एमाले विवाद

‘ओली-नेपालबीच चाँडै भेट हुनसक्छ’

काठमाडौं । आन्तरिक कलहमा अल्झिएको प्रमुख प्रतिपक्षी नेकपा एमाले अझै विवादरहित हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका आ–आफ्नै अडानका कारण एमाले एकता कायम नरहेको हो । एकता कायम गराउने संकल्पका साथ नेताद्वय सुवासचन्द्र नेम्वाङ्ग र विष्णु पौडेल सक्रिय छन् । एकता कायमकै प्रयासस्वरुप शुक्रबार (आज) दिउँसो पौडेलले नेता नेपाललाई भेट्दैछन् । यसअघि बिहीबार नेता नेम्वाङ्गले नेता नेपाललाई भेटेका थिए । ‘मैले उहाँलाई भेटेँ,’ नेम्वाङ्गले भने— ‘अध्यक्षसँग भेटेर कुरा गर्नुस् भनेँ, उहाँले म पजेटिभ छु भनेर भन्नुभयो ।’

कार्यदलले तय गरेको १० बुँदे प्रस्तावलाई पार्टीले अनुमोदन गरिसकेको र दोस्रो तहका नेताहरुको तर्फबाट समाधान दिशामा गइसकेको नेता नेम्वाङ्गको भनाइ छ । अब दुई शीर्ष नेताबीच नै कुरा हुनुपर्ने भन्दै आफूहरु भेट गराउनको लागि सक्रिय रहेको नेता नेम्वाङ्गले भनाइ छ । ‘उहाँ (नेपाल) अलि परै हुनुहुन्छ । हामीले उहाँहरुलाई भेट गराउनको लागि कोसिस गरिरहेका छौँ । चाँडै भेट गराउने प्रयासमा छौँ । सम्भवतः उहाँहरु भेट्नुहुन्छ । हामीले १० बुँदे प्रस्ताव बनाएकै छौँ । त्यसमा उहाँहरुबीच कुराकानी हुन्छ भेट्नुभयो भने ।’

कार्यदलको १० बुँदासँग नेता नेपाल भने सहमत छैनन् । एमाले बिनासर्त ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने नेता नेपालको छ । कार्यदलले बनाएको प्रतिवेदनमा जेठमा फर्किने त भनिएपनि तर जेठ ३ र ०७७ फागुन २८ को निर्णय पनि मान्नुपर्ने उल्लेख छ । उक्त बुँदाप्रति नेता नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।

यसअघि शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि २४ घण्टे स्पष्टीकरण सोधेका अध्यक्ष ओलीले त्यसलगत्तै ‘आममाफी’को घोषणा गरेका थिए । नेता नेपालसहित २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

यसपछि नेता नेपालले अध्यक्ष ओलीसँग भेट्न चाहिरहेका छैनन् । नेता नेपालले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेका थिए । त्यसपछि समानान्तरमार्फत राजनीतिक रुपमा अगाडि बढिरहेका नेता नेपालले ओलीले आत्मालेचना गर्दै अध्यक्ष पद छाड्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *