बल्लतल्ल पाएको खोपले जन्माएका प्रश्न

काठमाडौँ । पहिलो डोजमा कोभिशिल्ड खोप लगाएका लाखौँ बा-आमा खोपको दोस्रो डोज नपाउँदा दुःखी थिए । गएको फागुन र चैतमा कोभिशिल्डको पहिलो मात्रा लगाएपनि थप मात्रा कोभिशिल्डको खोप नपाउँदा चार महिनापछि मात्र दोस्रो डोज लगाइएको हो ।

त्यो पनि कोभिशिल्डको सट्टा एस्ट्राजेनेका । उस्तै प्रकृतिको भएकाले कोभिशिल्डको दोस्रो डोजका रुपमा एस्ट्राजेनेका लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाउने दिन सधैँजस्तै फोटो खिच्न गएँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको चामुण्डा मावि खोप केन्द्रमा पुग्दा बुढेसकाल लागेका बा-आमाहरू खोप लगाउन पाएकोमा दङ्ग देखिन्थे । कुर्दा कुर्दा बल्ल खोप लगाउन पाएकोमा उनीहरू खुशी थिए । तर पहिलो मात्रा लगाएको धेरै समय भइसकेकाले यो मात्राले मात्र नपुग्ने हो कि भन्ने चिन्ता उनीहरूमा देखिन्थ्यो ।

भाइरसविद्हरूले १२ हप्तासम्म पनि दोस्रो डोज लगाउन नपाए शुरुदेखि नै अर्थात् फेरि २ डोज लगाउनुपर्ने बताएका छन् । अब बल्लबल्ल पाएको खोप फेरि २ डोज लगाउने कुरा त के होला र ?

खोपको फोटो खिच्ने क्रममा मेरो आँखा खोपको बट्टामा पर्‍यो । हेरेँ‚ उपभोगको अन्तिम समय यहि महिनासम्म मात्र रहेको देखेँ । अर्थात् सन् २०२१ को अगस्टसम्ममा उपभोग गरिसक्नुपर्ने रहेछ । त्यहाँ उल्लेख भएअनुसार अझै ३ हप्ता समय त बाँकी रहेछ । तर जापान र भुटानबाट अनुदानमा पाएको यो खोप समयको उपभोग अवधि सकिनै लागेकाले पो अनुदानमा दिएको हो कि भन्ने लाग्यो । हुन त ‘माग्ने’ले यो देऊ वा त्यो देऊ भन्ने हैसियत त राख्दैन नै‚ तैपनि अलि विकिसित र धनी देश भएको भए वा खोप किनेर ल्याउने हैसियत बनाएको भए अवधि सकिनै लागेको खोप पक्कै आउने थिएन होला ।

यस्तो पनि सोचेँ- यदि यो खोप दुर्गम ठाउँतिर पठाइयो वा कुनै कारणले केही हप्ता लगाउन पाइएन भने त खेरै जाने भयो । यसअघि भेरोसेल खोप पनि पालिकाहरूले राखेकै ठाउँमा डेट एक्सपाएर भएर खेर गएको सुनेको थिएँ । बिडम्बना नै हो‚ नागरिकले खोप नपाउने, पहुँचमा भएकाले साँचेर राख्ने र अवधि गुजार्ने ?

सम्झेँ यो खोप भुटानले दिएको ३ लाख र जापानले दिएको १६ लाख डोजमध्येको हो । भुटानले आफ्ना नागरिकका लागि ल्याएको खोप ९० प्रतिशत नागरिकलाई लगाइसकेको छ । शायद यो खोप भुटानबाट पठाइएको चाहिँ परेको हो कि ? मेरो मनले मनलाई नै उत्तर दियो । भुटानले अलि शुरुमै किनेको होला, लगाउँदै जाँदा सबै खोप सकिएन होला र मिति गुज्रनुअघि यता पठाइदिएको होला । यसो नहुन पनि सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *