नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल पोखरामा
पोखरा । पोखरामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । दुईवर्ष अघि साउथ एसियन गेम अन्तर्गत महिला फुटबल प्रतियोगिता भएको पोखरा रंगशालामा अगष्ट अन्तिम साता महिला मैत्रीपूर्ण खेल हुन लागेको हो ।
त्यसपछि पुरुषको खेल समेत हुने राखेप बोर्ड सदस्य राजेश गुरुङले जानकारी दिए । खेलको मिति नजिकिँदै जाँदा पोखरालाई भने संरचना निर्माणको चटारो थपिएको छ । रंगशालाको मर्मत र नयाँ संरचना निर्माणलाई तीब्रता दिईएको गुरुङको भनाई छ ।
‘१०-१२ दिनमा काम सकिन्छ होला । खेलको ट्वाक्कै मिति आएको छैन । हामी तयार छौं,’ उनले भने, ‘निर्माण कम्पनीसँग कुरा भएको छ । सहजीकरणका लागि राखेप तयार छ ।’ राष्ट्रिय खेलकुद परिषदले मैदानको अवस्थाबारे जाँच गरेर फर्किएको छ । प्यारापीट निर्माण र आवश्यक संरचना दुई साताभित्रै थपिसक्ने गुरुङले सुनाए । चेन्जिङ रुम र प्लेयर बक्स पहिलो शर्त छ, यहाँ खेल हुन । रंगशाला निर्माणको म्याद अक्टुवरसम्म छ ।
तर ठेकेदार कम्पनीले खेललाई मध्येनजर गरेर पहिले नै रंगशाला निर्माण सक्ने घोषणा गरेको छ । ‘पोखरामा अन्तराष्ट्रिय खेल हुने कुरा गौरवपूर्ण छ । म पनि पोखरेली भएकोले त्यो अवसर गुमाउनु हुँदैन भन्ने लागेको छ,’ ईन्जिनियर दीपक बरालले भने, ‘छिटो काम सकेर हस्तान्तरण गर्छौं । म्याद कुरेर बस्दैनौं ।’
नेपालको राष्ट्रिय फुटबल टोली प्रशिक्षणका लागि यही हप्ता पोखरा आउने छन् । निर्माणको अन्तिम चरणमा रहेको फुटबल मैदानको काम १० प्रतिशत बाँकी छ । समयमा काम सकिए आगामी साफ अन्तर्गतका लिग चरणको खेल समेत पोखरामा खेलाउन सकिने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।