काइदाका कुमार
काठमाडौं । विक्रम सम्वत् २००६ को असार १७ गते काठमाडौंमा जन्मिएका गायक कुमार बस्नेतको बाल्यकाल दोलखामा बित्यो । सानोमा बिरामी परिरहने भएकाले उनलाई हजुरआमासँग दोलखामा बस्न पठाइएको थियो । त्यसैले उनको बाल्यकाल गाई, भैँसी, बाख्रा र चौँरी चराएर नै बित्यो । अरु बाजागाजा खासै नपाइने ठाउँमा टुंगना बजाएर गीत गाउनु उनको दिनचर्याजस्तै बन्यो । रमाइलो गर्ने अरु साधन नभएको त्यो बेला उनी साथीहरुसँग टुंगनाको लयमा गीत गाएर मनोरञ्जनको धित मार्थे ।
केही वर्षपछि उनी हजुरआमासँगै काठमाडौं फर्किए । उनका बुबा दोस्रो विश्वयुद्धमा बर्मामा थिए । ‘बाबुको डर’ नभएपछि कुमार, लगामबिनाको घोडाझैँ भए । गाना बजानाप्रतिको अति लगाव थियो त्यसैले नाचघरका नृत्य निर्देशक भैरवबहादुर थापासँग उनको सङ्गत बढ्यो । प्रभाव- उनी पढ्नभन्दा पनि नाच्नमा रमाउन थाले । बाल कलाकारको रूपमा उनी नाँच्न भारतको सिक्किम, आसाम, गुहावटीसम्म पुगे ।
कार्यक्रम लिएर विभिन्न ठाउँमा जाँदा पर्याप्त कलाकार नहुने भएकाले गाउने, नाच्ने, बजाउने सबै काममा पोख्त बन्नैपर्ने । उनी नृत्यसँगै गायनतर्फ पनि आकर्षित भए ।
रेडियो नेपालमा रेकर्डिङ् गर्न उनले दुई गीत तयार गरे । ‘रिमझिम रिमझिम’ बोलको आधुनिक र ‘चौतारी घ्यांग्ला’ बोलको लोक गीत रेकर्डिङका लागि छानियो ।
त्यो बेला गीत रेकर्ड गर्न सहज थिएन । गीत रेकर्ड गर्न उनी साथीहरूसँग मिलेर अमलेखगन्जको बाटो हुँदै रेल चढेर कलकत्ता पुगे । तर त्यहाँ नेपाली बाजा बजाउने मान्छे थिएनन् । उक्त समय ‘आमा’ चलचित्रका सङ्गीत निर्देशकले उनीहरूका लागि वाद्यवादकको व्यवस्था गरिदिए । र, इन्द्रेणी रेकर्डिङ स्टुडियोमा दुई गीत रेकर्ड गरेर कुमार नेपाल फर्किए ।
नाचिरहेको कलिलो केटो गीत गाउन थाल्यो । उनका दुईवटा गीत धेरैले मन पराए । तर अब के त ? भन्ने प्रश्नले उनलाई पिरोल्न थाल्यो । सङ्गीत सिक्न उनले शास्त्रीय सङ्गीत निकट व्यक्तिहरूको सङ्गत गर्न थाले । बिस्तारै समूह मिलेर ब्यान्डझैँ एक समूह सुरु गरे । र, गीत बनाउन थाले ।
उनलाई गितार सिक्ने ठुलो रहर थियो । रेडियो नेपाल पुगेर अग्रजसँग गितार सिकाइ मागे तर प्रतिक्रिया नकारात्मक आयो । उनलाई गीतार सिक्ने उत्कट चाहना थियो । उनी स-साना अवरोधसँग हार मान्नेवाला थिएनन् । कुमार गितार सिक्नकै लागि भारतको सिलोङ् पुगे । र गितार सिकिछोडे ।
कुमारको ‘ओइ नाना’ गीत तयार भएको थियो । कार्यक्रमहरुमा उनी यो गीत गाउँथे । हाम्स नामक संस्थामा गीतार बजाउँदै यो गीत गाउँदा विदेशीले उनलाई आफ्नै बाजागाजा प्रयोग गरेर गीत गाउन सुझाव दिए । उनले पनि सोचे, र बिस्तारै आफ्नोपनतर्फ ढल्किए । उनले आधुनिक, लोक, पप सबै गीत गएका छन् । तर चिनिएका लोक गीतबाटै छन् । जिब्रोमा झुन्डिने खालको लय अनि ठट्यौला शब्दहरू बुनेर बनाइएका उनका गीत गाउन पनि र नाच्न पनि सहज हुने खालका छन् । उनमा तामाङ् शैली र सेलोको प्रभाव बढी परेको पाइन्छ ।
गायक बन्छु भन्न जति सजिलो छ तर बन्न भने त्यति सजिलो नभएको उनी बताउँछन् । उनलाई गायनका हिसाबले आफ्नै गीत गाउन सजिलो लाग्छ । लोक गीत गाउन धेरै कठिन हुने उनी बताउँछन् । लोक भाकाका भिन्न भिन्न प्रकृति हुने भएकाले गाउन कठिन हुने उनको बुझाइ छ ।
दशकौं लोक गीत गायन र संकलनमा बिताएका उनीसँग यसका धेरै अनुभव र अनुभुतिहरु छन् । एक पटक गीत सङ्कलन गर्न उनी गन्धर्व बस्तीमा पुगेका थिए । बस्ती गरिबीले ग्रस्त थियो । कुमारलाई खाना खुवाउन पनि सक्ने अवस्था रहेन । कुमारले घरमा जे थियो‚ त्यहि खाए र आफूसँग भएको केही रकम दिएर फर्किए ।
त्यहाँबाट फर्किने क्रममा अलि परको होटलमा चिया खाए । उनले चिया खाएको कप भुईंमा राखेका मात्रै थिए, साहुजी आएर उनको गर्धन समाते । गाइनेको घरमा खाएर र बास बसेर आएका कारण कथित माथिल्लो जातका होटलवालाले कुमारलाई उनले चिया खाएको गिलास आफैँले माझ्नुपर्ने बताए । उनले चुपचाप गिलास माँझे र बाटो लागे ।
उनकै छोरी तरुनी, लैबरी लै, छोरीभन्दा आमा तरुनीजस्ता रमाइला गीत गएका कुमारले भीमेश्वरको मेलाजस्ता स्थान चिनाउने गीत पनि गएका छन् ।
सयौं गीत गाएका कुमारसँग यस्ता अनेकौँ रमाइलो र दुःखसुखका अनुभव छन् । के पाएँ वा गुमाएँ भनेर जीवनको मूल्याङ्कन गर्नेभन्दा पनि आफूलाई यो क्षेत्रले चिनाएको इज्जत र सम्मान दिएको कुराले भने खुसी दिलाउने उनी बताउँछन् । हुनपनि खासगरी नेपाली लोक क्षेत्रका कलाकारहरू शायदै होलान् जसले उनका गीतको तारिफ नगरोस् वा उनको योगदानप्रति सम्मान नगरोस् ।
जीवनका ७ दशक व्यतित गरेर पनि उस्तै फर्स्याइलो पारामा बाँचिरहेका बस्नेतलाई जन्मदिनको अवसरमा असीम शुभकामना ।