‘प्रधानमन्त्रीले संविधान गए जाओस् पद नजाओस् भनेर पुनः संसद् विघटन गरे’
काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । सोमबार (आज) बसेको राष्ट्रिय सभाको बैठकमा भाग लिँदै श्रेष्ठले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीले संविधान गए जाओस्, लोकतन्त्र गए जाओस् । तर, मेरो पद नजाओस् भनेर दोस्रो पटक प्रतिनिधि सभा विघटन गरे,’ श्रेष्ठले भने— ‘यसले अहिलेसम्मका सबै राजनीतिक उपलब्धिहरुलाई धरापमा पारेको छ ।’
निर्वाचन नै लोकतन्त्र नभएको श्रेष्ठको जिकिर थियो । ‘माओवादी केन्द्रले निर्वाचन नस्वीकार्ने होइन, तर संविधानसम्मत् आएको निर्वाचन स्वीकार गर्छ । असंवैधानिक, अलोकतान्त्रिक र कुनै पनि शासकले आफूअनुकूल घोषणा गरेको निर्वाचनको विरोध गर्दछ,’ श्रेष्ठले भनेका छन् ।
प्रधानमन्त्रीको असंवैधानिक कदम असफल पार्न सबैलाई उर्दी गरेका श्रेष्ठले थपे— ‘पहिलो पटकको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक स्वीकार गरिसकेको छ । त्यसो हुँदाहुँदै फेरि दोस्रो पटक विघटन हुनु भनेको लोकतन्त्र र संविधानलाई सिध्याउन खोज्नु हो । इतिहासले यसलाई क्षमा दिँदैन । कोही जनताले दिने छैनन् ।’
यस्तै श्रेष्ठले प्रधानमन्त्रीले पछिल्लो समय निर्वाचनमा भोट के देखाएर माग्ने भन्नेबारे ध्यान दिएर ठूल्ठूला विकास निर्माणको कामबाट ‘क्रेडिट’ लिनेगरी काम गरेको आरोप पनि लगाएको छन् । प्रधानमन्त्रीले शिलान्यास र उद्घाटन गरेपनि काम भने ठ्याम्मै बाँकी रहेको भन्दै श्रेष्ठले भने— ‘भोटकेन्द्रित मात्रै भएर विकास निर्माणका कामलाई सरकारले ध्यानमा राखेको छ । त्यो कामहरु न पूरा भएका छन् न दीगो बनेका छन् ।’
यस्तै श्रेष्ठले तेस्रो लहरको कोरोनाकालको तयारी गर्नुपर्ने बताए । श्रेष्ठले भने— ‘अब भ्रष्टाचारमा डुबेर बस्ने होइन, तेस्रो लहरको कोरोनाको सुरक्षार्थ खट्नुपर्यो ।’