विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव
जेनेभा । विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ ।
गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चारमध्ये १ जनालाई शुद्ध र सफा खानेपानीको अभाव रहेको देखाएको हो ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरणमा खानेपानीको अभावको अवस्था नराम्रो देखिएको उल्लेख छ ।
सफा पानीको उपभोग गर्न नपाएकाहरुलाई विभिन्न प्रकारका रोगहरुको समस्या हुन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्नुपर्नेमा दुवै निकायका अधिकारीहरुले जोड दिएका छन् ।
उनीहरुले कोरोना भाइरसको महामारीको असर पनि सफा पानी खान नपाउनेहरुलाई बढी पर्ने चन्दै चिन्ता व्यक्त गरेका छन् ।
कोरोनाबाट बच्नका लागि सफा पानी र साबुनले हात धुन अनिवार्य रहेकाले पनि सफा पानीको अभावमा कोरोना भाइरसबाट बच्न गाह्रो हुने अधिकारीहरुले उल्लेख गरेका छन् ।
एक तथ्यांकअनुसार विश्वका हरेक १० मध्ये ३ जनाले सावुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ ।
‘कोरोनाभाइरसबाट जोगिनका लागि हात धुने कार्य अति महत्वपूर्ण कार्य हो, यो नै अति धेरै प्रभावकारी उपाय हो, त्यसैगरी अन्य धेरै रोगहरुबाट जोगिन पनि सफा पानीले हात धुनु पर्दछ, त्यसैले आम मानिसलाई रोगबाट बचाउन सफा पानीको आवश्यकता पर्दछ,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानोम घेब्रेयससले भने ।
त्यसैगरी युनिसेफका कार्यकारी निर्देशक हेनरैत्ता फोरले पनि विश्वका लाखौँ बालबालिका सफा पानी उपभोग गर्न वञ्चित हुनु दुःखद कुरा भएको बताए ।
तर पहिलाको भन्दा अहिले सफा पानीको प्रयोग गर्न पाउनेहरुको संख्यामा भने वृद्धि भएको उनले जानकारी दिए ।
सन् २०१६ देखि सन् २०२० सम्ममा सफा पानीको प्रयोग गर्न पाउनेको संख्यामा चार प्रतिशतले वृद्धि भएको उल्लेख गरे । उनका अनुसार सन् २०१६ मा विश्वका ७० प्रतिशतले मात्रै सफा पानी प्रयोग गर्न पाएको तथ्यांक सार्वजनिक भएको थियो ।