विमानस्थललाई अझै जमिन अधिग्रहण गर्नुपर्ने

पोखरा । पोखरा विमानस्थललाई साढे ३ सय रोपनी अधिग्रहण गर्नुपर्ने भएको छ । निजी कम्पनीका जहाज ह्यांगर बनाउन र थप संरचना निर्माणका लागि जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो । तत्काल एयरपोर्ट सञ्चालनका लागि अधिग्रहण अनिवार्य नभएपनि निजी जहाजले माग गरे‚ त्यसका लागि जमिन विमानस्थलले नै उपलब्ध गराउनुपर्छ ।

त्यसबाहेक यहाँको चहलपहल बढाउन पनि अन्तर्राष्ट्रिय उडानले मात्रै धान्दैन । निर्माणको काम सकिने बेलासम्म सुरुमा गरिएको जग्गा अधिग्रहणको प्रक्रिया पनि पूरा भएको छैन । अझै २० रोपनीभन्दा बढी जग्गा अधिग्रहण हुन नसकेको आयोजना प्रमुख विनेश मुनन्कर्मी बताउँछन् ।

‘फ्लाइट अपरेसनका लागि चाहिने सबै जग्गा अधिग्रहण भइसकेको छ । २० रोपनी जति बाँकी छ,’ उनले थपे, ‘३ हजार ८ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । ९९ प्रतिशत काम सकिएको छ । बाँकी तीन महिनाभित्र सकिन्छ ।’ उनका अनुसार अझै ३ सय ५० रोपनी जग्गा थप अधिग्रहण गर्नुपर्छ । सरकारले निर्णय भने गरिसकेको छैन ।

थप जग्गा अधिग्रहण गर्न पनि कठिन देखिन्छ । सुरुमा २०३१ सालमा ३ हजार १ सय ६ रोपनी, त्यसपछि ६ सय ९९ र त्यसपछि ४८ रोपनी गरी ३ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिएको हो ।

पोखरा विमानस्थल निर्माणको अवधि १ वर्ष थप गरिएको छ । पूर्व सम्झौताअनुसार गएको जुलाई १० भित्रै काम सकिसक्नुपर्ने हो । तर‚ कोभिड र निरन्तरको लकडाउनले २०२२ को जुलाई १० सम्मका लागि म्याद थप गरिएको हो । ८१ प्रतिशत निर्माणको काम सकिएको छ । बाँकी १९ प्रतिशत पनि अधिकांश उपकरणसँग सम्बन्धित छ भने भित्री सजावटमा बढी काम थाँती राखिएको छ ।

चीनको एक्जिम बैंकको सस्तो ब्याजदरको ऋण सहयोगमा चीनकै सिएएमसी कम्पनीले विमानस्थल निर्माण गरेको हो । एयरपोर्ट बनाउन २२ अर्बभन्दा बढी लाग्ने स्टिमेट छ । ४ महिनाभित्र आवश्यक सबैखाले उपकरण ल्याएर जडान गरिसक्ने उनले बताए । ईपीसी मोडलमा निर्माण भएकाले समय बढेपनि लागत भने थपिँदैन ।

विमानस्थल निर्माण उत्तरार्द्धमा पुगेपनि आन्तरिक तयारी भने गरिएको छैन । फास्ट ट्र्याक निर्माण हुन सकेको छैन भने पोखरा ल्यान्डफिल साईट विस्थापन गर्नुपर्ने अनिवार्य शर्त छ । त्यसमा सरोकारवालाको ध्यान पुगेको छैन । २०७३ वैशाख १ गते विमानस्थल शिलान्यास भएको थियो । आन्तरिक समस्याका कारण डेढ वर्षपछि मात्रै निर्माणको काम सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *