सात गुणा बढी शुल्क ?

जीवनमा प्रायः गुनासो भई नै रहने रहेछ, कहिले आफैँसँग कहिले आफन्तसँग त कहिले पराईसँग पनि । केही न केही गन्थनमन्थनले जीवनलाई अलमलमा पारिरहने रहेछ ।

अचम्मै व्यस्तजस्तो देखिने जीवनशैलीमा पनि बेलाबेला के के जिम्मेवारी आइपर्छ थाहै नहुने । कोरोना महामारीले थलिएर सबै ठप्पजस्तो भएका बेला रोग, भोक र शोक भने सबैभन्दा चलायमान र गतिशील बनेर आए ।

महामारीसँग जुध्दै भिड्दै एकसरो जीवन घिसारिरहेका बेला अचानक गाउँमा आमा बिरामी हुनुभयो । घाउमा नुनचुक दलेझैं भइहाल्यो । असारको महिना, झरीले अस्तव्यस्त बाटो, सवारीसाधन ठप्प । दिनदिनै रुँदै आमाले गर्ने फोनले हातगोडा ओठमुख सुकाउने र हातपाउ गलाउने भइरह्यो ।

बडो कष्टका साथ गाउँ पुगेँ, केही दिन बसेँ । आमाको ओखतीमूलो गरेँ र अलि बिसेक भएपछि फर्किएँ ।

एक महिना नबित्दै आमा फेरि बिरामी हुनुभयो । सिन्धुपाल्चोकदेखि रोइकराई बल्ल-बल्ल आमालाई राजधानी झिकाएँ । आफ्नो स्वास्थ्यसँग सम्झौता गरेको जस्तो सजिलो आमाको स्वास्थ्यबारे सोच्दा नहुने रहेछ । यसपटक आमाका दाँत दुखेका थिए । टम्म सुन्निएको मुख, अनिदो आँखा‚ अन्नको दाना च्याप्न नसकेर लखतरान परेको शरीरले नराम्रोसँग थलाएछ आमालाई । पहिलोपटक देख्दै आँखा टिलपिल भइगए ।

सबै दाँतको उपचार सक्दा ३५ हजार जति रकम र १० दिन जति समय लाग्ने उनले जानकारी गराइन् ।

कोभिड र उसको ‘बाईप्रडक्ट’ले निषेधाज्ञाको समयमा आमालाई सरकारी अस्पतालभन्दा निजी क्लिनिक नै ठिक होला भन्ने सोचेँ । पहिला कहिल्यै निजी डेन्टल क्लिनिकमा नपुगेकाले मैले त्यहाँ लाग्ने रकमबारे खासै अनुमान गरेकी थिइनँ । निजी अस्पताल र क्लिनिकमा अलि बढी पैसा लाग्ने र सेवा सुविधा पनि तुलनात्मक रुपमा राम्रो हुने त सुनेको थिएँ । तर‚ त्यो ‘अलि बढी’ भनेको कति भन्नेबारे भने अज्ञात नै थिएँ । आमाको दुखाइ र पीडाले गर्दा एक दिन भएपनि छिट्टै डाक्टरलाई देखाउनैपर्ने थियो । आमालाई लिएर ललितपुर भैँसेपाटीको एक डेन्टल क्लिनिकमा पुगेँ ।

आमा गाउँबाट आएकै दिन‚ दिउँसोको करिब ३ बजेको हुँदो हो । क्लिनिकमा पुग्दा डेन्टिस्टहरू फुर्सदमै थिए । अरु कोही बिरामी रहेनछन् । २, ३ जना डेन्टिस्ट आए । एकजनाले मलाई टिकट काट्न काउन्टरमा बोलाइन् । २ सय रुपैयाँको टिकट रहेछ । आमालाई दाँत जँचाउने ठाउँमा लगेर सुताइयो । म पनि पछिपछि गएँ । चार जना थिए आमाको वरिपरि । दाँतको एक्स-रे गरियो । एकजना सिनियर डेन्टिस्टले आमा र मलाई सँगै राखेर परामर्श गर्न लागिन् । आमाको पाँचवटा दात निकाल्नुपर्ने र दुईवटाको जरैदेखि उपचार गर्नुपर्ने उनले बताइन् । आमा र म दुवै एकैसाथ छक्क पर्यौँ ।

भर्खर ४८ वर्ष पुगेकी आमाका पाँचवटा दाँत निकाल्ने, एउटालाई तारले बाँध्नेलगायतका कुराले खंग्रङ्ग बनाएको थियो ।

कति समय र रकम भन्नेबारे सोधेँ । आमालाई जुन दाँत दुखेर छटपटी भएको थियो त्यो दाँतको उपचार गर्न १० हजार रुपैयाँ लाग्ने उनले बताइन् । अनि बाँकी सबै दाँतको उपचार सक्दा ३५ हजार जति रकम र १० दिन जति समय लाग्ने उनले जानकारी गराइन् ।

रकम सुनेर आमा सुताएको ठाउँबाट जुरुक्क उठ्नुभयो । ‘३५ हजार रे… ?’ दुखाइले गलेकी आमाको अनुहार झन् त्रासले कालो भएको थाहा पाउन मलाई धेरैबेर लागेन । मैले आमालाई ‘कुरा गर्दैछु नआत्तिनु’ भनेर सम्झाउन खोजें । तर आमा कसरी मान्नु । ३५ हजार कमाउन गाउँमा के कति समय र श्रम लाग्छ भन्ने आमालाई राम्रोसँग थाहा थियो ।

केहीबेरमा आमाले वर्षाको सिजन भएको, आफू गाउँबाट आएको, घरमा गाई बाख्राको बिजोक हुने‚ अनि यति धेरै रकम आफूसँग नभएको बेलिविस्तार लगाउनुभयो । शायद थोरै पैसामा उपचार गर्न उनी तयार हुन्छिन् कि भन्ने आमाको आशा र प्रयास थियो ।

प्रतिक्रियामा डेन्टिस्टले भनिन्‚ ‘त्यो घर व्यवहारको कुरा दाँतभन्दा महत्वपूर्ण होइन, अनि रकम त त्यति मैले एकदमै मिलाएर भनेको हुँ, त्यति त लाग्छ नै ।’

एक्स-रे गरेको थप ३ सय रुपैयाँ तिरेँ अनि घरमा थप सल्लाह र थैलीको जोहो गरेर आउने भनेर हामी फर्कियौँ ।

आमा दुखाइले आलसतालस । पेनकिलर जुन जुन नामका खाएपनि काम गरिरहेको थिएन । म पनि आत्तिएँ । के गर्ने भन्ने पीर पर्‍यो । चिनेजानेकै एकजना भाइ वीर अस्पतालको फार्मेसीमा काम गर्ने थाहा थियो । उनलाई फोन गरेर अस्पतालको अवस्था र बिरामीको चापबारे बुझें । भाइले अस्पतालमा दाँत विभागमा अरुबेला भन्दा चाप कम र सेवा पनि राम्रो भएको भन्दै आमालाई वीर अस्पताल नै ल्याउन आग्रह गरे । कुरा ठिक लाग्यो ।

तर लैजाने ल्याउने साधनको समस्या भने टड्कारो भयो । एकजना स्कुल पढ्दाको साथीलाई गुहारेँ । फुर्सद नै रहेछ‚ अस्पताल पुर्‍याउन सहयोग गरे । साथी दुःखका बेला कसरी काम लाग्छन् भन्ने उनले प्रमाणित गरे ।

अस्पतालमा ३० रुपैयाँमा टिकट काट्न मिल्ने रहेछ । दाँत विभाग खाली नै थियो । पालो छिट्टै पाइयो । १ सय रुपैयामा दाँतको एक्स रे हुँदोरहेछ । एकजना डेन्टिस्टले आमाको दाँतको मुख्य समस्याबारे राम्रोसँग बुझाइदिनुभयो । दुखाइ कम गर्ने औषधि लेखेर चार दिनपछि फलोअपमा आउन भन्नुभयो । औषधिसहित झण्डै तीन सय रुपैयाँ खर्च भयो ।

अस्पताल बाहिर पार्किङमा लहरै ट्याक्सी छन् । भैँसेपाटी जाने कुरा गर्दा चालक ‘१५ सयभन्दा कममा हुँदैन’ भन्छन् ।

‘मिलाएर लगिदिनुस् न दाइ’ भन्दा ‘भोलीबाट आउनुस् । ७ सयमा लगिदिन्छु तर आज त १५ सय नै हो । त्योभन्दा घटेर लान सकिँदैन‚’ भने । उनको कुरामा ‘सही हो’ र उनले ठीक दाम मागिरहेका हुन् भन्ने पुष्ट्याइँ गर्न अरु ट्याक्सी चालक पनि जम्मा भए ।

तेलको भाउ महङ्गो भएको, यस्तो परिस्थितिमा जोखिम लिएर चलाइरहेको, जोरबिजोरले गर्दा पालोपालो मात्र चलाउन पाइने, अहिले यात्रुको अभाव हुनेजस्ता कारणैकारण बताए । जति रकम लिए पनि जायज नै हुने तर्क थियो उनीहरूको ।

कसैले नमानेपछि १५ सय रुपैयाँ तिरेर आमाछोरी ट्याक्सीमा भैँसेपाटी पुग्यौं । ठगीको त्यो चरम रुपले पनि घर पुर्‍याएर राहत दिएको ठान्नु कि त्यत्रो रकम लुटिएकोमा आहत महशुस गर्नु‚ म दुविधामै थिएँ । गुगल गरेँ- दूरी ७ दशमलव २ किलोमिटरि र समय १९ मिनेट देखायो । मिनेटको झण्डै सय रुपैयाँको यात्रा गरिएछ ।

यसपटकको भोगाइले सरकारी अस्पतालमा के राम्रो उपचार होला र ? भन्ने भ्रमचाहिँ मेरो दिमागबाट हटेको छ । र त्यसलाई हटाइदिएको छ वीर अस्पतालको दन्त विभागले ।

आउजाउमा टुटल‚ पठाओको सेवा खुलेकाले ठगीको त्यो घाउमा मल्हमकै काम गरिदिएको थियो । आइतबार फलोअपमा अस्पताल पुग्दा पीसीआर परीक्षणको रिपोर्ट चाहिने भयो । रिपोर्टको लागि एकदिन थप अलमल भयो । तर रिपोर्ट आउनेबित्तिकै आमाको उपचार गर्नैपर्ने दुईवटा दाँतको सफल उपचार गरिदियो । सम्पूर्ण खर्च जोड्दा अस्पतालमा ५ हजार रुपैयाँजति लाग्यो । चुकुल, पानी, बत्ति केहि पनि नभएको शौचालयबाहेक वीर अस्पतालको गुनासो गर्नुपर्ने अरु कुरा केही थिएन । यस्तो महामारीमा पनि नेपालकै जेठो अस्पतालको शौचालयमा न हात धुने पानी‚ न सेनिटाइजर‚ न त ढोकामा चुकुल नै । यस्ता स-साना कुारमा ध्यान दिएको भए कति राम्रो हुने थियो भन्ने लाग्यो ।

मैले अघि पनि भनेँ गु्नासाहरू त भइ नै रहने कुरा हुन् । यसपटकको भोगाइले सरकारी अस्पतालमा के राम्रो उपचार होला र ? भन्ने भ्रमचाहिँ मेरो दिमागबाट हटेको छ । र त्यसलाई हटाइदिएको छ वीर अस्पतालको दन्त विभागले ।

आमाको उपचार गरेर घर फर्किएपछि हामी आमाछोरीले कुरा गर्‍यौँ । दाँत दुखेर औडाहा भइरहेका बेला दुखाइ कम गर्ने पेनकिलर धरि दिन त्यो क्लिनिककी सिनियर डेन्टिस्टले किन आनाकानी गरेकी थिइन् होला ? दुखाइ कम भएपछि बिरामी फेरि आउँदैनन् भनेर वा दुखाइ भइरहे जति पैसा लागे पनि गर्छु भन्ने ठानेर कि दिनै नमिल्ने पो थियो कि ? त्यस्तो भएको भए त वीर अस्पतालका डाक्टर फेरि पेनकिलर नदिनुपर्ने । फेरि क्लिनिकले भनेको ३५ हजार रुपैयाँ सम्झियौँ । सरकारीमा ५ हजारभन्दा कममा भएको उपचारको ७ गुणा बढी लिन पनि पाइने रहेछ ? यो त असाध्यै बढी होइन र ? केही बुझ्नै नसकिएको जस्तो भयो । धन्न बेलैमा यता आउने कुरा सम्झिइएछ । तत्र त ३५ हजार नै तिरेर उपचार गराउनुपर्ने थियो है आमा मैले भनेँ । आमाले हो त नि भन्ने भावले आँखा ठुला पारिन् । सम्झँदा पनि भाउन्न होला जस्तो भयो ।

खाना खाएर सुतेपछि पनि मैले गमिरहेँ । नियमन गर्नुपर्ने सरकारी निकाय र त्यहाँका अधिकारीहरुका बनिबनाउ जवाफलाई सम्झिएँ । देशमा खुलमखुल्ला लुट छ । निमुखाहरू चुपचाप सहन बाध्य छँदैछौँ । देश चलेकै छ । सुखी नेपाली र समृद्ध नेपालको नारा लागेकै छ । बाँकी जे छ- हामीले दिनहुँ भोग्नुपर्ने भुक्तमानहरुमा छँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *