मुख्यमन्त्री कार्यालय अगाडि वादी समुदायका नागरिकबीच झडप
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि वादी समुदायका नागरिकबीच एक आपसमा झडप भएको छ । मिठु वादी नेतृत्वको समूहले आफूहरूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको र वादी समुदायका नाममा रमा वादी नेतृत्वको समूहले रकम हिनामिना गरेको भन्दै एकआपसमा झडप भएको हो ।
प्रदेश सरकार आगामी आर्थिक वर्षको लागि भन्दै वादी समुदायको नागरिकहरूका लागि ३ करोड रकम विनियोजन गरेको छ । आइतबार बादी उत्थान समितिकी अध्यक्ष रमा वादीलगायतको टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।
मिठु वादी नेतृत्वको वादी समुदायका नागरिक पनि मुख्यमन्त्री कार्यालय बाहिर आएका थिए । तर, उनीहरुले आफूलाई मुख्यमन्त्रीसँग भेट गर्न नदिएको आरोप लगाए ।
रमा वादी नेतृत्वको समूहले वादी समुदायको नागरिकको नाममा यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आर्थिक हिनामिना गरेको भन्दै मिठु वादी नेतृत्वको वादी समुदायले विरोध गरेपछि मुख्यमन्त्री कार्यालयअघि हात हालाहालको अवस्था सिर्जना भएको हो ।
वादी समुदायका नागरिक एक आपसमा झडपमा उत्रिएपछि प्रहरीले उनीहरुलाई छुट्याएको छ ।