प्रदेश १

सभामुखलाई झण्डै डेढ करोडको गाडी, संसद सचिवालयमा साढे १२ करोड गाडीमा खर्च

विराटनगर । प्रदेश सभाले तीन वर्षको अवधिमा १८ वटा गाडी खरिद गरेको छ । संघीयताको नयाँ अभ्याससँगै स्थापना भएको प्रदेश सभामा तीन वर्षमा १८ वटा चारपाङ्ग्रे सवारी खरिद भएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसरी खरिद गरिएको सवारीमा एक करोडभन्दा बढी रकमको गाडी पनि खरिद भएको पाइएको छ ।

प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीका लागि दुईवटा गाडी खरिद भएको छ । सबैभन्दा महँगो को १ झ ६६६ नम्बरको गाडी १ करोड ३६ लाख ९० हजारको ईसूजी मक्स गाडी २०७६ असार २१ गते खरिद भएको देखिन्छ । त्यस्तै अर्को प्र १–१–०२–००१ झ ००१० ल नम्बरको गाडी पनि सचिवालयले सभामुखको लागि भनेर ३८ लाख ४६ हजारमा गाडी खरिद भएको हो ।

No description available.

प्रदेश १ का सभामुख तथा सचिवालयका लागि भनेर २०७७ साउन १३ गते खरिद गरिएको गाडी अधिकांश समय सभामुखको घरमा राखिन्छ भने काम पर्दा मात्र सचिवालयलमा ल्याउने गरिएको छ । सभामुख प्रदिपकुमार भण्डारीले गाडी बिग्रिएको बेलामा समस्या भएपछि विकल्पको रुपमा अर्को गाडी प्रयोग गर्ने गरिएको बताए । तर उक्त गाडी संसद सचिवालयमा नै रहने गरेको भण्डारीको दाबी छ ।

संसद सचिवालयले दिएको जानकारीअनुसार २०७५ असार १ गतेदेखि २०७६ असार १६ गतेसम्म ठुलो संख्यामा सवारी साधन खरिद भएको देखिन्छ । त्यसबेला १७ वटा गाडीहरू एकै वर्षको अवधिमा खरिद भएका थिए । एकै वर्षमा सचिवालयले सवारीका लागि भन्दै १२ करोड २४ लाख ८४ हजारभन्दा बढी खर्च गरेको देखिन्छ ।

No description available.

सभामुखका लागि भनेर किनिएको दोस्रो गाडी भने २०७७ सालको असारमा खरिद भएको सचिवालयले जनाएको छ । उक्त गाडीको मूल्यसहित प्रदेश सभा सचिवालयले १८ वटा गाडीलाई १२ करोड ६२ लाख खर्च गरेको छ ।

महेन्द्राको एस-११ स्कोरपियो ७१ लाख २५ हजार दरको १२ वटा खरिद भएको देखिन्छ । यी स्कोरपियोहरू सबै प्रमुख प्रतिपक्षी संसदीय दलका नेता प्रमुख सचेतक, संसदीय समितिका सभापतिहरूलाई दिइएको छ । बा २ झ ३७३७ नम्बरको सोही मोडलको स्कोरपियो ५४ लाख ४२ हजार ४ सय ७७ मा खरिद गरेको देखिन्छ ।

यो गाडी कार्यालय प्रयोजनका लागि भएको सचिवालयले जनाएको छ । त्यस्तै ना.अ.प.जे. २६० नम्बरको गाडी टंक आङ्बुहाङले प्रयोग गर्ने गाडी हो । नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको उपनेताको रुपमा प्रयोग भएको यो गाडी ६६ लाख ८० हजारमा खरिद गरिएको थियो । टंक आङ्बुहाङ मन्त्री भएको ४ महिना पुगिसकेको छ तर‚ उनले सचिवालयलाई गाडी फिर्ता गरेका छैनन् ।

सचिवालयले उपसभामुख सरस्वती पोखरेलका लागि भनेर ५४ लाख ४२ हजार ४ सय ७७ मूल्यको सवारी खरिद गरेको छ । बा २ झ ३७३८ नम्बरको यो गाडी पनि महेन्द्राको एस-११ मोडलको स्कोरपियो नै हो । बा २ झ ३७३६ नम्बरको क्रोटा कार उपसचिव चन्द्रमणि पोखरेलले प्रयोग गर्दै आएका छन् । ५१ लाख २९ हजार २ सय ४ रुपैयाँमा खरिद गरिएको यो कार २०७५ असार १ गते खरिद भएको संसद सचिवालयले जनाएको छ ।

No description available.

प्रदेश सभाको संसद सचिवालयमा पहिलो र दोस्रो वर्षमा धेरै चारपाङ्ग्रे सवारी खरिद भएको छ । २०७७ असार २२ र साउन १३ गते एउटा मोटरसाइकल र एउटा कार खरिद भएको देखिन्छ भने अरु सवारी साधनहरू सबै २०७५ र २०७६ सालमा खरिद भएको संसद सचिवालयले जनाएको छ ।

संसदीय मर्यादाअनुसार संसदीय समितिका सभापति, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रमुख सचेतक, सत्तापक्षका प्रमुख सचेतक र संसदीय दलका उपनेतालाई पनि गाडी उपलब्ध गराउँदा धेरै देखिएको संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले स्वीकार गरे । ‘अनावश्यक खरिद भएको होइन,’ उनले भने, ‘चाहिने सवारी खरिद भएको छ ।’

१८ गाडीलाई ईन्धन पनि तोकिएको छ । ईन्धनमा सभामुखलाई मासिक १५० लिटर ईन्धन दिने भनिएको छ । त्यस्तै उपसभामुखसहितको अन्य १७ वटा सवारीलाई मासिक १२५ लिटर ईन्धन दिँईँदै आएको छ । सभामुखबाहेक मासिक २ हजार १ सय २५ लिटर ईन्धन खर्च हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *