एमाले विवाद

नेपाल–पौडेलबीच कोटेश्वरमा भेट

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराउने प्रयोजनका साथ नेता पौडेल कोटेश्वर पुगेका हुन् । एक एमाले नेताले मकालुखबरसँग भने, ‘उहाँहरुबीच अहिले भेट भइरहेको छ ।’ यसअघि बिहीबार (हिजो) एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले पनि नेता नेपाललाई भेटेका थिए । भेटमा नेता नेम्वाङ्गले अध्यक्ष ओलीसँग भेट गरेर वार्ता गर्न भनेका थिए । जवाफमा नेता नेपालले ‘म पजेटिभ छु’ भनेर भनेका थिए ।

कार्यदलको १० बुँदासँग नेता नेपाल भने सहमत छैनन् । एमाले बिनासर्त ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने नेता नेपालको छ । कार्यदलले बनाएको प्रतिवेदनमा जेठमा फर्किने त भनिएपनि तर जेठ ३ र ०७७ फागुन २८ को निर्णय पनि मान्नुपर्ने उल्लेख छ । उक्त बुँदाप्रति नेता नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।

यसअघि शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि २४ घण्टे स्पष्टीकरण सोधेका अध्यक्ष ओलीले त्यसलगत्तै ‘आममाफी’को घोषणा गरेका थिए । नेता नेपालसहित २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

यसपछि नेता नेपालले अध्यक्ष ओलीसँग भेट्न चाहिरहेका छैनन् । नेता नेपालले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा गरेको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलन गरेका थिए । त्यसपछि समानान्तरमार्फत राजनीतिक रुपमा अगाडि बढिरहेका नेता नेपालले ओलीले आत्मालेचना गर्दै अध्यक्ष पद छाड्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *