दार्चुला घटनाका प्रत्यक्षदर्शीलाई प्रहरीको सुरक्षा
धनगढी । दार्चुलाको व्यास गाउँपालिका- २ मालघाटमा भएको तुइन घटनाका प्रत्यक्षदर्शीलाई सोमबार नै जिल्ला सदरमुकाम खलङ्गा बोलाइएको छ । घटनाका प्रत्यक्षदर्शी भनिएका तुइन तार्ने व्यक्ति कल्याणसिंह धामी, विक्रम रंकोली र अनिता धामीलाई सोमबार बेलुका खलङ्गा पुगेका हुन् ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको छानबिन समितिको टोली दार्चुला आउने भएपछि सोधपुछका लागि उनीहरूलाई सदरमुकाम बोलाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर भट्टले जानकारी दिए । प्रत्यक्षदर्शीसँग मंगलबार (आज)नै सोधपुछ गर्ने/नगर्ने विषय अनुसन्धान टोलीकै जिम्मामा रहेको उनले बताए । ‘यसबारे हामीलाई थाहा हुँदैन’ उनले भने ।
तीनै जना प्रत्यक्षदर्शीहरूलाई प्रहरीले सुरक्षा गरिरहेको छ । प्रत्यक्षदर्शी तीनै जना सोमबार राति करिब पौने आठ बजेसम्म जिल्ला प्रहरी कार्यालयभित्रै रहेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुसँग केही सोधपुछ गरेको बताइएको छ ।
व्यास गाउँपालिका- २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकी र वडा नम्बर ३ का वडाध्यक्ष उपेन्द्र सिंह धामीले आफूहरूको रोहबरमा उनीहरुलाई जिप्रकाबाट बाहिर ल्याएका थिए । उनीहरुलाई बाहिर होटलमा बस्ने व्यवस्था गरेपनि सुरक्षाका लागि उनीहरूसँगै प्रहरी पनि खटाइएको छ । उनीहरू अहिले पनि होटलमै बसेका छन् ।
छानबिन टोली पुगेपछि अनुसन्धानमा सहयोग गर्न सोधपुछका लागि बोलाइनेछ । ‘छानबिन टोली ११ बजेसम्म पुग्ने भनिएको थियो,’ व्यास गाउँपालिका- २ का वडाध्यक्ष धिरेन्द्रसिंह धामीले भने, ‘अहिलेसम्म पुग्नुभएको छैन । हामी कुरिरहेका छौँ । टोली आएपछि प्रत्यक्षदर्शीसँग बसेर टोलीले सोधपुछ गर्नेछ ।’