नियमित महाधिवेशनको विकल्पमा विशेष महाधिवेशन गरौँ : अर्जुननरसिंह केसी

काठमाडौँ । आगामी भदौको २३ गतेभित्र कांग्रेसको महाधिवेशन नभए के हुन्छ ? धेरै नेताहरुको दाबी छ -पार्टीको वैधानिकता सकिन्छ । लोकतान्त्रिक पार्टीले समयमा महाधिवेशन गर्न नसकिने कुरा अक्षम्य हुन्छ । नभन्दै अहिले २३ भदौभित्रै महाधिवेशन गर्न नसकिने परिस्थिति जबरजस्ती बन्दै गइरहेको छ ।

कांग्रेसको निर्वाचन समितिले महाधिवेशन गर्नका लागि ५३ दिन मागेको छ । जबकि कांग्रेससँग वैधानिकता जोगाउननै अब ३९ दिनमात्रै बाँकी छ । त्यसमाथि नेताहरुले अहिलेसम्मपनि क्रियाशील सदस्यताकै टुंगो लगाउन सकिरहेका छैनन् ।

नियमित महाधिवेशन नभए के गरेर पार्टीको वैधानिकता बनाउने ? कांग्रेसभित्र अहिले दोश्रो तहका नेताहरुको होमवर्क यसमा केन्द्रीत देखिन्छ । नेताहरुले महाधिवेशनको विकल्पमा विभिन्न प्रस्ताव गरिरहेका छन् । त्यसो त वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश र केन्द्रको मात्रै महाधिवेशन गरेर भएपनि जसरी पनि पार्टीको वैधानिकता जोगाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

तर, कांग्रेस नेता अर्जुननरसिंह केसीको फरक प्रस्ताव छ, नियमितको विकल्पबारे । उनले नियमित महाधिवेशन गर्न नसकिएको अहिलेको परिस्थितिमा विशेष महाधिवेशन गर्न सकिने प्रस्ताव गरेका छन् ।

केसीले छ महिना अघि नै केन्द्रीय कार्यसमितिको बैठकमै विशेष महाधिवेशनको लिखित प्रस्ताव अघि सारे । तर, त्यसबारे ठूलो बहस र छलफल भएको छैन । केसीले भने नियमित महाधिवेशनको विकल्पकारुपमा विशेष महाधिवेशन गर्न सकिने विषय नियमित उठाउदै आएका छन् ।

उनी अहिलेको परिस्थितिमा विशेष महाधिवेशन उपयुक्त विकल्प भएको दाबी गर्छन् । ‘अरु थुप्रै विकल्पहरु हुन सक्छन् । म त छलफल गर्न तयार छु । तर, मलाई लागेको अहिलेका लागि सबैभन्दा उपयुक्त विशेष महाधिवेशन नै हो,’ उनले भने ।

पार्टीमा यसअघि पनि विशेष महाधिवेशनको अभ्यास भइसकेकाले त्यो हाललाई सबैभन्दा उपयोगी हुने उनको भनाइ छ । ‘अहिले जुन परिस्थिति छ, त्यो परिस्थितिमा अधिवेशन गर्ने समयसीमा अत्यन्तै सिमित छ । संविधानको धारा २६९ (४) ले पाँच वर्ष र थप छ महिनाभित्र केन्द्रीय पदाधिकारी र प्रादेशिक पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ,’ केसीले भने, ‘कांग्रेसको वैधानिकतामा आउन सक्ने जोखिमलाई हेरेर विशेष अधिवेशन गरौँ । मैले त तीन महिनादेखि नै भनिरहेको हुँ । अहिले मैले भनेको कुरा उपयुक्त हुने देखिरहेको छु ।’

कांग्रेसले ०१२ सालमा अधिवेशन वीरगन्जमा महाधिवेशन ग¥यो । त्यसको दुई वर्षपछि विराटनगरमा विशेष महाधिवेशन गरेको थियो । ‘अहिले दैनिक कोरोनाको संक्रमणको ग्राफ उकालो लागिरहेको छ । मृत्युवरण गर्नेको संख्या बढ्दो छ । बाढी पहिरो र डुबानको क्षति बढ्दो छ,’ केसी भन्छन्, ‘यस्तो बेला सबै तहको अधिवेशन सकेर महाधिवेशन गर्ने कुरा सम्भव हुदैन । त्यसैले विशेष महाधिवेशन उपयुक्त हुन्छ ।’

विशेष महाधिवेशन अस्थायी रुपबाट एक वर्षको कार्यकाल हुने गरी गर्न सकिने उनको प्रस्ताव छ । ‘विशेष महाधिवेशनले पार्टीमा तिक्तता कम गर्छ । अहिले क्रियाशील सदस्यताको विवाद छ, त्यो पनि समाधान हुन्छ । १३ औँ महाधिवेशनका प्रतिनिधिबाट विशेष अधिवेशन गर्दा पार्टीको आगामी स्थानीय तहको चुनाव र आमनिर्वाचनका लागि पनि फाइदा पुग्छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘वैधानिकता दिनका लागि निम्त यो भन्दा उपयुक्त बाटो मैले देख्दिनँ ।’

कांग्रेसले १२ साउनबाटै तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । तर, त्यो कार्यतालिका प्रभावित भइसकेको छ । त्यसको अर्थ अब भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन गर्ने आधार लगभग सकिएको छ । शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको विवाद समाधानका लागि थप पाँच दिनको समय लिएका छन् ।

तर, त्यो मितिमा पनि क्रियाशील सदस्यताको विवाद समाधान हुने सम्भावना कमजोर बनिरहेको उनको बुझाई छ । ‘केन्द्रीय समितिको निर्णय, विधान र कार्यविधिका आधारमा क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने अवस्था छ, तर अहिले थपिएको क्रियाशील सदस्यता हेर्दा त्यो आधारमा टुंगो लगाउन एकदमै समस्या छ,’ उनी भन्छन् ।

रमेश लेखक संयोजकत्वको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ८ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्यको छानविन गरी केन्द्रीय समितिलाई बुझाएको छ । तर, समितिका सुझाव र समितिले मिलाउन नसकेका विवादहरुबारे छलफल गर्न शीर्ष नेताहरुले पहल गरिरहेका छन् ।

छानविन समितिले सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवाको क्रियाशील सदस्यता मिलाउन सकेको छैन । यस्तै, सर्लाही र धनुषाका एक-एक निर्वाचन क्षेत्रको विवाद समेत शीर्ष नेताहरुकै तहमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *