बजारमा चलेको धर्मनिरपेक्षको हल्ला र यथार्थ
अहिले बजारमा धर्मनिरपेक्ष कि धर्मसापेक्ष भन्ने हल्ला छ । गुदी कुरा छोडेर बोक्रे विचारमा बहस चलेको छ । नेपालको हालको धर्मनिरपेक्ष सम्बन्ध १९ औँ शताब्दीमा युरोपले गरेको धर्मको विश्वव्यापी परिभाषासँग सम्बन्धित छ । यसैलाई बजारमा धर्मको सही परिभाषा भनेर मानिसका दिमागमा गोबर भरिएको छ । २०० सय वर्षको इतिहासका परम्परामा यो ठिक देखिएला तर हाम्रोजस्तो ४००० वर्षको धर्मको इतिहास भएको सभ्यतामा धर्मको यो परिभाषा गलत सावित हुन्छ ।
धर्मले संस्कार बनाउँछ । संस्कारले संस्कृति निर्माण गर्छ । त्यही संस्कृतिले सभ्यता बनाउँछ । त्यस सभ्यतामा राष्ट्र र राष्ट्रियता अडिएको हुन्छ । तसर्थ राष्ट्र र राष्ट्रियता भन्नेबित्तिकै धर्म‚ संस्कृतिसँगै जोडिएर आएको हुन्छ । धर्म संस्कृति र राष्ट्र राष्ट्रियता भनेको छुट्याउन सकिने वस्तु होइनन् । धर्मले निर्माण गरेका संस्कृतिमा अडिएको देशमा झगडा रोप्नु छ भने धर्म र संस्कृतिलाई छुट्याएर धर्मको बहिस्कार गरिदिए पुग्छ । जुन खेल नेपालमा २ दशकदेखि जनताको दिमागमा गोबर भर्न काफी छ ।
मानिसको उद्देश्य भनेको मोक्ष हो । मानिसको सञ्चालन सातवटा तत्वले गरेको हुन्छ । ठुलोबाट सानो‚ अति सानोतिर यसको गति हुन्छ ।
वास्तवमा हिन्दु, मुस्लिम, इसाई, बौद्ध, जैन आदि धर्म होइनन् । पन्थ वा सम्प्रदाय हुन् । त्यसैले सम्प्रदाय निरपेक्ष भनेको धर्मनिरपेक्ष होइन । चार पाँच हजार वर्ष पुरानो धर्मको परिभाषा हेर्दा धर्म बुझ्न धर्मका आधारभूत तत्वबारे बुझ्नुपर्छ । जसरी फन्डामेन्टल इलिमेन्ट्स अफ इकोनोमिक्स वा फन्डामेन्टल इलिमेन्ट्स अफ फिजिक्स वा केमिस्ट्री भने जस्तै फन्डामेन्टल इलिमेन्ट्स अफ धर्म भनेर ती ती फन्डामेन्टल इलिमेन्टस वा आधारभूत तत्व के के हुन् भनेर बुझ्नुपर्छ ।
वैदिक सनातनी परम्परामा धर्मका चारवटा आधारभूत तत्व वा फन्डामेन्टल इलिमेन्टस हुन्छन् । स्वभाव, कर्तव्य, पन्थ वा सम्प्रदाय र साधना पद्धति गरेर धर्मका ४ वटा फन्डामेन्टल इलिमेन्ट्स हुन्छन् ।
१. स्वभाव– आगाको धर्म तातो र माथितिर बग्ने, पानीको धर्म भिजाउने र तलतिर बग्ने, हावाको धर्म बल प्रयोग गरेर वस्तुलाई चलायमान बनाउने र तिर्यक वा बाङ्गो दिशामा बग्ने हो । धर्मका यी तत्वलाई कुनै पनि विज्ञानले नकार्न सक्दैन किनभने यो विज्ञान हो ।
२. कर्तव्य– जीवन निर्वाहमा गरिने कार्य, धर्मको तत्वलाई प्रेमका नामले पनि चिनिन्छ तर प्रेम कर्तव्यमा समाहित भएको हुन्छ । प्रेम भनेको इलुइलु होइन । यो त जीवन तरङ्ग हो । प्रेम कर्तव्यमा समाहित भएपछि मानिसको रगत‚ डिएनए र दिमागमा तरङ्गित अवस्थामा रहन्छ । यो आधुनिक विज्ञानले भनेको गुरुत्वाकर्षण शक्ति, म्यागनेटिक शक्ति, कमजोर शक्ति अर्थात विक फोर्स र अटल शक्ति वा स्ट्रोङ फोर्सको एकीकृत शक्ति वा थियरी अफ युनिफाइड फोर्स हो ।
३. पन्थ वा सम्प्रदाय– हिन्दु, मुस्लिम, इसाई, बौद्ध, जैन, शिख, यहुदी बहाई धर्मरुपी वृक्षका सम्प्रदाय हुन् ।
४. साधना पद्धति– आराधना विधि, योग, प्राणायाम, समाधि आदि तत्व धर्मका आत्मासँग सम्बन्धित तत्त्व हुन् ।
मानिसको उद्देश्य भनेको मोक्ष हो । मानिसको सञ्चालन सातवटा तत्वले गरेको हुन्छ । ठुलोबाट सानो‚ अति सानोतिर यसको गति हुन्छ । जस्तै शरीर, इन्द्रिय, मन, बुद्धि, अहम्, आत्मा र परमात्मा । शरीर ठुलो हुन्छ‚ त्यसलाई सानो एकाई इन्द्रियले परिचालन गरेको हुन्छ । इन्द्रियलाई त्योभन्दा सानो मनले र मनलाई बुद्धिले सञ्चालन गरेको हुन्छ । बुद्धिभन्दा माथि अति सानो अहम् हुन्छ‚ त्यस अहमलाई आत्माले परिचालन गर्छ र आत्मा परमात्मासँग विभु रुपमा जोडिएको हुन्छ । धर्मविज्ञानका अनुसार हामी सबैको आत्मा तत्व एउटै हो‚ जो परमात्मासँग सम्बन्ध राख्दछ । बाँकी ५ तत्व प्रत्येक मानिसमा फरक फरक हुन्छन् ।
यीमध्ये पाश्चात्य रिलिजन शब्दले सम्प्रदायलाई मात्र धर्म बुझाउँछ । क्रिस्चियन परम्परामा धर्म भनेको १, पिता परमेश्वरमा विश्वास २, येसुको दोस्रो आगमन र ३, न्यायका दिन विश्वासीहरूको उद्धार हो । इस्लाममा पनि पैगम्बरमा विश्वास नै धर्म हो । यहुदीहरूमा यहोवाको प्रार्थना नै धर्म हो ।
धर्मनिरपेक्षको वकालत गर्नेहरूले सेकुलर, धर्मनिरपेक्ष र पन्थनिरपेक्ष शब्दको अर्थ बुझ्ने प्रयास गरे राम्रो । हामीकहाँ धर्मनिरपेक्ष शब्दको गलत व्याख्या भएको छ । धर्मनिरपेक्ष र सेकुलर फरक अर्थका शब्द हुन् । सेकुलर भनेको सेक्युल गर्नु वा छुट्याउनु हो‚ अर्थात् धर्म र राज्यको अधिकार छुट्याउनु हो । निरपेक्ष शब्दको अर्थ अपेक्षा नगरिएको इच्छाविपरीतको भन्ने हो । धर्म निरपेक्षभन्दा धर्मको इच्छा विपरीतको भन्ने अर्थ लाग्छ । सेकुलर भन्यो भने धर्म र संसद् फरक शक्ति हुन् भन्ने बुझिन्छ । धर्मनिरपेक्ष र सेकुलर उस्तै शब्द होइनन् ।
धर्मका अनुयायीहरूका लागि सम्प्रदाय र परिवेशअनुसार बुझाइ फरक हुन्छ र कुनै अवस्थामा विरोधाभासपूर्ण पनि । धर्म र सम्प्रदाय पर्यायवाची धारणा होइनन् । सेकुलर भनेको धर्मनिरपेक्ष होइन । धर्मनिरपेक्ष भनियो भने राज्य धर्मसँग असम्बन्धित छ वा राज्यले धर्मको बहिस्कार गरेको भन्ने अर्थ हुन्छ । सेकुलर भन्यो भने राष्ट्रको धर्म हुन्छ तर राज्य सञ्चालनमा धर्मको आड लिइँदैन भन्ने अर्थ लाग्छ । त्यसैले धर्मनिरपेक्ष नभनेर पन्थनिरपेक्ष राज्य भनियो भने राज्यको शासन धार्मिक मान्यताको बन्धनबाट स्वतन्त्र हुनु हो भन्ने बुझाउँछ ।
अहिले नेपालमा धर्मनिरपेक्षका नाममा चलेको हल्ला बुझ्न धर्मनिरपेक्ष भनिएको तर पन्थनिरपेक्ष राज्यको हल्ला वा सेकुलर राजनीतिक अवधारणा बुझ्न राज्य शासनका चार अवस्था बुझ्नुपर्छ ।
ती हुन्- १. धार्मिक राज्य, २. धर्म प्रभावित राज्य, ३. धर्मनिरपेक्ष राज्य र ४. अधार्मिक राज्य । विज्ञानमा जस्तो प्रयोगशालामा मापन गरेर राज्यव्यवस्थाको सूक्ष्म विश्लेषण गर्न सकिँदैन । तर‚ विषयगत आधारमा फरक छुट्याउन सकिन्छ ।
संविधानले राज्यधर्म तोकेको, राष्ट्रप्रमुख नै धर्मको प्रमुख वा धर्मको प्रमुख नै राष्ट्रप्रमुख हुने र शासनमा धर्मको सहभागिता हुने पद्धतिको राज्यलाई धार्मिक राज्य भनिन्छ । धर्मका आधारमा राजनीतिक पार्टी हुने वा शासन व्यवस्थामा धर्मको उपस्थिति भएको राज्य धर्म प्रभावित राज्य हो ।
राज्यशक्ति र धर्मको शक्ति फरक विषय भएकाले शासन पद्धतिमा धर्मको सन्दर्भ नै नजोड्नु सेकुलर राज्य हो र राज्यबाटै धर्म उन्मूलन गर्नु अधार्मिक राज्य हो । यसरी हेर्दा बेलायत, भ्याटिकन सिटी, भुटान, इरान धार्मिक राज्यभित्र पर्छन् ।
भुटान संविधानतः बौद्ध देश हो । इरान धर्मगुरु नै राष्ट्रप्रमुख हुने देश हो । बेलायत राष्ट्रप्रमुख नै राज्यचर्चको सर्वोच्च गभर्नर हुने देश हो । बेलायतमा राज्याभिषेक गर्दा धर्मगुरुले पवित्र झोल (होली वाइन) खुवाएर गराउनुपर्छ । हाउस अफ लर्ड्स अर्थात् माथिल्लो सभामा २६ जना धर्माध्यक्ष (बिसप) चर्चले नियुक्त गर्छ र सबै कानुनी मस्यौदा हाउस अफ लर्ड्सबाट अनुमोदन भएपछि मात्र पास हुन्छन् । २६ जना सांसदले अघोषितरूपमा सारा कुरा नियालिरहेका हुन्छन् तर पनि बेलायत आफूलाई धर्मनिरपेक्ष राज्य भन्छ ।
नेपाल त कम्तीमा ४ वा ५ हजार वर्षदेखि बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक सभ्यताको साझा फूलबारी भनेर चिनिएको देश हो । यहाँ युरोपियनहरूको राष्ट्र र राष्ट्रियताको परिभाषा लागू हुँदैन । जबर्जस्ती लागू गर्न खोजियो भने राष्ट्र विखण्डित हुन्छ । राष्ट्रको युरोपियन परिभाषाले संसारमा देश टुक्र्याएको इतिहास छ ।
जर्ज ज्याकोव होलिओकले बेलायतमा चर्चले सांसद नियुक्ति गर्ने प्रथा हटाउन सन् १८५१ मा पहिलो पटक सेकुलरको अवधारणा ल्याएका हुन् । होलिओक भन्छन्- सेकुलर ईश्वरवाद विज्ञानवादजस्ता अन्य विषयबाट स्वतन्त्र छ । मानिसको शारीरिक, नैतिक र बौद्धिक प्रकृतिको विकासलाई उच्चतम महत्व दिने कानून बनाएर चर्चको हस्तक्षेपबिना राज्य सञ्चालन गर्न मिल्छ र सकिन्छ ।
तर आज १७० वर्षपछि पनि बेलायतमा चर्चले सांसद नियुक्ति गर्ने परिपाटी कायमै छ भने १७० वर्षअघि बेलायतमा सांसदको हैसियत चर्चको एउटा सामान्य पूजारीभन्दा गएगुज्रेको थियो भनेर सहजै बुझ्न सकिन्छ ।
चर्चले सांसद नियुक्त गर्ने देशमा सेकुलर चाहिएला । हामीकहाँ मन्दिरले यति जना पुजारीलाई सांसद नियुक्त गरिएको छ भनेर कहिल्यै भनिएन । अनि किन नेपाललाई सेकुलर राज्य भनिएन ? अङ्ग्रेजीका हजारौँ शब्द नेपालीमा जस्ताको त्यस्तै प्रयोग गर्न हुन्छ भने सेकुलरलाई किन धर्मनिरपेक्ष अनुवाद गर्ने ? सेकुलर नै राखे त विवाद नै समाप्त हुने थियो ।
विगतमा धेरै पटक र धेरै ठाउँमा अङ्ग्रेजी शब्दलाई नेपालीमा अनुवाद गर्दा भ्रम सिर्जना गर्ने काम भएको छ‚ जानीजानी ।
जस्तै भूगोलको अङ्ग्रेजी पर्याय ‘अर्थ्’ होइन । भू जोड गोल अर्थात अर्थ् जोड स्फेयर हो । हाम्रा स्कूलका किताबमा भूगोल चेप्टो थियो‚ १४ औँ शताब्दीमा कपर्निकसले पृथ्वी गोल छ भनेपछि भूगोल गोलो छ भन्न थालिएको भनेर पढाइन्छ । हाम्रा बालबच्चालाई बाइबल अनुसार भूगोललाई चेप्टो थियो रे भनेर पढाउँदा पनि भूगोलमा ९० प्रतिशतभन्दा बढी अङ्क ल्याउँछन् । अङ्ग्रेजीमा भनेपछि भूमण्डल वा भूगोल चेप्टो थियो रे भनेर पत्याउनुपर्ने हामी बिचरा गोरा क्रिस्चियनका दास । थुक्क जीन्दगी । हाम्रै वेद र उपनिषद पढाएको भए भूगोललाई भूचेप्टो भनेर पढ्नुपर्ने थिएन ।
युरोप र अमेरिकाका देशहरू १८ औँ र १९ औँ शताब्दीमा राष्ट्र भएका हुन् । त्योभन्दा पहिले ती देशको भूभाग युरोपियन कम्पनीका पर्गन्ना वा स्टेट थिए । त्यहाँ एकल धर्म, एकल भाषा र क्रिस्चियन संस्कृतिका आधारमा राज्य निर्माण भएका हुन् ।
दक्षिण एसियामा पनि धेरै देशहरू एकल धर्म, एकल भाषा र एकल संस्कृतिका आधारमा निर्माण भएका देश छन् जस्तै पाकिस्तान, बाङ्लादेश आदि ।
नेपाल त कम्तीमा ४ वा ५ हजार वर्षदेखि बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक सभ्यताको साझा फूलबारी भनेर चिनिएको देश हो । यहाँ युरोपियनहरूको राष्ट्र र राष्ट्रियताको परिभाषा लागू हुँदैन । जबर्जस्ती लागू गर्न खोजियो भने राष्ट्र विखण्डित हुन्छ । राष्ट्रको युरोपियन परिभाषाले संसारमा देश टुक्र्याएको इतिहास छ ।
अब निष्कर्षतिर लागौँ ।
सेकुलर – धर्म र राज्य फरक शक्ति हुन् । किनभने नागरिक क्रिश्चियन भएकाले ।
पन्थनिरपेक्ष – धर्म र राज्य फरक शक्ति हुन् । राज्यले कुनै पन्थ वा सम्प्रदायको अपेक्षा गर्दैन । किनभने नागरिक बहुपन्थ वा बहुसम्प्रदायका भएकाले ।
धर्मनिरपेक्ष – धर्म र राज्य फरक शक्ति हुन् भनेर उल्लेख गर्नुपर्दैन किनभने राज्यले धर्मको कुनै अपेक्षा गर्दैन । किनभने नागरिकको धर्ममा विश्वासै नभएकाले ।
युरोप र अमेरिका एकल धर्मका आधारमा निर्माण भएका देश हुन् । र ती देशहरू क्रिश्चियन सेकुलर हुन् । भारत पन्थनिरपेक्ष देश हो ।
भारत बहुधार्मिक देश भएकाले सबै पन्थ वा सम्प्रदायलाई बराबरी मान्यता दिन्छ भन्ने अर्थमा सेकुलरको अनुवाद पन्थनिरपेक्ष गरेर इन्दिरा गान्धीका पालामा १९७७ जनवरी ३ मा ४२ औँ संशोधनबाट भारतको संविधानको प्रस्तावनामा पन्थनिरपेक्ष शब्द थपिएको हो । त्यतिबेला भारतमा धर्मनिरपेक्ष र पन्थनिरपेक्षको विशद चर्चा भएको थियो । नेताले अर्थ लगाउन असफल भएपछि सरकारले भाषिक समिति बनायो । समितिले सेकुलर शब्दको पन्थनिरपेक्ष अनुवाद गरेर संविधानको व्याख्या गर्दा प्रयोग गरिने विधि शब्दावलीमा प्रविष्टि दियो । अनि ४२ औँ संशोधनबाट भारत पन्थनिरपेक्ष देश भएको हो । संविधानत: भारत धर्मनिरपेक्ष देश होइन । नेपाल संविधानत: धर्मनिरपेक्ष देश हो ।
धर्म संस्कृति पूर्खाको देन हो । यसमा जनमत सङ्ग्रह गर्ने कुरा पनि हुँदैन । यी मेरा पिताजी हुन् वा यिनी मेरी माताजी हुन् भनेर जनमत सङ्ग्रह भएको इतिहास अहिलेसम्म कहिँ कतै पनि छैन ।
माओवादी द्वन्द्वलाई अन्तर्राष्ट्रिय समर्थनको अभाव आपराधिक प्रवृत्ति अनि जनताको प्रतिकार धान्न नसकेर बाहिरी खेलाडीले भारतीय मध्यस्थतामा १२ बुँदे समझदारी गराए । यही आधारमा अन्तरिम संविधान निर्माण भयो । कस्तो संविधान बनाउने भन्नेबारे १२ बुँदे सहमतिमा कतै उल्लेख छैन । युरोपियन युनियन सम्बद्ध राष्ट्रहरूले धर्मनिरपेक्षता, गणतन्त्र र पहिचानमा आधारित जातीय राज्यका पक्षमा पैरवी गर्न माओवादीलगायत अन्य कतिपय राजनीतिक शक्तिहरू र आमसञ्चारमाध्यमलाई लगानी गरे । १२ बुँदेले निर्माण गरेको अन्तरिम संविधानकै परिष्कृत रूप हालको संविधान इतिहासलाई गाली गरेर लेखिएको प्रस्तावनामै द्वन्द्व रोपिएको छ ।
नेपालको संविधान २०७२ मा यस्ता झगडाका विषय त कति छन् कति । धमिराले भित्रभित्रै सिध्याउन लागिसकेको छ । धारा ४ को धर्मनिरपेक्ष त सलाइको एउटा काँटीमात्र हो ।
नेपाल धर्मनिरपेक्ष देश हुनै सक्दैन । जबर्जस्ती लेखिएको यो शब्दावलीले राष्ट्र र राष्ट्रियताको एउटा खुट्टा काटिएको छ । नेपालमा राष्ट्र‚ राष्ट्रियता र धर्म संस्कृति अभिन्न अङ्ग हुन् । जसरी फूल र रङ्गलाई छुट्यायो भने फूलको अस्तित्व समाप्त हुन्छ‚ त्यसरी नै धर्म‚ संस्कृति र राष्ट्र राष्ट्रियतालाई छुट्यायो भने देश विदेशीको गुलाम बन्छ ।
प्राकृतिक र सांस्कृतिक हिसाबले नेपाल यस भूभागका सबै धर्म समेट्ने सनातन धर्म सापेक्ष वा वैदिक सनातन धर्म सापेक्ष राज्य हुनुपर्छ । अन्य यो वा त्यो अर्थात् यसो भनिएको भन्ने अर्थ न बर्थका शब्द संविधानमा लेख्नै हुँदैन । धर्म संस्कृति पूर्खाको देन हो । यसमा जनमत सङ्ग्रह गर्ने कुरा पनि हुँदैन । यी मेरा पिताजी हुन् वा यिनी मेरी माताजी हुन् भनेर जनमत सङ्ग्रह भएको इतिहास अहिलेसम्म कहिँ कतै पनि छैन ।
धर्मनीरपेक्ष भनेको नागरिकलाई आफूले इच्छाएको धर्ममा आस्था बिस्वास राख्नको निम्ति राज्य द्वारा प्रदान गरिने
एक उच्च धार्मिक अधिकार हो। धर्मनिरपेक्ष भन्नाले सामान्य रूपमा धार्मिक स्वतन्त्रता भनेर बुझीन्छ,साथै धर्मनीरपेक्ष राष्ट्रमा राज्यले आफ़्ना नागरिकले परापूर्वकाल देखी मानी आएको सम्पूर्ण धर्मलाई सम्मान गर्दछ, धर्मको नाममा राजनीति गर्नु दीने छैन सबै धर्मलाई बराबरी प्रथामिकता दिनेछ। धार्मिक बीभेदको अन्तको लागी धार्मिक हिंसा युद्द नहोस सबै नागरिक लाई धर्मको मामलामा स्वनिर्णय गर्न सकून भन्ने हेतूले नै धर्मनिरपेक्ष रास्ट्र बनाईएको हून्छ।बिस्वमा हाल सम्म ९६ ओटा मूलकमा धर्मनीरपेक्ष राष्ट्र छन नेपालमा पनी २०७२ को संबिधानमा नै स्प्रस्ट उल्लेख गरीएको छ की नेपाल सेकूलर राज्य हो भनेर।
नेपालमा विभिन्न अभीप्राय बाट परिचालित के ही बेक़्तिहरू फेरी धर्मको नाममा हिंसा भडकाएर आफनो स्वार्थ पूरा गर्न खोजी रहेकाछन।बहुल धर्ममा आस्था राख्ने नागरिक रहेको, बहुल धर्मको प्रामाणिक इतिहास रहेको, मुलुकमा एकलधर्मको माग़ गरेर बितन्डा देखाऊनू नागरिकको धार्मिक स्वतन्त्रता माथी कुठाराघात गर्नु हो। बहुल धर्ममा आस्था राख्ने मानीस रहेको मूलकमा सबै भन्दा उत्तम विकल्प भनेको धर्मनीरपेक्ष नै हो र यसको बिकल्प खोज्नू त के सोच्न पनी सकिन्न।
धर्मनीरपेक्ष भनेको
– हिन्दू धर्म मास्नु होईन
– इशाइकरण गर्नु भन्ने पनी होईन
– मन नपरेको धर्मको विरोध गर्नु भन्ने पनी होईन
– बौद्द धर्म को मात्र प्रचार गर्नु पनी होईन
नागरिंक ले आस्था राखेको सबै धर्म बराबर हुन धर्मको नाममा राज्यले नियम क़ानूनले भेदभाव गर्ने छैन सम्पूर्ण धर्मलाई राज्यले एक नजरले हेर्नू नै धर्मनीरपेक्ष हो यही बूझौ बुझाऊ धर्म व्यापारीको व्यापार टाट पाल्टाइ दीऊ
धर्म बहु भाषा बहु जात बहु संस्कृत बहु पहिचान बहु विविधता धार्मिक सहिष्णुता सामाजिक सद्भाव भएको हाम्रो जस्तो देशमा देश र धर्म को रक्षा सबैले गर्नु पर्छ तर एकल धर्म र एकल जातको राजनीति गर्ने कुचेष्टा कसैले नगर्दा राम्रो।