बाँझोपनको विकल्प खोज्ने डाक्टर

काठमाडौं । पाकिस्तानमा बाँझोपनको उपचारका लागि सन् १९८४ मा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आईभीएफ) को सुरुवात भएको थियो । आइभीएफको सुरुवात गर्ने डा. राशिद लतीफ खान थिए । उनले पाकिस्तानको लाहोरमा पहिलो आइभीएफ सेन्टर ‘लाइफ’को स्थापना गरेका थिए । पाँच वर्षसम्म लगातार प्रयास गरेपछि उनले सन् १९८९ मा पाकिस्तानमा पहिलो ‘टेस्टट्युब बेबी’ को जन्म सम्भव भएको थियो ।

संसारमै पहिलो पटक बेलायतमा टेस्टट्युबबाट शिशु जन्मिएको थियो । यो तथ्यलाई कतिले झुटो भन्दै आलोचनासमेत गरेका थिए । भारतमा पहिलो टेस्टट्युब बेबी जन्माएका डाक्टर सुभास मुखोपाध्यायले लगातार भोग्नुपरेको आलोचना र उत्पीडनको कारण आत्महत्या गरेका थिए । त्यसरी नै डा. रशिदले पनि अनेकौं समस्या र आलोचनाको सामना गर्नुपरेको थियो ।

अहिले पाकिस्तानमा प्रत्येक साल हजारौं शिशुहरू आईभीएफ पद्धतिबाट जन्मिन्छन् । तर जुनबेला डाक्टर रशिदले यो पद्धति पाकिस्तानमा ल्याउनेबारे सोचेका थिए । त्यतिबेला संसारमा यो विषयप्रति कोही पनि जागरूक थिएन र त्यससम्बन्धी संसाधनको पनि अभाव थियो । यस कामका लागि रशिदले अस्ट्रेलियालाई पत्र लेखेका थिए । अस्ट्रेलियामा संसारको तेस्रो टेस्टट्युब बेबीको जन्म भएकाले रशिद त्यससम्बन्धी प्रशिक्षण लिन अस्ट्रेलिया गए । अस्ट्रेलियाबाट पाकिस्तान फर्किएपछि उनले आईभीएफ केन्द्र स्थापना गरे ।

सुरुवाती ५ वर्षसम्म उनलाई कुनै सफलता प्राप्त भएन । तर, डा. रशिदले सुरुवाती चरणदेखि नै बच्चा नजन्मने समस्या भएका दम्पत्ति खोज्दै भने हिँड्नुपरेन । किनभने बच्चा चाहने दम्पती नै उपचार खोज्दै उनीसमक्ष आउँथे । राशिद भन्छन्— ‘मैले सधैं आफ्ना बिरामीलाई भन्ने गरेको थिएँ, यो उपचारमा हामीलाई सफलता प्राप्त भइरहेको छैन । तर सफल हुन्छ कि भनेर उपचारका लागि मसम्म आउने सबै जोडीहरू मलाई पूरा विश्वास गर्थे । त्यसैले त उनीहरु मलाई भन्ने गर्थे डाक्सा’ब कोसिस गर्नुस्, हामीलाई सफलता मिल्नेछ ।’

पाकिस्तानमा आईभीएफ विधिबाट पहिलो गर्भधारण
डा. रशिद भन्छन्— “जब आईभीएफ विधिबाट पहिलो गर्भधारण प्रक्रिया सम्भव भयो । त्यस समयमा हाम्रो टिमको एक सदस्यका भाइ पाकिस्तानको एक प्रमुख पत्रिकामा काम गर्थे । त्यसैले उनले पत्रिकामा ‘पाकिस्तानमा आईभीएफ विधिबाट पहिलो गर्भाधारण’ शीर्षकमा समाचार छापिदिए । यो समाचार प्रकाशित भएपछि १० जना धर्मगुरूले मिडियामा धारणा सार्वजनिक गर्दै यसलाई ‘हराम’ र ‘अमेरिकी षड्यन्त्र’ को नाम दिए । तर ‘एक्टोपिक’ गर्भ भएको कारण केही समयपछि उक्त गर्भलाई गर्भपात गराउनुपर्यो ।”

जब आईभीएफको माध्यमबाट दोस्रो महिलालाई गर्भवती बनाइयो । त्यसको केही महिनापछि डा. रशिदको आलोचना गरिसकेका प्रत्येक धर्मगुरुलाई भेटेर उनीहरुले आईभीएफ पद्धतिको बारेमा के कति जानेको, बुझेको छ भनेर प्रश्न गरे । त्यतिबेला पाकिस्तानमा भर्खर बाइपास सुरु भएको थियो । डा. रशिदले धर्मगुरुलाई बुझाए, ‘यदि पुरुषको मुटुमा भएको कुनै विकारलाई हटाउन मुटुको बाइपास गराउन सकिन्छ भने महिलाको गर्भाशयमा भएको विकार हटाउन पनि त बाइपास गर्न सकिन्छ नि होइन र ?’ त्यसपछि धर्मगुरुहरुले पनि कुरा बुझे ।

जब पाकिस्तानमा पहिलो टेस्टट्युब बेबी जन्मिने दिन नजिकिँदै गयो, अनि सो बच्चाको जन्मको लागि विशेष तयारी भयो । यसका लागि ६ जुलाई १९८९ को दिन छानियो । त्यो दिन अस्पतालमा अरु ५ डेलिभरी सुरुमै गराइयो‚ ताकि उनिहरुले आईभीएफ पद्धतिवाला दम्पतीलाई डिस्टर्ब नगरुन् । अर्को दिन पत्रिकामा समाचार आयो ‘पाकिस्तानमा पहिलो टेस्टट्युब बेबीको जन्म’ । त्यसपछि बच्चाका बुबाले डाक्टरसमक्ष भने– ‘यो समाचार सुन्नुभयो भने मेरो बुबा (बच्चाको हजुरबुबा) ले मलाई सोध्नुहुनेछ– यो हरामी काम तैँले त गरेको त होइन नि ?’

के हो आईभीएफ पद्धति ?
कोही पुरुष वा महिलामा भएको समस्याको कारण पुरुषको शुक्राणु महिलाको अण्डसम्म नपुग्ने समस्या हुन्छ । यही कारणले गर्दा प्राकृतिक विधिबाट बच्चाको जन्म सम्भव हुँदैन । यस्तो समस्या भोगिरहेको दम्पतीका लागि महिलाको अण्ड र पुरुषको शुक्राणुलाई उनीहरुको शरीरभन्दा बाहिर निकालेर ल्याबमा राखेर मिलाउने काम गरिन्छ । त्यसको दुई दिनपछि महिलाको गर्भाशयमा उक्त अण्ड र शुक्राणुको मिलन गराइन्छ । जहाँ त्यो सामान्य गर्भजस्तै विकास हुन्छ र नौ महिनापछि बच्चा जन्मन्छ ।

यो बाहेक ‘सरोगेसी’, ‘एग डोनेसन’ र ‘स्पर्म डोनेसन’ को माध्यमबाट पनि बच्चा जन्माउन सकिन्छ । सरोगेसी पद्धितमा एक पुरुषको शुक्राणु र अर्को महिलाको अण्डलाई तेस्रो महिलाको गर्भाशयमा राखिन्छ । यसरी नौ महिनापछि बच्चाको जन्म हुन्छ । योबाहेक कोही पुरुषको शुक्राणु वा महिलाको अण्डको गुण एक स्वस्थ बच्चा जन्माउन सक्षम र पर्याप्त भएन भने अण्ड एवं शुक्राणु डोनरमार्फत लिएर पनि बच्चा जन्माउन सकिन्छ । अर्थात् यदि महिलाको एगका कारण बच्चा नजन्मिएको अवस्था भएमा ती महिलाले आफ्नो श्रीमान्को शुक्राणु कोही तेस्रो महिलाको अण्डमा मिलाएर आफ्नै गर्भाशयमा वा अरु कोही महिला (सरोगेट मदर) को गर्भाशयमा पाल्नका लागि राख्न पनि सकिन्छ ।

आईभीएफ पद्धतिबाट बच्चा जन्माउँदा छोरा कि छोरी भनेर छान्न सम्भव छ ?
आईभीएफको माध्यमबाट जन्माउने बच्चाको लिङ्ग छान्न पनि सकिन्छ । विशेषज्ञकाअनुसार पाकिस्तानी समाजमा धेरैजस्तो दम्पती छोरा चाहन्छन् । यही इच्छा पूरा गर्नका लागि उनिहरू धेरै बच्चा जन्माउँछन् । यदि छोरीमात्र जन्मिए, अर्को विवाह गर्नसमेत उनीहरू पछि पर्दैनन् ।

त्यसैले पाकिस्तानमा ‘फेमिली स्पेसिंग’ अन्तर्गत आईभीएफ गराउने दमपतीले लिङ्ग छान्न पाउँछन् । संसारका अन्य देशमा पनि आईभीएफ माध्यमबाट जन्माउने बच्चाको लिङ्ग छान्न पाइन्छ । तर यो छनोट आमा बुबालाई छोरा वा छोरी मन पर्ने वा नपर्ने आधारमा भने गर्न पाइँदैन । यदि लिङ्गको आधारमा लाग्ने कुनै गम्भीर आणुवंशिक रोग लाग्ने खतरा छ भने मात्र आमा बुबाको उपस्थितिमै लिङ्ग चयन गर्न मिल्छ । केही यस्ता जेनेटिक रोगहरू हुन्छन्, जसको खतरा महिला अथवा पुरुषमा हुने गर्छ । यही आधारमा मात्र लिङ्ग छानेर बच्चा जन्माउन मिल्छ ।

पाकिस्तानी र इस्लाम कानूनमा आईभीएफको अनुमति छ ?
जब सन् १९७८ मा संसारको पहिलो टेस्टट्युब बेबीको जन्म भयो, त्यहीबेला इजिप्टको अल–अजहर विश्वविद्यालयले १९८० मा एक लिखित आदेश जारी गरेको थियो । उक्त आदेशमा यदि आईभीएफमा प्रयोग गरिएको अण्ड र शुक्राणु श्रीमान् श्रीमतीकै हुन्छ भने उक्त बच्चा जायज नै हुन्छ भनिएको थियो ।

त्यसैले जब पाकिस्तानमा पहिलो टेस्टट्युब बेबी जन्मियो, त्यतिबेला धेरै धर्मगुरुहरुले व्यक्तिगत रुपमा आपत्ति जनाएका थिए । तर अल–अफहर विश्वविद्यालयको लिखित आदेशको आधारमा सन् २०१५ सम्म राज्यस्तरमा नै आईभीएफसँग सम्बन्धित कुनै आपत्ति सार्वजनिक भएन । तर २०१५ मा आईभीएफ पद्दतीबाट जन्मिएको बच्चाको संरक्षणको मुद्दामा एक दम्पत्ति संघीय शरीया अदालतको ढोकासम्म पुगे ।

पाकिस्तान मूलका एक अमेरिकी डाक्टर फारुक सिद्दीकी र उनकी श्रीमती धेरै वर्षसम्म निःसन्तान थिए । त्यसैले उनीहरुले पत्रिकामा विज्ञापन दिए । उनीहरुलाई सरोगेट आमा चाहिएको विज्ञापनमा उल्लेख थियो ।

त्यसको बदलामा सरोगेट आमालाई क्षतिपूर्तिसमेत दिने भनिएको थियो । यो विज्ञापन पढेपछि फरजाना नाहीदले डाक्टर फारुक सिद्दीकीलाई सम्पर्क गरिन् र उनको बच्चाको आमा बन्ने इच्छा व्यक्त गरिन् । नाहीदले आफ्नो बच्चालाई जन्म दिए क्षतीपूर्ति दिने भनी उनले नाहीदसँग एक मौखिक सम्झौता गरेको डा. फारुकको दाबी छ । डा. फारुकले भनेअनुसार उनले फरजानालाई जाँचका लागि २५ हजार रुपैयाँ दिएका थिए ।
फरजानाले ९ महिनापछि छोरी जन्माइन् । तर उनले डा. फारुक र उनकी श्रीमतीलाई बच्चा दिन मानिनन् । तर उनले आफू फारुककै श्रीमती भएको दाबी गरिन् । त्यसैले डा. फारुकले प्रत्येक महिना उनलाई खर्च दिने गरेका छन् । फारुकले भने आफन्तले गर्ने आलोचनाबाट बच्न फरजानासँग विवाहको नाटक गरेको बताएका थिए ।

सरोगेसी गैरकानुनी घोषित
संघीय सरिया अदालतले सन् २०१७ मा केसको फैसला सुनाउँदै भन्यो– आईभीएफ पाकिस्तानी कानुनअनुसार त्यतिबेला मात्र वैध हुन्छ, जब त्यसमा प्रयोग भएको अण्ड र शुक्राणु श्रीमान्–श्रीमतीको हुन्छ । शरिया अदालतको यही फैसलामा दान गरेको अण्ड र शुक्राणुबाट जन्मिएको बच्चा नाजायज ठहर भयो । साथै सरोगेसीलाई गैरकानुनी घोषित गरियो । त्यसपछि अदालतले यससम्बन्धी नियम यही फैसलाको आधारमा बनाउन निर्देशन दियो । अहिले पनि इरान र लेबनानमा भने दान गरेको अण्ड वा शुक्राणुबाट जन्मने बच्चालाई वैध मानिन्छ ।

नेशनल स्टडीज अफ पपुलेसनकाअनुसार पाकिस्तानमा २२ प्रतिशत जोडीमा बाँझोपनको समस्या छ । यसको अर्थ ५ जोडीमा एक जोडी प्राकृतिक रुपमा बच्चा जन्माउन असमर्थ छन् र उनीहरुलाई सही उपायको खाँचो छ भन्ने हो ।

डा. रशिद लतिफ भन्छन्— ‘बाँझोपनको समस्या पुरुष र महिला दुवैमा बराबर हुन्छ । तर दुर्भाग्यवश बच्चा नजन्मिँदा महिलालाई मात्र दोष दिने चलन छ र पुरुष भने आफ्नो जाँचमा सहभागी नै हसन चाहँदैनन् ।’

—बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *