प्रदेश २ मा ‘प्रदेश हरित अभियान २०७८’ सुरु

आठै जिल्लामा १४ लाखभन्दा बढी बिरुवा रोपिने

जनकपुरधाम । प्रदेश २ मा ‘प्रदेश हरित अभियान २०७८’ अभियानको सुरुवात भएको छ । सो अभियानअन्तर्गत प्रदेश २ को आठवटै जिल्लामा १४ लाखभन्दा बढी बिरुवा रोपिनेछन् ।

सोमबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर मुख्यमन्त्री लालबाबु राउतले सो अभियानको सुरुवात गरेका हुन् । मुख्यमन्त्री राउतले धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा बर र पीपलको रुख रोपेर अभियानको शुभारम्भ गरे ।

मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशका आठवटै जिल्लामा एक साथ वृक्षारोपणको सुरुवात गरे । अभियान शुभारम्भका लागि आठवटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका छन् ।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठवटै जिल्लाको कुल १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा.रामचन्द्र कडेँलले जानकारी दिए ।

सप्तरीमा समाजिक विकास मन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव, महोत्तरीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव, पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले अभियान शुभारम्भ गरेका छन् ।

धनुषाको पुष्पलपुरमा आयोजित कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मिथिला नपाका मेयर हरिनारायण महतो, वन सचिव डा.कडेलसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *