तपेश्वरी क्षेत्रमा ५०० घर डुबानमा
काठमाडौं । गएरातिदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् । तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा तैनाथ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बेलका–२ तपेश्वरीका स्थानीय राजकुमार भुजेलकाअनुसार गएरातिदेखि आएको निरन्तर बाढीको कारण स्थानीय खोलामा आएको बाढी गाउँघरमा प्रवेश गरेको र जग्गा तथा घर डुबानमा परेको हो । गएरातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरे खोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछी तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए।
इलाका प्रहरी कार्यालय बेलका रामपुर ठोक्सिलाकाअनुसार बेलकाको आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान शुरु गरेको पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बेलका रामपुरकाअनुसार आफूले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताए ।
वर्षाका कारण बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमासमेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल शुरु गरिएको इप्रका बेलकाले बताएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजारसमेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११ ढिम्कीका शिव कार्कीले बताए ।
बेलकास्थित तपेश्वरी क्षेत्रमा बाढीले डुबान पर्न थालेपछि अहिले सो स्थानमा कुनै पनि मानवीय घटना घट्न नदिन प्रशासनले सुरक्षाकर्मी सो स्थानमा तयारी हालतमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले बताए ।