पार्टीको वैधानिकताबारे आयोगसँग छलफल गर्ने देउवाको आश्वासन

काठमाडौँ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन नगर्दा उत्पन्न हुने परिस्थितिबारे निर्वाचन आयोगसँग छलफल गर्ने बताएका छन् । उनले शुक्रबार साँझ १४ औँ महाधिवेशन गर्ने सुनिश्चितता गर्न माग गर्दै बालुवाटार पुगेका युवा नेताहरुसँग यस्तो बताएका हुन् ।

‘म सबै साथीहरुसँग सल्लाह गरेरमात्रै निर्णय लिन्छु । केन्द्रीय समितिको बैठक पनि बोलाएको छु । त्योभन्दा अगाडि नै निर्वाचन आयोगसँग पनि तुरुन्तै छलफल गर्छु,’ देउवाले भनेको उदृत गर्दै एक नेताले भने । देउवाले कोभिड-१९ को महामारी समेत झन् झन् बढिरहेको अवस्था रहेकाले सबै कुरालाई ध्यान राख्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताएका थिए ।

भेटमा नेताहरुले पार्टी महाधिवेशन टार्ने उदेश्यले विभिन्न अफवाहहरु फैलिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् । ‘मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक इतिहास बोकेको पार्टीले बेलामा महाधिवेशन नगर्ने कुरा उपयुक्त होइन । पार्टीको विधान र संविधानले दिएको सुविधासमेत उपयोग भइसकेको छ, अब महाधिवेशनलाई सुनिश्चित गर्नुहोला,’ युवा नेताहरुले देउवालाई आग्रह गरेका थिए ।

देउवालाई भेटेर औपचारिक बधाईसहित महाधिवेशनबारे ध्यानाकर्षण गराउन केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त र सरिता प्रसाई बालुवाटार पुगेका थिए । नेताहरबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

भेटमा युवा नेताहरुले चार पटक प्रधानमन्त्री हुँदाको अनुभवलाई आधार मानेर सच्चिएर अघि बढ्ने मौकाको सदुपयोग गर्न सुझाव दिएका छन् । ‘तपाई चार पटक प्रधानमन्त्री भइसक्नुभएको व्यक्ति हो । सबै कुरा थाहै छ । त्यसैले यो अवसरलाई उपयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ,’ देउवालाई भनेको सुनाउदै एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *