तेस्रो लहरको पदचाप

कोरोना संक्रमण दक्षिण एसियामा प्रवेश गर्नुअघि नै ०७६ साल माघ र फागुन महिनामा दुईवटा अनलाइन न्यूज पोर्टलमा कोरोना संक्रमणको सम्भावित चित्र कोरेको थिएँ र लेखेको थिएँ- यस्तो दिन नआउला भन्न सकिन्न । जुन दिन लाश गन्न नसकेर आर्यघाटहरू धुरुधुरू रुनेछन् ।’ दोस्रो लहरको उच्च बिन्दुमा आर्यघाट, शोभा भगवती, टेकु घाटहरू नभन्दै यसरी नै रोए । टोलैपिच्छे आफन्त गुमाएकाहरूको क्रन्दन थियो भने घरैपिच्छेजसो अक्सिजनको खोजीमा ज्यूँदाहरू मरिरहेका थिए । अस्पतालहरू आफैँ बिरामी थिए, अशक्त, किंकर्तव्यविमुढ थिए । र पनि सरकार लकडाउनमात्र गरी सुतुरमुर्ग बनिरह्यो ।

हो‚ लकडाउन अपरिहार्य थियो नै । कुनै दिन झण्डै १० हजार संक्रमणलाई हाम्रो छिमेकी मुलुकको जनसंख्याको आँखाबाट हेर्ने हो भने त्यो ५ लाखप्रति दिन हुन आउँछ । दोस्रो लहरको शिखरमा भारतमा एकदिन ४ लाख ३० हजारसम्म पुगेको थियो । सरसर्ती हेर्दा भारतमा पनि लकडाउन नै लागेको हो । कोरोनाको संक्रमण चक्र तोड्न यही एउटा सबैभन्दा बलियो उपाय हो नै । यसका साथै स्वास्थ्य सेवामा सुधार, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ र ट्र्याकिङ अनि आइसोलेट गरी सम्भाव्य भाइरसको भण्डारलाई अलगथलग गर्नुपर्ने हो तर‚ बिडम्बना ! हाम्रो सरकार देशलाई लकडाउनको शय्यामा सुताएर आफैँ महँगो खाटमा सुतेर बस्यो । भारतमा अहिले संक्रमितको संख्या घटेर दैनिक ३० हजारको हाराहारीमा आएको छ । त्यो ३० हजार पनि दुई तीन राज्यमा ८०% जतिमा सीमित भएर बसेको छ । तर हाम्रो देशमा २५ सयभन्दा तल झरेन, त्यो पनि परीक्षण नै कम गरेर । अर्को एउटा उदाहरण- देशको सीमासँग जोडिएको भारतको उत्तर प्रदेश । २४ करोड जनसंख्या रहेको प्रदेशमा अप्रिल-मे महिनामा अधिकतम ३८ हजार प्रतिदिन संक्रमण थियो भने अहिले घटेर प्रतिदिन ५० भन्दा कम भइसकेको छ ।

हाम्रो देशमा किन घटेन त ?
लकडाउन लागू गर्दा दैनिक औसत ८००० भन्दा बढी थियो र झण्डै २ महिना लकडाउन गर्दा पनि त्यो संख्या उल्लेख्य रुपमा घटेको देखिएन । यसको अर्थ लकडाउन प्रभावकारी भएन कि भन्ने शंका रह्यो नै । त्यो अवधीभरि मैले दिनहुँजस्तो विभिन्न भ्लगहरू हेरेको थिएँ र उपत्यकाको बजार र बस्ती हेर्दा लकडाउन पूर्ण प्रभावकारी देखिन्थ्यो । ५० लाखभन्दा बढी बसोबास गर्ने उपत्यकाका बस्ती त्यक्त र उजाड देखिन्थ्यो । त्यत्रो दिन यसरी बन्दी बनाइएको शहरमा भाइरस पनि निसास्सिएर मर्नुपर्थ्यो र मरे पनि होलान् । बिडम्बना ! फेसबुकभरि चिनेकाहरूको समवेदनामात्र देखेँ । यसो हुनुको प्राविधिक पक्ष केलाउने हो भने यस्तो निष्कर्ष निकाल्न सकिन्छ :

१. दैनिक २५-२७ हजार टेस्ट निकै कम थियो, संक्रमितको प्रतिशत कुनै बेला ४७% सम्म रह्यो । त्यसको मतलब‚ जो जो बिरामी भए वा संक्रमणको शंकाको घेरामा परे तिनीहरू मात्र जाँच गराउन गए ।

२. एउटा घरमा एक जना संक्रमित भए अरूले जाँच नै गराउन गएनन् र घरमै उपचार गराएर ठिक भए । संक्रमित भएर पनि लक्षण नदेखिएका असिम्प्टोम्याटिकहरूले अरूलाई सार्दै गए ।

३. संक्रमण भुसको आगोसरि सल्कँदै गयो र आवश्यक नपरी (कागजात नै चाहिनेहरूबाहेक) अरु टेस्ट गराउन नै गएनन् ।

४. दोस्रो लहरमा संक्रमितको संख्या सरकारी तथ्यांक र हामीले अन्दाज गरेको भन्दा धेरै बढी थियो र संक्रमण चक्र तोडिँदा पनि शेष रहेको संक्रमण नै भीमकाय भइरह्यो ।

यदि यसो नहुँदो हो त‚ २४ करोड जनसंख्या भएको ठाउँमा ३८ हजारबाट घटेर ५० भन्दा तल आउन सक्ने संख्या हाम्रोमा ८-१० मा सीमित हुनुपर्ने हो तर‚ भएन । त्यसको मतलब हाम्रो सरकार, प्रशासन अनि समाज असफल भएकै हो ।

दुई महिना लकडाउन गरेपछि संक्रमण र मृत्यु घटेको हो‚ त्यसमा दुई मत छैन । तर पनि असार मसान्तको बाध्यकारी करले हो कि कर उठाउने करले हो‚ संक्रमणदर ३० प्रतिशतभन्दा माथी हुँदाहुँदै पनि अनलक गरियो । संसारभर संक्रमणदर ५ प्रतिशतभन्दा कम भएको ईलाकामा मात्र शर्तसहित खुला गर्न मिल्नेमा नेपालको ‘क्रान्तिकारी सरकार’ले सम्पूर्ण रुपमा खोल्यो । कुन विज्ञान र कुन ज्ञानको आधारमा खोलियो कालो तील चपाएर जलसरो निको भएजस्तै यो रहस्यमय नै भयो ।

हो‚ लामो समयसम्म शहरलाई बन्दी बनाउँदा सहरबासीको हातमुख जोड्ने समस्या विकराल हुन्छ नै । श्रमजिवीहरू भोकै मर्ने समस्या आउँछ नै । व्यापारीको परिवार बिचल्ली हुन्छ नै । पसलको साहुजीको सुको आम्दानी हुन्न भने घरभेटी आमैको नि आम्दानीमा ताला लाग्छ । यसलाई कसरी समाधान गर्ने त्यो सरकारको काम हो । त्यसैले त हो सरकार, स्थानीय सरकार चाहिएको । हामीले तिरेको कर र श्रमिकको रेमिट्यान्स बालुवाटार पार्टी प्यालेसमा भोज खान र खुवाउनलाई मात्र हो ? हाम्रो सोधाइ र खोजाइ त्यतातिर हुनुपर्ने हो ।

हराएको भ्याक्सिनको कथा
भारतबाट आएको कोभिशिल्ड भ्याक्सिन कति जनालाई लगाइयो र कति नष्ट भयो ? यकीन जानकारी छैन । सुनिन्छ करीब ३ लाख डोज लुकाइयो । सत्तानजिकका र शक्तिशाली निकायका आफ्नालाई लुकी लुकी लगाइयो । र करीब डेढ लाख डोज म्याद नाघेको कारणले नष्ट गर्नुपर्‍यो । भ्याक्सिनसमेत लुकाउने देश कुन होला संसारमा? यो सत्य हो भने सत्तामा बस्नेहरूमा मानवीय समवेदना नै छैन । अक्षम्य अपराध गरेकै हुन् । एक डोज लिएका लाखौँ स्वास्थ्यकर्मी, फ्रन्टलाइन वर्कर र जेष्ठ नागरिक दोस्रो डोजको बाटो हेरेर थाकिसके । किन्नलाई ठीक पारेको भ्याक्सिनसमेत कमिसनको चक्करमा आएन रे । तैपनि हामी मौन छौँ ।

अब आउने संक्रमण डेल्टा प्लस र त्योभन्दा नयाँ भेरियन्टको हुनेछ र पहिलेको भन्दा कमजोरचाहिँ पक्कै हुने छैन ।

एक डोज कोभिशिल्ड लिएकाहरुलाई के जानकारी दिन चाहन्छु भने, एक डोजले दिने सुरक्षा कवज पनि उल्लेख्य प्रभावकारी हुन्छ । ३ महिनापछि ७०% सम्म यसको प्रभाव विकसित हुन्छ । तसर्थ त्यति डरलाग्दो स्थितिमा भने उहाँहरू हुनुहुन्न।

संक्रमण कम गरेर अन्तमा कोरोनालाई हराउने एकमात्र उपाय हो‚ भ्याक्सिन लगाउने । ५० प्रतिशतभन्दा बढी जनसंख्यालाई भ्याक्सिन लगाए कसरी संक्रमण घट्छ भन्ने प्रमाण अमेरिका हो । सकेसम्म छिटो बढीभन्दा बढी जनतालाई भ्याक्सिन उपलब्ध गराउनुपर्नेमा ६० दिनको लकडाउनमा के कति भ्याक्सिन लगाइयो वा जनतालाई उपलब्ध गराइयो ? सबैभन्दा ठूलो प्रश्न यही हो ।

हालैमात्र नाम चलेकै मिडिया हाउस अमेरिकाले उपलब्ध गराएको जान्सेन (जोन्सन एन्ड जोन्सन) भ्याक्सिन लगाउनु हुँदैन भनेर लागेको देखियो । अहिलेसम्मकै उच्च प्रभावकारी देखिएको भ्याक्सिन विश्वभरि ३ करोड मान्छेले लगाइसके । कतिजनाको मृत्यु भयो वा अंगभंग भयो त ? त्योभन्दा पनि महत्वपूर्ण कुरो कतिजना कोरोनाबाट सुरक्षित भए र कतिको ज्यान जोगियो ? जुन देशसँग आफ्नै भ्याक्सिन छैन, भ्याक्सिन आयात गर्ने कुनै पूर्वयोजना छैन, कसैले दान देला र थापौँला भनेर बसेको छ, त्यो देशको आफ्नै भ्याक्सिनको च्वइस हुँदैन । जहाँबाट जसरी हुन्छ छिटो र बढी संख्यामा भ्याक्सिन ल्याउने र उपलब्ध गराउने हो । नकारात्मक प्रचारबाजीलाई ठाउँ दिने होइन ।

तेस्रो लहरको पदचाप
यो हप्ताको सुरुदेखि नै सरकारले उपलब्ध गराएको तथ्यांकले समेत के जनाउ दिन्छ भने काठमाडौं उपत्यकालगायतका ठाउँमा कोरोनाले फेरि टाउको उठाएको छ । २ हजारको आसपासमा रहेको दैनिक संक्रमण अहिले ४ हजार पुगेको छ । अहिले संक्रमणदर २५ प्रतिशतभन्दा बढी भएको छ । मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । सरकारी सूचनालाई मान्ने हो भने अझै पनि निषेधाज्ञा जारी छ तर‚ बजार हजार गुणाले खुलेको छ, बजारभरि भरिभराउ मान्छे छन् । भेटघाट, पार्टी, भेला यति भइराखेका छन् कि‚ यस्तो लाग्छ देशमा कोरोना छँदै छैन । मानौँ यो सामान्य रुघाखोकी वा झाडापखालामात्र हो ।

२-३ महिनायता मात्र हजारौँले आफन्त गुमाए, लाखौँ मृत्युसँगको लडाइँबाट जेनेतेन बाँच्न सके । हामी बहादुर हौँ कि बुद्धु ? मृत्युसँग नडराएकै हो त ? मृत्यु कसैको पनि सुखद हुन सक्दैन । परिवारमा एक व्यक्तिको मृत्युमात्र संख्या होइन, जीवन गुमाउनु हो, जीवन्त घर उजाडिनु हो ।

यो बढ्दो संक्रमण तेस्रो लहरको पदचाप हो, कालको मार्चपास हो । अहिले नै निजी अस्पतालका आईसीयूहरू लगभग भरिभराउ भइसके । अक्सिजनको अभाव हुन नदिन स्वयम् सरकारले निर्देशिका जारी गरीसकेको छ । फेरि एकपल्ट दोस्रो लहरको ताण्डव दोहरिन कुनै आइतबार कुर्नु नपर्ने संकेत आइरहेको छ ।

अब आउने संक्रमण डेल्टा प्लस र त्योभन्दा नयाँ भेरियन्टको हुनेछ र पहिलेको भन्दा कमजोरचाहिँ पक्कै हुने छैन ।

तेस्रो लहर र बालबालिका
देशका केही मूलधारका अखबारहरूले तेस्रो लहरमा बालबालिकाहरू अरूको तुलनामा बढी संक्रमित हुने भन्दै ढ्याङ्ग्रो ठटाए । हालैमात्र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस)ले गरेको सेरोलोजिकल सर्भेअनुसार त्यो दाबी असत्य ठहरिइसकेको छ । भाइरसले न बालबालिका चिन्छ‚ न बुढाबुढी, न तन्नेरी‚ न बिरामी । नयाँ प्रजातिको संक्रमणदर बढी भएकाले त्यही अनुपातमा बालबालिकालगायत हरउमेरका व्यक्तिलाई चपेटामा लिन्छ । त्यसैले अनावश्यक डर फैलाउनु पनि एउटा अपराध नै हो ।

अब के गर्ने ?
पहिले जस्तै सतर्क हुने र सजग हुने बाहेक हामीसँग अर्को विकल्प छैन । सकेसम्म सबैले भ्याक्सिन लगाउनुपर्‍यो । भीडभाड गर्नु र भीडभाडमा जानु भएन । अनावश्यक काममा बाहिर निस्कनुभएन । भ्याक्सिन लाइसकेकाहरुले समेत मास्क लगाएर मात्र बाहिर निस्कनुपर्‍यो । हात धुने र स्यानीटाइजर प्रयोग गर्नुपर्‍यो । मास्क नलगाएका परिचित वा अपरिचित कसैसँग पनि कुरा नगर्ने र मास्क लगाएकैसँग पनि थोरै समयमात्र कुरा गर्नुपर्‍यो । कुरा गराइको सराइ अरु तरिकाबाट सरेकोभन्दा गम्भीर र ज्यान लिने खालको हुन सक्दछ । सार्वजनिक यातायातको प्रयोग सकेसम्म गर्नुभएन ।

सकिन्छ भने सार्वजनिक यातायात सञ्चालन नै बन्द गर्नुपर्ने हो । यसो भन्दै गर्दा मजदूरमारा भनिएला तर यो सत्य हो, कोरोना बस चढेर, टेम्पुमा झुन्डिएर र माइक्रोमा कोच्चिएर तपाईंको घर घर आउनेछ । सार्वजनिक यातायातसँग जोडिएका सबैको जीवनयापनको व्यवस्थामा सरकारले सहयोग गर्नैपर्छ । अन्य व्यवसायीले पनि स्वास्थ्य मापदण्ड पुर्‍याई होशियारपूर्वक व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ भने निजी तथा सरकारी कार्यालयले सकेसम्म कम कर्मचारीद्वारा र घरैबाट हुने काम घरबाट नै गर्न लगाउने व्यवस्था गर्नुपर्ने हुन्छ ।

सरकार निकम्मा, संवेदनाहीन हुँदैमा हामी आमनागरिक त्यस्तै हुनु भनेको आफ्नो काल आफैँले निम्त्याउनुसरह हुन्छ । ज्यान बँचे पो चाडपर्व मनाउन पाइएला । एक-दुई वर्ष नमनाउँदैमा जात्रा‚ संस्कृति‚ पर्व मासिने होइन । अर्को साल भव्य रुपमा मनाउँला । नेताले कार्यकर्ता भेला गर्न हुने, हामीले जात्रा मनाउन नहुने भन्ने तर्क, कुतर्कमात्र हुन् । नेताले गल्ती गर्‍यो भन्दैमा हामीले गल्ती नगरौं ।

माइतीसम्म गएको त हो नि ! ससुरालीसम्म गएको त हो नि ! साथीसँग एक प्लेट म:म: खान गएको त हो नि भन्ने कुरा क्षमायोग्य हुँदैनन् । भाइरस कहाँ हुन्छ, कसको शरीरभित्र छ त्यो तपाईंलाई थाहा हुँदैन । भाइरसले म यहाँ छु भनेर जनाउ घण्टी बजाउँदैन ।

आफू बचौँ, अरूलाई पनि बचाऔँ । अँ ! संक्रमण भइहाले तुरुन्तै विश्वासिलो चिकित्सकलाई देखाऔँ । युट्यूब, टिकटक र फेसबुकमा भएका अजासुहरूको कुरा नसुनौँ ।

संक्रमण भइहाले बचाउने एक डाक्टर हुन् भने अर्को भगवान ।

अस्तु !

(हाल अमेरिकामा रहेका डा. ताम्राकार ‘मानव शरीरमा जीवाणुहरुको जोखिम’मा विद्यावारिधी गरेका छन् ।)

प्रतिक्रिया

3 thoughts on “तेस्रो लहरको पदचाप

  1. Bahir ko teacher k dinhu matra hajari garne tr ysto mahamari ma ghar priwar sang bsan npaune ho, online class sambhw bhako thauma ghar bat padhau nu parne nirde shan dinu paryo sarkar,ysto bikat thau bat gadi airlines band r purn lock down bhyo bhne ksari jane samya sapek ch jankari pau

  2. डा.सुशील ज्यू काे लेख असाध्यै राम्राे लाग्याे ,
    – सन्दर्भ याे काेभिडकाे चपेतामा म पनि परेकाे थिएं , १० दिन सास फेर्न यत्ति गार्हाे भाे कि दुस्मनलाई पनि याे राेग नलागाेस । आज ९ महिना पुगिसक्दा पनि चांडाे थकान आउने, पसिना आउने , विर्सने भैइने रहेछ ।
    So all you STAY YOU SAFE

Leave a Reply

Your email address will not be published. Required fields are marked *