नारायणगढ-बुटवल खण्ड एकतर्फी सञ्चालनमा
नवलपुर । पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बाढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो । बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैँडाकोट-१० को २३ स्मृति पुलमा नयाँ ठाउँबाट डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएको इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।
बिहीबार बिहान १०ः३० बाट अवरुद्ध सडक साँझ मोटरसाइकल सञ्चालन गर्ने गरी डाइभर्सन गरिएको भए पनि केहीबेरमै पुनः अवरुद्ध बनेको थियो । सडक विस्तारका क्रममा पुराना पुल भत्काएर नयाँ ठूला पक्की पुल बनाउनका लागि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट क्षेत्रमा सात वडा डाइभर्सन निर्माण गरिएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नारायणगढ बुटवल सडक विस्तार आयोजना मिलेर २३ स्मृति पुलको दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाई एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको खनालले बताए । पुलको उत्तरतर्फ रहेको पुरानो डाइभर्सनलाई मर्मत गरेपछि मात्रै दुईतर्फी सवारीसाधन सञ्चालन गराउन सकिने उनको भनाइ छ ।
नयाँ डाइभर्सन बनाएर एकतर्फी सवारीसाधन सञ्चालन गराइएपछि एम्बुलेन्स र साना सवारीसाधनलाई प्राथमिकतामा राखिएको उजले बताए । एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा आएपछि सडकमा सवारीसाधनको चाप विस्तार घट्दै गएको छ । सडक अवरुद्ध हुँदा नवलपुर हुँदै पश्चिम जाने सवारीसाधन गैँडाकोट र पूर्वतर्फ जाने सवारीसाधन डण्डामा नै रोकिएका छन् ।