभने उहाँहरुको रोजी रोटी नै भीख मागेर खाने हो । यदि मूलधारका संचारका माध्यमहरुले गहिराइमा गएर प्रत्येक चुनावी प्रतिस्पर्धीको हिजो/आजको अवस्था र उसको कागजी प्रतिबद्धता पत्रभन्दा वास्तविक जीवनको यथार्थ चित्रण गर्ने, नेतृत्वमा बसेर देशलाई सही मार्गमा लैजान सक्ने मान्छेलाई अब जनताले हेर्नुपर्छ भन्ने ढंगले समाचार सप्रेषण भयो भने परिवर्तन आउन धेरै समय लाग्दैन ।
एकजना युवा नेताको कोरोनाबाट देहावसान भएपश्चात मूलधारका संचार माध्यमहरुले उहाँप्रति देखाएको सम्मान भावको प्रशंसा गर्नुपर्दछ तर उहाँको त्यस्तो सादगी जीवन शैली, नविनतम राजनीतिक विचारका बारेमा हिजोको दिनमा किन यसरी समाचारहरू प्रेषित भएन त ? आम जनतालाई सूचना पाउने अधिकारबाट किन वञ्चित गरियो त ! के कसैको बारेमा राम्रो कुरा थाहा पाउन ऊ मर्नु नै पर्ने हो त ?
अहिलेको परिस्थितिमा जसको पेशा नै राजनीति हो । ऊ नै समाजका लागि सबैभन्दा घातक भइरहेको छ । किनभने उसको अभिष्ट नै राजनीति भन्नाले आम जनताको सपना साकार पार्ने कुरा नभएर जीवनभरका लागि अर्थोपार्जन गर्ने भन्नेमात्रै हुन्छ ।
युवाहरुको सहभागिता र भूमिका
देशका धेरै युवाहरूमध्ये कसैलाई विदेसिने मोह छ भने धेरै युवाहरुलाई बाध्यता पनि छ । देशमा स्थिर राजनीति भइदिए, देश विकास भइदिए, आफ्नै देशमा केही न केही गर्न सकिन्छ भन्ने भावना धेरै युवाहरुको छ । अहिलेको राजनीतिकलगायतका अवस्थाहरुले गर्दा अधिकांश युवाहरुमा निराशा छाएको छ भने केही युवाहरु कुबाटोतिर समेत लागेका छन् ।
देशमा बेरोजगार युवाहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । युवाहरुले हाल भइरहेको अराजकता, वेथितिमा चासो राखेर राजनीतिमा थोरै पनि आ-आफ्नो तह र तप्काबाट हस्तक्षेपकारी भूमिका खेल्न सक्यौँ भने हामीले हाम्रो देश बनाउन धेरै समय लाग्दैन । अठारदेखि पैँतालिस वर्ष उमेर समूहले चाहेमा हरेक परिवारमा उथल पुथल आउँछ ।
अब सोच्ने, गर्ने र देश बनाउने पालो हामी युवाहरूको हो । अब पनि जागरुक नहुने हो भने सबै युवाहरुको सपना सपना नै हुनेछ ।