छेदीलालको नियतिमा नेपाली युवा नेतृत्व

नेपाली कांग्रेस चौधौँ महाधिवेशनको तयारीमा छ । महाधिवेशन नजिकिएसँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस फेरि एकपटक सुरु भएको छ । संस्थापक नेता वीपी कोइरालाले पच्चिस वर्षे युवावयमा स्थापना गरेको नेपाली कांग्रेसमा चौधौँ महाधिवेशनसम्म आइपुग्दा पार्टी नेतृत्वमा दावा गर्नेहरू ७० वर्ष उमेर समूहभन्दा तलका कमै छन् । जबकि उनै कोइराला ४१ वर्षका हुँदा आफ्नै उमेर समूहका नेता सुवर्ण शमशेरलाई पार्टी सभापति बनाएर आफू संरक्षक भएको इतिहास छ कांग्रेसको ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा पुष्पलाल पनि जम्मा २५ वर्षकै थिए । उनै पुष्पलालले औँला समाएर ताते गराउँदै वनारसका गल्ली गल्ली राजनीतिक यात्रामा हिँडाएका मदनकुमार भण्डारी आफ्नो उमेर समूहका मात्रै होइन हजुरबादेखि नातीसम्मका प्रिय नेता बन्न सफल भए । चार दशकको जीवन यात्रामा मदन एसियाका कार्ल मार्क्स भनेर चर्चित भए । तर आज तिनै मदनको ऊर्जापूर्ण सिद्धान्तबाट प्रेरित नेकपा एमालेमा साठीको उत्तरार्द्धका नेताहरूकै हालीमुहाली छ । दोस्रो पुस्ताका भनिने नेता नै सामान्यतया अनिवार्य अवकाशको उमेर हद काट्ने क्रममा छन् ।

भन्नलाई ‘युवा उमेरले होइन‚ विचारले हुनुपर्छ’ भनेर बहस गर्न नसकिने त होइन । तर अहिले दुनियाँका अत्यन्तै प्रजातान्त्रिक निर्वाचनबाट निर्वाचित ११ जना सरकार र राष्ट्र प्रमुखहरू ४० वर्ष उमेर समूहका रहेको अवस्थामा नेपालमा दाइहरू नभएपनि काका पुस्ताले नेतृत्व गरोस् भन्न सकिन्छ ।

यी दुई उदाहरणले के भन्छन् भने नेपालको राजनीतिमा युवा हस्तक्षेपको समय क्रमशः कुपोषित हुँदै गएको छ । पछिल्लो समय नेपाली राजनीतिमा ५० वर्षका सेतै कपाल फुलेका नेताहरुलाई ‘युवा’ मान्नुपर्ने बिडम्वना छ । भन्नलाई ‘युवा उमेरले होइन‚ विचारले हुनुपर्छ’ भनेर बहस गर्न नसकिने त होइन । तर अहिले दुनियाँका अत्यन्तै प्रजातान्त्रिक निर्वाचनबाट निर्वाचित ११ जना सरकार र राष्ट्र प्रमुखहरू ४० वर्ष उमेर समूहका रहेको अवस्थामा नेपालमा दाइहरू नभएपनि काका पुस्ताले नेतृत्व गरोस् भन्न सकिन्छ ।

शून्य दाइ पुस्ता
ऐतिहासिक जनआन्दोलन २०४६ ले ल्याएको परिवर्तनसँगै जन्मिएको पुस्ता अहिले ३० वर्ष पुगेको छ । यो उमेर समूहले ०६५ को पहिलो संविधानसभामा पहिलो पटक मतदान गरेको थियो । त्यसयता तीनवटा आम निर्वाचन र एक एक स्थानीय र प्रादेशिक निर्वाचन सम्पन्न भइसकेका छन् ।

यस पुस्तालाई आधार मान्ने हो भने नेपालको राजनीतिक मियोमा हजुरबा पुस्ताकै हालिमुहाली छ । बा र काका‚ बडाबा पुस्ताले अझैसम्म हजुरबाहरुलाई अब आराम गर्नुस् । अब म नेतृत्व गर्छु भन्ने हिम्मत गर्न सकेको छैन । अनि आन्दोलनको अग्रमोर्चामा रहने दाइ पुस्ताको नेतृत्व र अवसर कतै गोचर हुँदैन ।

०६३ को निकै ठुलो राजनीतिक परिवर्तनपछि दाइ पुस्ताबाट देशले असाध्यै आशा गरेको थियो । तर यो परिवर्तनको सान्दर्भिकता राजा फालेर सामन्तवाद पाल्नुभन्दा बढी हुन सकिरहेको छैन । व्यवस्था परिवर्तनको सार्थकता युवाहरुको अवस्था परिवर्तनसँग जोडिनुपर्थ्यो । तर उज्यालो त्यतातिर देखिएको छैन । नेतृत्वमा दाइ पुस्ता शून्यमात्रामा छ । अहिले पनि यो पुस्ताका ५० लाखभन्दा बढी टाउका परदेशका गल्लीमै भविष्य खोजिरहेका छन् ।

०७२ मा संविधान जारी भएसँगै शीर्ष तहमा दाइ पुस्ताको नेतृत्वको सम्भावना खुल्लाजस्तो देखिएको थियो । तर आफूलाई युवा भन्नेहरूको अडान हीनता र असफल पाकाहरूको अहम्‌ले यो सम्भावना पनि क्षीण हुँदै गएको प्रतीत हुँदैछ ।

दुर्भाग्य
देशमा आएको राजनीतिक परिवर्तन जनजीवनसँग अनुदित हुन सकिरहेको छैन । नेतृत्व यथास्थितिको सिरानी लगाएर आनन्दको निद्रा निदाइरहेको छ । जनताले खोजेको समृद्धि उनीहरुको जीवनसँग मेल खाएको प्रतीत भइरहेको देखिएको छैन । यसले गर्दा आम तहमा निराशा, हतासा र असन्तुष्टी बढिरहेको छ ।

नेपाली राजनीतिले क्रमशः जनताका मुद्दा बिर्संदै गएको छ । सङ्कीर्णता, नातावाद र अपारदर्शीता अहिले नेपाली राजनीतिको आर्दश बनिरहेको छ । यस्तो बेला जाग्नुपर्ने र खबरदारी गर्नुपर्ने युवा नेतृत्व गुटगत स्वार्थको अस्थायी न्यानोमा मस्त निदाइरहेको छ । अझ रोचक त के छ भने राजनीतिक दलमा सबैभन्दा कम मतदाताको प्रतिनिधित्व गर्ने ७० वर्ष वा सोभन्दा माथिका नेताहरू शीर्ष तहमा विराजमान छन् । त्यसपछि ६० वा सो उमेर समूह राजनीतिक दलभित्र प्रभावशाली अवस्थामा छन् । यी सबै करिब ‘टेस्टेड एन्ड फेलियर’जस्तै छन् ।

सुदूर भविष्यसम्म पनि ३० को उमेर समूहबाट पार्टी‚ सत्ता र राजकीय सत्ताको नेतृत्व देशले पाउला भन्ने सङ्केत कतै भेटिँदैन । बरू पूर्वमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सुनाउने छेदिलाल नामक युवकको कथा पो युवा नेतृत्वसँग जोडिएजस्तो प्रतीत हुन्छ ।

प्रायः सबै ठुला दलमा ५० वा सो उमेर समूह रुन्चे र निष्प्रभावी मानिन्छन् । दलभित्रका निर्वाचनमा सबैभन्दा बढी मतदाता रहेको यो समूह सबैभन्दा कमजोर हुनु उदेकलाग्दो सत्य हो । चालिसेहरूको झिनो उपस्थितिले दलहरूभित्र खासै प्रभाव पारेको परिणाम अहिलेसम्म देखिएको छैन भने ३० वा सो उमेर समूहका केन्द्रीय नेता भेट्न त पुष्पलाल, बीपी र मदन सम्झिनुबाहेक अर्को विकल्प छैन ।

अनि सुदूर भविष्यसम्म पनि ३० को उमेर समूहबाट पार्टी‚ सत्ता र राजकीय सत्ताको नेतृत्व देशले पाउला भन्ने सङ्केत कतै भेटिँदैन । बरू पूर्वमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सुनाउने छेदिलाल नामक युवकको कथा पो युवा नेतृत्वसँग जोडिएजस्तो प्रतीत हुन्छ ।

कथाले भन्छ- कुनै युवकको नाम छेदिलाल रहेछ । नामै छेदिलाल अर्थात् प्वालको अर्थ दिने भएकाले ऊ आफ्नो भाग्य नसप्रिएको निष्कर्षमा पुग्छ । हिन्दू नाम छेदिलाल फेर्ने मनसुवासहित ऊ मौलानाकोमा पुग्छ । मौलानाले उसको नाम सुराख अली राखिदिन्छन् । धर्म नै परिवर्तन गरेर नाम राख्दा पनि नामको टुप्पोमा प्वाल पर्न छोडेन ।

मुस्लिम नाम सुराखको अर्थ पनि प्वाल नै हुने भएपछि ऊ इसाई धर्म गुरु पादरीकोमा गयो । पादरीले पनि उसको नाम होल सन राखिदिएछन् । फेरि पनि होलको अर्थ प्वाल नै लाग्ने भएपछि छेदिलाल शिख गुरुको गुरुद्वारमा गएछ । शिख गुरुले पनि उसको नयाँ न्वारन गरे र गड्डा सिंह नामाकरण गरिदिएछन् । यति हुँदा पनि उसलाई प्वालले छोडेन । गड्डाको अर्थ पनि प्वाल नै लागेपछि उसलाई यो नाम पनि निको नलागेर फेरि छेदीलाल नै भएछ ।

अनेकौँ परीवर्तनका संवाहक नेपाली युवाहरू यसैगरी फेरि छेदीलाल बन्लान् कि नबन्लान् यसको निर्क्यौल गर्ने जिम्मा भविष्यलाई ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *