तैबिसेक मात्र !
ओली गए र देउवा आए‚ अर्थात् एक गए‚ अर्का आए । न त उति विधि दुःख‚ न त उति विधि आशा र उत्साह । बालुवाटारबाट ओली बालकोट फर्किँदै गर्दा र बुढानिलकण्ठबाट देउवा बालुवाटार सर्दै गर्दा आममानिस अहिले न हर्ष न विस्मात भनेजस्तो अवस्थामा छन् ।
कारण सिधा छ- ओलीको दोस्रो पटक साढे ३ वर्षको कार्यकाल नागरिकको आँखैमा झल्झली छ । यसअघि चारपटक प्रधानमन्त्री बनेका देउवाका सम्झनलायक काम छैनन् । बरू उनले प्रवर्द्धन गरेका कतिपय गलत कामहरू सम्झेर मानिस निराश हुन्छन् । त्यसैले पनि अहिलेको अवस्था आम नागरिकका लागि ‘न हर्ष‚ न विस्मात’ भनेजस्तो छ ।
भन्दा ननिको सुनिएला तर, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शासन सञ्चालनका हिसाबले असफल सिद्ध भइसकेका पात्र हुन् ।
स्नातक उत्तीर्ण गरेका मेरा भाञ्जाले बुधबार दिउँसो एउटा प्रश्न सोधे‚ ‘देउवाले के नै गर्लान् र मामा ? बरु, ओलीको भाषण सुन्दा मज्जा त आउँथ्यो ।’ भाषा तलमाथि वा खस्रो मसिनो होला तर आमनागरिकको बुझाइ, भोगाइ र सोधाइ यस्तै यस्तै हो ।
भन्दा ननिको सुनिएला तर, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शासन सञ्चालनका हिसाबले असफल सिद्ध भइसकेका पात्र हुन् ।
एकपटक होइन‚ पटकपटक पाएको मौकामा उनले आफूलाई उत्तम सावित गर्न सकेनन् । यसै कारण पनि लोकले उनीसँग खास आशा र अपेक्षा गरेको छैन । तर, समयले फेरि एकपटक उनै देउवालाई देशको सर्वोच्च कार्यकारीको कुर्सीमा विराजमान गराइदिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा दोस्रो पटक विघटन गर्ने केपी शर्मा ओलीको प्रयास असंवैधानिक रहेको ठहर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिंदै गर्दा धेरैजसो मानिसलाई लागेकै यहि हो कि ‘यसअघि देखे भोगेकै देउवा आएर पनि के पो गर्लान् र ?’
ओलीको ‘अत्ति’ले आजित भएकाले नागरिक देउवा ओलीभन्दा तैबिसेक बन्लान् कि भन्ने आशामा मात्र छन् । तर उनले कुनै थिति बसाउलान्, कुनै विधिको वकालत गर्लान् भन्नेमा आशावादी हुने ठाउँ कमै छ । यसअघिका कार्यकालले पनि त्यस्तो आशा गर्ने ठाउँ कमै दिएको छ । आशा गरौं देउवा यी अनुमानलाई चिरेर माथि जानेछन् ।
चारपटक देशको प्रमुख कार्यकारी पदमा र एकपटक नेपाली कांग्रेसको सभापति बनिसकेका देउवा दुवै भूमिकामा परीक्षण भइसकेकै छन् । सरकार प्रमुखका रुपमा मात्र होइन‚ पार्टी सभापतिका रुपमा पनि उनको कार्यकाल सम्झनलायक छैन । बरु धेरै विकृतिहरुमा उनको नाम जोडिने गरेको छ ।
यसअघिका अवसरमा देउवाले ‘केही गज्जब’ गर्न नसक्नु नै अब उनले ‘केही गज्जब’ गर्लान् कि भन्ने आशा नजाग्नुको मुख्य कारण हो । अब प्रधानमन्त्रीका रुपमा पाँचौं इन्निङ्गमा उनले गजबै गरेछन् भने त्यो अर्कै कुरो हुनेछ ।
अहिले त समयकाल पनि त्यस्तै बनेको छ- सबै कुरा भनेजस्तै भएपनि जम्मा डेढ वर्षको अवधि हो‚ उनले पाउने । तर, ३० दिनभित्र पाउनुपर्ने विश्वासकै मत पाउने/नपाउने टुंगो छैन । नपाए उनको सरकारले चुनावी सरकारका रुपमा ६ महिनाभित्र चुनाव गराउनुपर्ने गरीको कार्यभार निर्वाह गर्नुपर्नेछ ।
पटकपटक सरकार सञ्चालनको पारा र पार्टी सञ्चालनको पारा हेर्दा अब यसपटक देउवाले के के नै गरिहाल्छन् भन्ने आशा गर्नु गलत हुनेछ ।
शासकीय हिसाबले मात्र विपक्षी दलका रुपमा पनि देउवाले कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउन सकेनन् । जिम्मा उनको मात्र नहोला तर सभापति, संसदीय दलको नेता र संसदमा विपक्षी दलको नेता हुनुको नाताले सबैभन्दा धेरै दायित्व उनकै हुनेछ ।
पार्टी सञ्चालनमा पनि देउवा अब्बल ठहरिन सकेनन् । विधानमा ६ महिनाभित्र गठन गरिसक्नुपर्ने समितिहरू उनले करिब साढे ३ वर्षपछि बल्ल गठन गरे । विद्यार्थी र तरुण दलको नियमित अधिवेशनधरि हुन सकेन । जसले पार्टीको संरचनामा कति असर गरेको छ भन्ने हिसाबकिताब त देउवा आफैंले त कुन्नि तर कांग्रेसका केही थोरै नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुले राखेका होलान् ।
प्रतिनिधिसभा विघटन, सांसदहरुलाई अति सुविधा, भोगविलासलगायत विकृति, आफ्नै सरकार हटाउन खेलेको भूमिकाजस्ता धेरै कुराहरु छन्‚ जसलाई उनले कामले सच्याउनुपर्नेछ । तर पछिल्लोपटक २०७४ सालमा पाएको मौकामा पनि उनले त्यो पुष्टि गराउन सकेनन् ।
पटकपटक सरकार सञ्चालनको पारा र पार्टी सञ्चालनको पारा हेर्दा अब यसपटक देउवाले के के नै गरिहाल्छन् भन्ने आशा गर्नु गलत हुनेछ ।
सार्वजनिक कार्यक्रम र थलोहरूमै उनको रिस, क्रोध र आवेग देखिएको हो । कसैका कुरा नसुन्ने, अध्ययनमा खास रुची नराख्ने, प्रणालीमा विश्वास नगर्ने उनको पाराबाट लोक आजित छ । अरुको के कुरा उनैका समर्थकहरू नै पनि उनका यस्ता कुराहरुको बचाउ गर्न सक्दैनन् ।
गर्न खोजे अवसर
आममानिसलाई र उनकै विगतलाई गलत सावित गर्दै केही गर्ने जमर्को गरे देउवाका लागि यो कार्यकाल अवसर बन्नेछ । उनले धेरै कुरा गरिहाल्नुअघि नागरिकमा आशाको सञ्चार गराइहाल्न सक्छन् । त्यसका लागि तत्काल उनले अब म यसो गर्छु भनेर एक श्वेतपत्र जारी गर्न सक्छन् ।
जसमा प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीको बैठक नराख्ने । सरकारी कामकाजका लागि दिनहुँ सिंहदरबारस्थित कार्यालय आउने (बिरामी र देशबाहिर हुँदाको कुरा बेग्लै हो) । सार्वजनिक निकायको नियुक्तिमा दीर्घरोग बनेको भागबण्डालाई तोड्छु र योग्यताका आधारमा बिना कुनै मोलाहिजाबिनै नियुक्ति गरिने । सरकार सञ्चालनमा आवश्यक सरसल्लाह र योजना निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको चुस्त दुरुस्त टिम बनाउनेजस्ता कुरा उनले तत्कालै भनिहाल्न र गरिहाल्न सक्ने कुरा हो ।
भनाइ नै छ ठूलो आशा राखेर पछि दुःखी र निराश बन्नुभन्दा बेलैमा ठिक्कमात्र आशा राखेर कम दुःखी हुनु बुद्धिमानी हो । शायद देउवाको हकमा पनि यो कुरा लागू हुन्छ ।
तैपनि, देउवा स्वयम्कै लागि पनि आफ्नो साखमा लागेको धुलो टक्टक्याउने एक मौका भने प्राप्त भएको छ । र, समयले फेरि आफूलाई यो मौका नदिन पनि सक्ने यथार्थलाई उनले कसरी आत्मसाथ गर्ने हुन्‚ त्यो त उनको कामले देखाउनेछ ।