सिंहलाई भेट्न निधि र कोइराला चाक्सिबारी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारीस्थित उनकै निवासमा पुगेका छन् । पूर्वमहामन्त्री सिंहसँग छलफलका लागि निधि र कोइराला चाक्सीबारी पुगेका हुन् ।

निधि र कोइरालासँग लञ्चसहितको बैठक सुरु भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए ।

निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी कोइरालाका पुत्र हुन् । संस्थापक पनेतात्रयका छोराहरू निधि, कोइराला र सिंहका बीच १४ औँ महाधिवेशनको संघारमा यो तेस्रो बैठक हो ।

तीनै नेता कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । पार्टीको नेतृत्व पुस्तान्तरणको पक्षमा उभिएका नेतात्रय यसअघि गत सोमबार निधि निवासमा बसेका थिए भने शुक्रबार कोइराला निवासमा बसेका थिए ।

समसामयिक राजनीतिसँगै पार्टीको १४ औँ महाधिवेशन समयमै सम्पन्न गर्ने र पुस्तान्तरणसहित सक्षम नेतृत्व चयन गर्ने सन्दर्भमा छलफल हुने जनाइएको छ । महाधिवेशनको संघारमा संस्थापक नेताको एकपछि अर्को भेटघाटले कांग्रेस तरङ्गित छ । उपसभापति निधिले भेटका क्रममा नयाँ समीकरण बनाएर एक जनामात्रै उम्मेदवार बन्नेबारे सकारात्मक छलफल भएको बताउँदै आएका छन् । तर, कोइराला र सिंहले भने पौडेल समूहको भेलामा एकआपसमा सहयोग गर्ने सन्दर्भमा मात्रै छलफल भइरहेको बताएका थिए ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौको १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनको मिति नजिकिएपछि कांग्रेसको नेतृत्वका आकांक्षी नेताहरुका बीच गर्मागर्मी सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *