महाकाली तुइन प्रकरण : अध्ययनका लागि छानबिन टोली आज दार्चुला पुग्दै
धनगढी । दाचुलाको व्यास गाउँपालिका वडा नम्बर २ मा तुइनबाट महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन टोली आज दार्चुला पुग्दैछ ।
टोली सदरमुकाम खलङ्गा पग्न लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए । नदी पार गर्नेक्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी निकालिदिँदा ३३ वर्षीय धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएपछि त्यसबारे अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो ।
यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि गठन समितिका सदस्य काठमाडौंबाट दार्चुलाका लागि हिँडेपनि सोमबार डडेलधुरा बसेका थिए । समितिका सदस्यसँगको छलफलका लागि एसएसबीले तुइन खोलिदिएको देख्ने तीन जना प्रत्यक्षदर्शीलाई सोमबार नै खलङ्गा ल्याइएको छ ।
अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताइन् । उनका अनुसार तुइन तार्ने कल्याणसिंह धामी, बिक्रम रंकोली र अनिता धामी सोमबार बेलुका जिल्ला सदरमुकाम खलङ्गा पुगिसकेका छन् ।
सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ ।