महिनावारीमा ‘म’
बिहानको घाम अनुहारमै परेछ । आँखा खुल्दा तिर्मिर भइरहेको । शरीर पसिनाले छपक्कै भिजेको । सुतिसुती सिरानी र ओछ्यानमा यताउता छामेँ । मोबाईल भेटिएन । मनले भन्यो- शायद चार्जमै छोडेछु ।
ओछ्यानबाट उठ्ने कोसिस गरे । हातगोडा फतक्क गलेका । चल्नै मानेनन् । कम्मरसम्म उठाउने कोसिस गरेँ, सकिनँ । बोधो न बोधो भएको शरीर फेरि ओछ्यानमै ढलिरह्यो, सुकेको मुढोजस्तै । सोचेँ- ब्लडप्रेसर धेरै घटेछ शायद !
शरीरको तल्लो भागमा चिसो अनुभव भयो । ला ! म त रगतको आहालमा पो डुबेछु ।
एकखालको गन्ध आयो ।
नाक, मस्तिष्क र शरीर बिस्तारै सक्रिय हुँदै गएपछि याद आयो, ओहो ! म त अस्ति पो ‘पर सरेकी’ त ! सम्झिएँ‚ अस्ति साँझ मेरो महिनावारी भएको । एक ग्लास तातोपानीमा एउटा मेफ्टाल खाएर सुतेकी थिएँ, पेटमा सलले हट ब्याग बाँधेकी थिएँ ।
आँखा खोल्दा बिहानको त्यस्तै ११ बजेको हुँदो हो । सम्झँदै गएँ- अहो ! म त झन्डै ३६ घन्टापछि पो बल्ल ब्युँझिएकी रहेछु । यति लामो समय म निदाएको निदायै भएछु । लामो समय म बेहोस भएछु शायद । मेरो बेहोसीपनको साक्षी कोठाका केही लामखुट्टे र साङ्लाहरू बसे क्यार !
फेरि पिसाबले च्यापेर तल्लो पेट झन् मर्नेगरी दुखेको थाहा पाएँ । यही होला लड्नुमाथि थिच्नु भनेको । दुई हात ओछ्यानमा टेकाएर बेस्सरी बल लगाएँ । तर अहँ शरीर डेग चलेन । फेरि कोसिस गरेँ‚ तेस्रोपटक बल्ल उठ्न सकेँ । खाटमा खुट्टा खसालेर एकछिन बसेँ । भनन्न रिँगटा चल्यो । पूरै कोठा आँखा अगाडि फनफनी घुमिरहेको छ । चिसै भएपनि एक ग्लास पानी त पिउनुपर्यो । तर पानीको जारसम्म पुग्नै कठिन । भुईँमा थचक्कै बसेर घिस्रिँदै जारसम्म पुगेँ र घटघटी पानी पिएँ ।
म मेरो महिनावारीका बेला प्रायः मेरी आमा र अरु पनि आमाहरुलाई सम्झन्छु । मलाई दुखेको जस्तै असह्य हुनेगरी महिनावारीका बेला पीडा भोग्ने आमाहरूले त्यो समय कसरी कटाए होलान् !
झल्याँस्स आमा सम्झिएँ । दिनमा अनिवार्य दुई पटक फोन गर्ने आमाले कति पटक फोन गरिन् होला ?
मोबाइल राखेको ठाउँमा पुगेँ र हेरेँ ४३ मिस्ड कल । ४२ ओटा आमाको एउटा चाहिँ साथीको ।
कल ब्याक गरेँ । फोनमा अरु केही सुनिएन आमाले डाँको छोडेर रोएकोबाहेक । उताबाट आवाज आउने कुरै भएन‚ आफैँ भनेँ, ‘आमा मिन्स भएको थियो‚ म त बेहोस पो भएछु ।’
आमा घुक्क घुक्क गर्दै बल्ल बल्ल बोलिन् ‘धन्न फोन गरिस् । म काठमाडौँ आउनै आँटेकी थिएँ । तेरो घरबेटीको नम्बर मलाई दे ।’
एकैछिनमा कल गरिहाल्छु है भनेर फोन काटेँ । यसो हेर्छु त कोठामा म घिस्रिएको ठाउँजति सबैतिर रगत लत्पतिएको । अब शौचालय जानुपर्नेछ । तर शौचालय तल्लो तल्लामा मात्र छ । सिँढी चढेर ट्वाइलेट जानु मेरा लागि जडिबुटीको जाम काटेर कार्यालय जानुभन्दा १० गुणा बढी गाह्रो काम हो । भित्ता समाउँदै शौचालय पुगेँ ।
आफैँलाई सिकसिक लाग्ने अवस्थामा थिएँ । लुगा फेर्न हतार भइरहेको थियो ।
यो अवस्थाबाट म हरेक महिना गुज्रिरहेकी हुन्छु । आफैँ कमाउनु, पढ्नु, अझ घर खर्च पनि उठाउनुले आत्मसन्तुष्टि दिन्छ । तर घर छोडेर ‘एक्लै बाँच्नु’को सर्वाधिक ठूलो दुःख महिनावारीले हरेकपटक मलाई सम्झाइदिन्छ ।
१३ वर्षमा पहिलोपटक मेरो महिनावारी भएको । मैले छिमेकी दिदीहरू पहिलोपटक महिनावारी हुँदा रोएको देखेकी थिएँ । त्यसैले होला पहिलोपटक महिनावारी हुँदा रुनैपर्ने चलन रहेछ जस्तो लाग्थ्यो । असह्य पीडाले रुनैपर्ने अवस्था आयो । भारी रक्तश्राव र असह्य दुखाइले औषधि नै लिनुपर्यो ।
महिनावारीको कुरा सम्झँदा एउटा कुराले भने आफूलाई संसारकै भाग्यमानी छोरी हुँ भन्ने लाग्छ ।
म महिनावारी हुँदासम्म पनि पहिलोपटक महिनावारी भएका छोरीहरूलाई अलग्गै कोठामा राखेर केटा मान्छेलाई हेर्न नदिने चलन थियो । मेरो बुबा धर्मकर्ममा अत्यन्तै विश्वास गर्ने व्यक्ति भएर पनि मलाई पहिलोपटक महिनावारी भएका बेला बेग्लै कोठामा बस्नुपर्ने, कसैलाई हेर्न नहुनेजस्ता ‘जड’ र ‘रुढ’ मान्यताको शिकार हुन परेन । पहिलोपटक महिनावारीको बेलामा नै बुबाले मलाई तातोपानी तताएर खुवाउने, खुट्टा मसाज गर्दिनेजस्ता काम गरेर मेरो हेरचाह गर्नुभयो ।
मैले सधैँ प्रयोग गर्ने ओछ्यान नै प्रयोग गर्न पाएँ । ४ दिनसम्म दुखाइले घरमा आराम गरेपछि पाँचौं दिनबाट विद्यालय पनि गएँ ।
मेरो बुबाले कुरिति र कुसंस्कारलाई कहिल्यै नमान्नुभएको देख्दा मैले धार्मिक हुनु, आध्यात्मिक हुनु र कुसंस्कारलाई पछ्याउनु फरक कुरा रहेछन् भन्ने बुझेकी हुँ ।
मेरो दाइले पनि प्याड र पेनकिलर किनिदिने काममा समेत सधैँ मलाई सहयोग गर्नुभयो । मैले महिनावारीमा झेल्नुपर्ने विभेद र छोइछिटो व्यहोर्नुपरेन । यो अर्थमा म संसारकै भाग्यमानी छोरी हुँ भन्ने लाग्छ ।
मेरी आमा भने मेरो पहिलो महिनावारीकै बेलामा पनि दुःखी देखिनुभएको थियो । ‘अब हरेक महिना दुःख पाउने भइस् नानी’ उहाँको उत्तर थियो । हुन पनि त्यस्तै भयो‚ घरमा यति राम्रो वातावरण पाएर पनि म प्राकृतिक रुपमा भने निरन्तर पीडामा परिरहेँ । आमाले भनेको जस्तै म हरेक महिनामा लगातार तीन दिन ओछ्यान पर्थेँ, असह्य पीडाका साथ । आमा बुबासँग बसुन्जेल हेरचाह पाएँ ।
मैले महिनावारीकै बेलामा कति पटक सोचेको छु यो पाठेघर निकालेर फालिदिन पाए पनि हुन्थ्यो । अरू सामान्य परिस्थितिमा किन यस्तो सोचेको होला भनेर आफैँसँग रिस उठ्छ । किनभने मलाई थाहा छ- मैले मेरो शरीरमा बोकेको सुन्दर सम्पत्ति हो पाठेघर । जसमा मैले अर्को जीवन पनि हुर्कन पाउनेछु ।
१२ कक्षाको पढाइ सकेपछि म काठमाडौँ आएँ । केही समयपछि दाइ जापान गयो । म शहरमा एक्लै भएँ । त्यसपछि भने महिनाका चार दिन म मरेतुल्य भएर बिताउन बाध्य भएँ । पढाइसँगै कामलाई पनि निरन्तरता दिनुपर्ने अवस्थामा त झनै यो समय कष्टकर हुँदै आएको छ ।
महिनावारी भएका शुरुशुरुका महिनामा आमाले दुखाइ कम हुन्छ कि भनेर थरिथरिका जडिबुटी ल्याएर खुवाउनुभयो । म आमासँगै विभिन्न अस्पतालहरूमा पनि गएँ । तर दुखाइ कम केहीले पनि भएन ।
केही वर्षअघि म फेरि जँचाउन स्त्री रोग विशेषज्ञ डाक्टरकोमा गएँ । बिदा लिएर एक्लै अस्पताल पुगेँ । डाक्टरले अल्ट्रासाउन्ड गर्नुपर्ने बताइन् । अल्ट्रासाउन्ड भयो । डाक्टर मेरो रिपोर्ट देखेर चकित परिन् । अरु केही मेडिकल विद्यार्थीहरू पनि मेरो वरिपरि जम्मा भए । हातमा डायरी र कलम बोकेका उनीहरूले मलाई नै हेरिरहेको जस्तो लाग्यो । यत्तिकैमा चिकित्सक बोलिन् ‘तपाईँको रिपोर्टमा रेयर केस देखियो तर‚ आत्तिनुपर्ने त्यस्तो केही छैन । महिनावारीमा दुखाइ र रक्तश्राव बढी हुने तपाईँको अवस्था प्राकृतिक रुपमै भएको हो । कुनै रोगले होइन ।’
यसको उपचार केही नहुने डाक्टरको कुराले मलाई झन् तनाव थप्यो । अब सधैँ दुखिरहने रहेछ भन्ने पीरले मलाई धेरै लामो समय पिरोलिरह्यो । मैले महिनावारीकै बेलामा कति पटक सोचेको छु यो पाठेघर निकालेर फालिदिन पाए पनि हुन्थ्यो । अरू सामान्य परिस्थितिमा किन यस्तो सोचेको होला भनेर आफैँसँग रिस उठ्छ । किनभने मलाई थाहा छ- मैले मेरो शरीरमा बोकेको सुन्दर सम्पत्ति हो पाठेघर । जसमा मैले अर्को जीवन पनि हुर्कन पाउनेछु । त्यहीबेला घरबाट फोन आएन भने लागिहाल्छ- सबै स्वार्थी छन्‚ मेरो कसैलाई वास्तै छैन । त्यही बेलामा थप हेरचाह र सरसफाइको आवश्यकता पर्छ । तातोपानी, हटब्याग, झोल खानेकुरा दिने हात आवश्यकता पर्छ । त्यहीबेला एक्लो हुनुले सही नसक्नुको विरक्तताले पिरोल्छ । दिमागले एकोहोरो दिक्दारीमात्र ओकल्छ ।
मैले एकपटक आमालाई भनेकी थिएँ, ‘मलाई धेरै गाह्रो हुन्छ । धेरै पेट दुख्छ आमा । मिल्ने भए यो पाठेघर निकालेर फालिदिन्छु म ।’ त्यतिबेला आमाले भन्नुभएको थियो, ‘नानी आज तँ र तेरो दाइले गर्दा हामीलाई कति गर्व महसुस हुन्छ । पाठेघर नभएको भए त्यो सम्भव हुन्थ्यो ?’
त्यसैले अचेल भने म महिनावारीको खपिनसक्नु दुखाइ खपेरै पनि महिनावारी ‘सेलिब्रेट’ गर्ने भएकी छु ।
त्यहिबेलादेखि म आफ्नो सोचलाई सकेसम्म नियन्त्रण गर्ने कोसिसमा हुन्छु । मनमा भने महिनावारीलाई लिएर विद्रोही भावना उजागर भएको छ । घरमा विभेद नभोगेर होला‚ कुनै समयमा महिनावारीको तीन दिन चलिरहेको बेला मन्दिर जान सक्ने अवस्था हुँदा त्यहाँ गएर घण्टा पनि बजाएकी छु । पेन किलरले काम गरेको बेला मन्दिर परिसरमा गएर महिनावारीकै समयमा पनि घण्टौँ बिताएकी छु । किनभने मैले त्यो पनि थाहा पाइसकेकी छु कि सक्ने भएसम्म महिनावारीको बेलामा हामीलाई पोषणसहित सामान्य कसरत पनि आवश्यकता पर्छ । मनलाई शान्त राख्न पनि यो सबै गर्नु जरुरी छ ।
म मेरो महिनावारीका बेला प्रायः मेरी आमा र अरु पनि आमाहरुलाई सम्झन्छु । मलाई दुखेको जस्तै असह्य हुनेगरी महिनावारीका बेला पीडा भोग्ने आमाहरूले त्यो समय कसरी कटाए होलान् ! वा‚ दिदीबहिनीले अहिले कसरी कटाइरहेका होलान् ? म त कम्तिमा शहरमा छु । बिदा लिएर कोठामै बसिरहन सक्छु । पेन किलर खाएर दुखाइ अलि कम गर्न सक्छु । यस्तो दुखाइका बिच आमा‚ दिदीबहिनीहरूले मेलापात, घाँस दाउरा र स्याउलाको भारी, अर्मपर्म कसरी गरे होलान् वा गरिरहेका होलान् ? पोषणयुक्त खाना त परैको कुरा‚ आँत भिज्नेगरी अरुले आम्खोरामा सारिदिएको पानी पिएर धित मारेका काकी र ठूलीआमाको ब्यथा सम्झँदा म भावुक हुन्छु । शारीरिक रुपमा मात्र होइन‚ मानसिक रुपमा पनि विशेष स्याहार सुसार चाहिने बेलामा त्यो नपाइने अवस्था त छँदैछ । अझ त्यो अवधिमा गरिने अछुतको व्यवहारले कति औडाहा थप्छ‚ त्यो त भोग्नेहरुलाई नै थाहा होला ।
यो विभेद खप्न नपरेको सम्झँदा भने म मर्नेगरी पेट दुखेपनि आफूलाई भाग्यमानी ठान्न पुग्छु ।
यस्तो पीडामा त्यस्तो विभेद पनि भोग्नुपरेको भए मेरो मानसिक अवस्था कति कमजोर हुन्थ्यो होला भन्ने भावनाले जित्छ ।
त्यसैले अचेल भने म महिनावारीको खपिनसक्नु दुखाइ खपेरै पनि महिनावारी ‘सेलिब्रेट’ गर्ने भएकी छु ।
कति रामो लेखाइ
मकालु खबरको लेख समाचार एकदम नै उत्कृष्ट सरल अनि बिस्वस्नियतामा अद्ढिक हुन्छ।