जयसिंह नदीमा खसेकोबारे के भन्छन् प्रत्यक्षदर्शी र जनप्रतिनिधि ?

धनगढी । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ मा पर्ने मालघाटमा तुइन तर्ने क्रममा सोही ठाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भए । गएको शुक्रबार उनी भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउन महाकाली पार गर्न तुइन तर्दै थिए ।

नेपालबाट पारि भारत हुँदै सदरमुकाम खलङ्गा जाने तयारीमा थिए । तर‚ भारतको जमिनमा पाइला टेक्न नपाउँदै उनी नदीमा खसे । तुइनमा तर्दै गर्दा पारितिर भारतीय सुरक्षाबल (एसएसबी)ले तुइन खोलिदिँदा नदीमा खसेको भन्ने स्थानीयबासिन्दाको दाबी छ । स्थानीय प्रशासनले भने यसको आधिकारिक पुष्टि नभएको बताउँदै आएको छ । घटनाबारे चौतर्फी विरोध पनि भइरहेको छ । अधिकांशले एसएसबीले नै तुइन खोलिदिँदा जयसिंह नदीमा खसेको र भारतीय एसएसबीलाई कारबाही गर्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका छन् । एसएसबीलाई कारबाही गर्नुपर्ने मागसहित विरोध प्रदर्शन पनि भइरहेका छन् । भारतीय थानामा उजुरी नै दर्ता गरिएको छ ।

यो पनि : एसएसबीविरुद्ध कारबाहीकाे माग गर्दै भारतीय थानामा जाहेरी

यसबारेमा बयान दिन घटनाका प्रत्यक्षदर्शीहरू भोलि (सोमबार) सदरमुकाम खलंगा जाँदैछन् । उनीहरू नेपालकै बाटो भएर जान लागेका हुन् । उताबाट जान सकिने अवस्था नभएको र एसएसबीको पनि डर भएकाले नेपालकै बाटो भएर जान लागेको प्रत्यक्षदर्शी कल्याणसिंह धामीले जानकारी दिए । आज बिहानै घरबाट हिँड्ने र बेलुकासम्ममा सदरमुकाम खलंगा पुग्ने आशा राखिएको उनले जानकारी दिए ।

घटनाका बारेमा स्थानीय बासिन्दा, प्रहरी र प्रशासनबाट दुईथरी कुराहरू आइरहँदा हामीले प्रत्यक्षदर्शी तथा जयसिंहलाई तुइन तार्न लागेका कल्याणसिंह धामीसँग घटनाबारे बुझ्ने प्रयास गरेका छौँ । २१ वर्षदेखि सोही ठाउँमा तुइन तार्ने काममा लागेका उनी शुक्रबार जयसिंहलाई तार्दै थिए । अहिलेसम्म सबैलाई नदी पार गराउन सफल भएका कल्याणसिंहले त्यसदिन भने जयसिंहलाई नदीपारि पुर्‍याउन पाएनन् ।

‘प्रत्यक्षदर्शीको बयान, एसएसबीले नदेखेझैँ गर्‍यो‚ जयसिंहले पारी खुट्टा टेक्नै पाएनन्’
मेरो घरभन्दा १५/२० मिनेटको दुरीमा पर्छ, मालघाट । म २०५८ सालदेखि महाकालीमा तुइनमा मानिसहरुलाई ओसार-पसार गर्दै आएको छु ।

सदाझैँ शुक्रबार पनि तुइन चलाउन जाँदै थिएँ । तर मभन्दा अगाडि मानिसहरू तुइनमा पारि जान आइसकेका थिए । त्यसमा जयसिंह धामी पनि थिए । उनीसहित चार/पाँच जना खलङ्गा जाने तयारीमा थिए । मैले जयसिंहभन्दा अगाडि चार जनालाई नदीपारि भारततर्फ तारिसकेको थिएँ । उनीहरू तरिसकेपछि त्यहाँ रोकिएनन् । अलिक अगाडि गइसकेका थिए । वारितिर पनि जयसिंहसहित तीनजना बाँकी नै थिए ।

याे पनि : ‘एसएसबीले तुइन काटेको पुष्टि भएको छैन’, सुरक्षा निकायको टोली घटनास्थलतर्फ

मैले पाँचौं नम्बरमा जयसिंहलाई पारि तार्दै थिएँ । उनी नदीको बिचमा पुग्दापुग्दै माथिबाट दुईजना एसएसबी देखा परे । एकजना अगाडि थिए भने एकजना अलि केही पछाडि थिए । तुइनको डोरी भारततिरको रुखमा बाँधिएको थियो । अगाडि आएको एसएसबीले रुखमा बाँधेको डोरी निकाल्न थालिहाल्यो । उसले डोरी निकाल्दै गर्दा जयसिंह पारी पुग्नै लागेका थिए । उनी पारी पुग्न एक मिटर पनि बाँकी थिएन होला । त्यतिकैमा एसएसबीले तुइनको डोरी निकालिहाल्यो । एसएसबीले डोरी काट्नुभन्दा पनि रुखमा कसेको डोरी फुकालेको हो ।

डोरी फुकालिसकेपछि यता जयसिंह नदीमा पछारिइहाले । एसएसबीले डोरी निकाल्न खोज्दै गर्दा ‘तुइनमा मान्छे छ‚ एकैछिन रोकौं भनेर हामीले वारिबाट डाको पनि हाल्यौं । नदीले गर्दा आवाज नसुनिएला भनेर तुइनमा मान्छे छ भनेर हातले पनि इशारा गरेकै हो । उसले आवाज सुन्यो वा सुनेन थाहा भएन । नदीको सुसाहट बढी भएको हुँदा आवाज नसुनेको पनि हुनसक्ला । तर हातको इशाराले पनि तुइनमा मान्छे छ भनेका हौँ । तर एसएसबीले नदेखे, नसुनेझैँ गर्‍यो । डोरी फुकालेरै छोड्यो । डोरी फुकालेपछि डोरीसँगै नदीमा पछारिएका जयसिंह केही सेकेण्डमै नदीमै बिलाए । उनी नदीमा खसेपछि एक/दुई पटक नदीमा उनको टाउको देखिएको हो । हामी वारिपट्टि भयौँ । केही गर्न सकिने स्थिति थिएन । पारि भएको एसएसबी तुइनको डोरी निकालेर पछाडि फर्केर नहेरी गयो ।

भिरालो ठाउँमा महाकालीको भेलमा जयसिंह केहीछिनमै विलीन भए । उनी नदीमा बेपत्ता भएपछि हामी पनि अतालियौँ । के गर्ने, कसो गर्ने भन्ने भेउ पाउन सकेनौं । वारितिर मसहित तीन जना थियौँ । तुइन तरेर पारि जान लाइनमा बसेका विक्रम रङ्कोली र अनिता धामी थिए । उनीहरू पनि यो घटनाका प्रत्यक्षदर्शी हुन् । उनीहरूलाई सोध्दा पनि घटनाका बारेमा यथार्थ बुझ्न सकिन्छ । हामीले आफ्नै आँखाले देखेका हौं कि एसएसबीले डोरी निकालेकै कारण जयसिंह नदीमा पछारिएर बेपत्ता भएका हुन् ।

जयसिंह नदीमा बेपत्ता भएपछि हामी बेहोसमै रन्थनियौँ । पछि अरू मानिसहरू आएपछि केही तलसम्म खोज्यौँ । तर ठूलो महाकालीमा उनी कहाँ बिलाए भेउ नै पाउन सकिएन । पछि प्रहरीलाई खबर भएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका छन् । उनको अवस्था तीन दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन ।

यो पनि : जयसिंह आत्तिएर नदीमा खसेको भारतको दाबी

एसएसबीले डोरी काटेको पुष्टि भएको छैन भन्ने प्रहरी र स्थानीय प्रशासनले पनि हामीहरुलाई सोधिरहेको छ । हामीले जे भयो र जे दख्यौं त्यही भन्दै आएका छौं । सोमबार हामी प्रत्यक्षदर्शीलाई घटनाबारे भन्नका लागि सदरमुकाम खलङ्गा बोलाएको छ । त्यहाँ पनि घटनाबारे सत्यतथ्य भन्नेछौँ । पुल नहुँदा घटना भयो मैले थाहा पाएसम्म दार्चुलामा महाकाली नदीमा सात/आठवटा तुइन छन् । यीमध्ये अहिले नदी बढेकाले सबै सञ्चालनमा छैनन् ।

नदीमा पुल नभएकै कारण मानिसहरू त्यही तुइनबाटै वारिपारी गर्छन् । आफ्नै भूमि नेपाल जान पनि भारतीय भूमि भएर जानुपर्ने स्थिति छ ।

मालघाटमा पनि झोलुंगे पुल बनाउने योजना छ । तर तीन वर्षदेखि जग हालेर त्यसै छोडिएको छ । यदि यहाँ पुल भएको भए जयसिंहले नदीमा बगेर ज्यान गुमाउनुपर्ने थिएन । तुइन तराउँदै गर्दा जयसिंह नदीमा बेपत्ता भइसकेपछि अहिले म पनि तुइन तराउन नदीमा गएको छैन ।

एसएसबीले तुइन तार्न पनि दिँदैन । त्यहाँ पनि हामीले लुकेर नै तुइन लगाइरहेका थियौं । पुल नभएको महाकाली नदीमा तुइन नभई नहुने अवस्था छ । नेपालतर्फको घोडेटो बाटो पनि महाकाली नदीले बगाएको छ । भारतको बाटो हुँदै नेपाल जानुपर्ने बाध्यता छ ।

‘सरकारले जिम्मा लिनुपर्छ’

व्यास गाउँपालिका २ का वडाध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले यसमा भारतीय एसएसबीको सोझै लापरबाही भएको दाबी गरेका छन् । वडाध्यक्ष बुढाथोकीसँग गरिएको कुराकानी उनकै शब्दमा :

तुइनमा रहेको मानिस झरेको छ/छैन भनेर कुनै परवाह नगरेर डोरी निकाल्नु एसएसबीको लापरबाहीमात्र होइन, अपराध हो । यो कुरालाई प्रहरी र स्थानीय प्रशासनले पनि मान्नुपर्छ । एसएसबीले डोरी निकालेको हो भनेर पुष्टि भएको छैन भनेर हुँदैन । जे भएको हो घटनास्थलमा भएका प्रत्यक्षदर्शीले भनिसकेका छन् । प्रत्यक्षदर्शीले भनेको त मान्नुपर्‍यो नि । घटनापछि आएका नेपाल प्रहरी, सशस्त्र प्रहरीले प्रत्यक्षदर्शीसँग सोधपुछ पनि गरिसकेको छ । उनीहरूले भनेको आधारमा पनि स्थानीय प्रशासनले एसएसबीकै कारण जयसिंह बेपत्ता हुनुपरेको हो भन्ने बुझ्नुपर्छ । जयसिंहभन्दा अगाडि पारि तरेकाहरूले उनी एसएसबीकै कारण नदीमा खसेर बेपत्ता भएका हुन् भनेरै भारतको पाङ्लास्थित पुलिस थानामा जाहेरी दिएका छन् ।

उनीहरूले एसएसबीलाई कारबाही गर्नुपर्ने भन्दै त्यहाँ उजुरी दिएका हुन् । उनीहरूलाई पनि एसएसबीले गर्दा नै घटना घटेको हो भन्ने लागेर नै तुरुन्तै पुलिस थानामा जाहेरी दिएका होलान् नि ! सरकारले यो घटनामा गम्भीर हुनुपर्छ । घटनाबारे गहन अध्ययन अनुसन्धान हुनुपर्छ । अब सरकारले घटनाको जिम्मेवारी लिनुपर्छ ।

घटनामा संलग्न एसएसबीलाई कारबाही गराउन संघीय सरकारले कुटनीतिक पहलकदमी गर्नुपर्छ । एसएसबीबाट हरेक समयमा हुने ज्यादती रोक्नेतर्फ पहल गर्नुपर्छ । साथै जयसिंहको परिवारको पालनपोषणको जिम्मा पनि सरकारले लिनुपर्छ । दाइभाइ अलग भइसकेको अवस्थामा जयसिंहका पत्नी र दुई छोराछोरीको पालनपोषण र शिक्षाको व्यवस्था पनि राज्यले गर्नुपर्छ । पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *