कवि-कुञ्ज : नभत्काई जोगाउन सम्भव थियो ?

काठमाडौँ । मैतिदेवी चोकबाट मैतिदेवी मन्दिर नपुग्दै शास्त्री मार्गको मोड भेटिन्छ । मोड हुँदै केही पाइला हिँडेपछि कवि-कुञ्ज अर्थात् महाकवि लक्ष्मीप्रसाद देवकोटा (विसं १९६६–२०१६) को निवास पुगिन्छ । जहाँ, देवकोटाले टन्नै सिर्जनाका मूल फुटाएका थिए । तर अब त्यो देख्न पाइने छैन । देवकोटाको संग्रहालय बनाउने भनेको सरकारले त्यस्तै अर्को घर बनाउने घोषणा गरेको छ भने यसको काम नेपाल प्रज्ञा प्रतिष्ठानले शुरु गरिसकेको छ । प्रतिष्ठानकै अगुवाइमा नयाँ संग्रहालय बनाउन यो घर भत्काइएको हो ।

वास्तवमा कवि–कुञ्ज आफैँमा संग्रहालय बनिसकेको थियो । त्यो संग्रहालय भत्काएर अर्को संग्रहालय बनाउने सरकारी योजना अचम्मको भन्दै श्रष्टाहरूले आवाज उठाइरहेका छन् । तर, यस्तो लाग्छ- अब यो आवाज उठाउन ढिला भइसक्यो । किनभने कवि-कुञ्ज अब तस्बिरमा मात्रै सीमित रहनेछ ।

कविकुञ्ज भत्काउन शुरु, देवकोटा सङ्ग्रहालय बनाइने (तस्बिरहरू)

एउटा युग थियो, महाकवि भौतिक रुपमै जीवित थिए । ‘कवि–कुञ्ज’ उज्यालो हुन्थ्यो । अनुयायी–शिष्यहरू आउँथे, झुम्मिन्थे अनि फर्कन्थे । आज महाकवि चराचर धर्तीमा सशरीर छैनन्, ‘कवि-कुञ्ज’मा पनि भेटिँदैनन् । अब त ‘कवि-कुञ्ज’ नै पनि एकादेशको कथा बनिसक्यो ।

000

महाकवि देवकोटाको भौतिक शरीर हामीबीचबाट दूर भएको ६ दशक बितिसकेको छ । यसबीचमा परिवारले महाकविको सिर्जना र दस्तावेज संरक्षणार्थ थुप्रै कदम चालेको महाकविका छोरा पद्म देवकोटा बताउँछन् । तर, पारिवारिक समस्या र कानूनी रोकटोकका बीच परिवार अगाडि बढ्न नसकेको उनको भनाइ छ । विभिन्न बुद्धिजीवी तथा अगुवाको नेतृत्वमा देवकोटा बन्धु समाज, कवि-कुञ्ज संरक्षण अभियानलगायतका अभियान चलेपनि सरकारी तवरबाट केही कामहरू भएनन् । त्यसो त विभिन्न मितिमा सरकारी अधिकारीहरूले पनि कुरा नउठाएका होइनन्, तर ती सन्दर्भहरुले मूर्त रुप भने पाएनन् ।

जसअनुसार सरकारले देवकोटा परिवारबाट जग्गा प्राप्ति गरी कवि–कुञ्ज नयाँ बनाउने काम थालेको हो ।

‘बुबाको निधनलगत्तै अनेकौँ साहित्यकार तथा श्रद्धालु व्यक्तिहरुले कवि-कुञ्जको संरक्षण गर्नुपर्छ भन्ने विचार व्यक्त गर्दै आउनुभयो,’ महाकविका छोरा पद्मले मकालुखबरसँग भने, ‘विचार त सबैको थियो नै, तर अघि सरेर सो कार्य सम्पन्न गर्ने भने कोही भएनन् । तर, कसैले केही गर्न सक्ने अवस्था थिएन । बाहिर जोजतिले संग्रहालय बनाउनुपर्छ भन्ने कुरा गर्न ल्याउनुहुन्थ्यो, उहाँहरुबाट पनि केही सहयोग भएन ।’

त्यसो त पद्मकहाँ चन्दा सङ्कलन वा अन्य देशहरुबाट सहयोग मागेरै भएपनि कवि–कुञ्जको संरक्षण गरौँ भन्ने प्रस्तावहरू पनि धेरै आए । तर, ती प्रस्तावहरूमा पद्मले कहिल्यै सहमति जनाएनन् । उनको एउटै अडान हुन्थ्यो, भन्थे- ‘यदि यस देशले महाकविको कृति छाप्ने हो वा सम्पदा जोगाउने हो भने म विदेशी सहायता लिएर काम गर्ने/गराउने पक्षमा छैन । जोगाउनुपर्छ भने नेपालीले जोगाओस्, विदेशीले होइन । विदेशमा कसरी राजनेता, साहित्यकार र अन्य प्रतिभाका सम्पदा ट्रस्टको रुपमा संरक्षण गरिएका हुन्छन् भन्ने मैले पनि देखे/बुझेकै छु ।’

उसो त पद्म आफैँले पनि ट्रस्ट खोल्न हरप्रयत्न गरेको बताउँछन् । तर, नेपालमा ट्रस्ट खोल्ने प्रावधान नै नरहेको जानकारी पाएपछि आफू रोकिनुपरेको उनी सुनाउँछन् । आफूलाई कसैले ‘महाकविको सम्पत्ति थोरै भयो, जसकारण ट्रस्ट खोल्न मिल्दैन’ भनेर भनेपछि पद्मको दिमागमा उब्जिएको प्रश्न अझैसम्म अनुत्तरित छ । पद्म अझै जिज्ञासु बन्छन्‚ ‘नेपालका अन्य ट्रस्ट केका आधारमा खुले भन्ने कुरा मैले कहिल्यै बुझिनँ ।’

यी यावत् सन्दर्भहरू हुँदै आउँदै गर्दा कवि-कुञ्ज २०७२ सालको महाभूकम्पले जीर्ण अवस्थामा पुर्‍याइदियो । यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ कात्तिकमा महाकविको घर सरकारले किन्ने र ‘महाकवि संग्रहालय’ बनाउने घोषणा गरे । प्रधानमन्त्रीको उक्त घोषणाले आफूलाई खुसी लागेको पद्म सुनाउँछन् । त्यो बखत आफू अस्ट्रेलियामा रहेको स्मरण गर्दै पद्मले आफ्नो पुस्तक ‘सम्झनामा बुबा महाकवि देवकोटा’मा लेखेका छन्‚ ‘खुसी पनि लाग्यो, छक्क पनि परेँ । कमसेकम राष्ट्रले गम्भीर रुपमा यस विषयलाई अगाडि बढाउन कम्मर कसेछ भन्ने कुराले खुसी लाग्यो ।’

जसअनुसार सरकारले देवकोटा परिवारबाट जग्गा प्राप्ति गरी कवि–कुञ्ज नयाँ बनाउने काम थालेको हो ।

कवि–कुञ्ज भत्काइँदा रोएको मन

धेरै लेखक तथा साहित्यकारले कवि–कुञ्ज भत्काइएकोप्रति खेद जनाएका छन् । कवि–कुञ्ज भत्काइँदै गरेको तस्बिर सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको छ ।

लेखक तथा साहित्यकारहरु जस्तै पद्म पनि कवि–कुञ्ज भत्काइएकोमा दुखी छन् । आफू हुर्केको घर भत्काइँदा भावुक भएको पद्म बताउँछन् । ‘मलाई पनि नभत्काइदिए हुन्थ्यो भन्ने नै लागेको थियो । प्रतिष्ठानले किनेपछि प्रतिष्ठानकै विशेषज्ञ टोलीले काम गर्ने हो । अब मैले भनेर केही भएन ।’

कतिपयले ‘संरक्षण चेत’ नै नभएको आवाज पनि उठाइरहेका छन् । लेखक नयनराज पाण्डेको मत पनि यही छ । कवि–कुञ्जसँगै एउटा इतिहास भत्किएको पाण्डेको टिप्पणी छ ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले ट्वीटरमा लेखे‚ ‘संरक्षण चेत छैन । पुरानो भत्काएर बनाउनुलाई ‘विकास’ भन्ने ठानेका छन् । महाकविको पुरानो घर नै संरक्षण गरेको भए पो त्यसको महत्त्व रहन्थ्यो । न सोधखोज, न सार्वजनिक सुनुवाइ, ड्याङड्याङ भत्काइसकेछन् । मानिसको सास रहेसम्म बचाउन कोसिस गरिएझैँ बचेखुचेको घर जोगाउन अन्तिम कोसिस गर्नुपर्छ ।’

यस्तै अन्य श्रष्टाहरुले पनि यही मत जाहेर गरिरहेका छन् ।

कवि–कुञ्ज नभत्काई जोगाउन सम्भव थियो ?

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ सम्मानकै लागि संग्रहालय बनाउन लागिएको बताउँछन् । ‘उहाँको सम्मानकै लागि यो गरिएको हो,’ उपकुलपति गुरुङ भन्छन्, ‘अरु जग्गा भेटिएन । सरकारले सम्मानस्वरुप नै यो घर भत्काएर नयाँ घर बनाउन लागेको हो । उही स्वरुपको घर बन्नेछ ।’

प्रतिष्ठानको प्राज्ञ सभा सदस्य तथा सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बु भने यो विषयलाई राजनीतिसँग जोडिएको बताउँछन् । ‘प्रतिष्ठानको अहिलेको नेतृत्वप्रति पूर्वाग्रह राखेर राजनीतिकरण गर्न खोजिएको छ । वास्तविकता बुझनुपर्छ,’ लुमुम्बुले मकालुखबरसँग भने ।

कवि-कुञ्जलाई नभत्काइ प्रबलीकरण गरेर ‘रेक्टोफिटिङ्’ गर्न नमिल्ने अवस्थामा रहेको लुमुम्बुको दाबी छ । भत्काएर अर्को भवन बनाउनुको विकल्प नभएकाले नै प्रतिष्ठानले त्यसैअनुसार काम अघि बढाएको उनको भनाइ छ । ‘कवि–कुञ्ज ०७२ को भूकम्पपछि बस्नै नसकिने अवस्थामा पुगेको थियो,’ लुमुम्बुले भने, ‘हामी सञ्चारमाध्यमका साथमा ०७७ सालको मंसिरतिर अवलोकनमा जाँदा पनि एकदमै नाजुक अवस्था थियो । हामी एकतला माथिसम्म चढेर पनि हेर्यौँ, त्यसबेला हाम्रो कुलपति उभिनुभएको भाग नै भासिन खोज्यो र त्यहाँबाट हामी बिस्तारै निस्कियौँ । भर्‍याङ पनि भाँचिएको थियो । त्यो तलामा दुई तीन जनाबाहेक बस्न सकिने अवस्था थिएन । एकदमै कमजोर भएको थियो । हामीमाथि पनि केही माटो खस्यो । खासमा कवि–कुञ्ज भग्नावशेष हुनुमात्रै बाँकी थियो ।’

पुरातत्वविद्, प्राविधिक, बुद्धिजीवी, सरोकारवाला तथा जनप्रतिनिधिहरुकै उपस्थितिमा पटक पटक अवलोकन गरेको र अन्तमा रेक्टोफिटिङ्ले नहुने निष्कर्ष निस्केको लुमुम्बुको भनाइ छ । संग्रहालय बनाइसकेपछि १/२ सय वर्ष केही नहुनुपर्ने मान्यता हुनुपर्ने उनको भनाइ छ । ‘त्रिपालले छोप्ने अनि परैबाट धूपबत्ती बालेर नमस्कार गरेर फर्किनेभन्दा पनि ४५/५० जनाले एकैचोटी अवलोकन गर्न सक्ने बनाउनुपर्छ भन्ने निष्कर्षसहित उही स्वरुपको नयाँ भवन बनाउने निर्णय भएको हो । पुरातत्वविद् तथा प्राविधिकहरूले सुझाव दिएका आधारमा प्रधानमन्त्रीलाई रिपोर्टिङ् गरेपछि उहाँले स्वीकृति दिएर अहिलेको अवस्थामा आइपुगियो,’ लुमुम्बुले भने ।

कस्तो बन्दैछ त देवकोटा संग्रहालय ?

कवि–कुञ्जलाई भत्काइएपछि अब उही स्वरुपमा ‘देवकोटा सङ्ग्रहालय’ बनाइँदैछ । यसअघि पनि सङ्ग्रहालय बनाउने कुरा पटक-पटक उठेको थियो । तर, यो कुराले गति भने ०७२ सालको भूकम्पपछि मात्रै लियो । देवकोटा परिवारले ०७६ मंसिर २९ गते घर नेपाल सरकारको नाममा पास गरिदिएको थियो ।

सङ्ग्रहालयमा कवि-कुञ्जमा यसअघि रहेकै जस्ता आकारप्रकारका झ्याल-ढोका र काठ प्रयोग हुने प्रतिष्ठानका सदस्य-सचिव जगतप्रसाद उपाध्याय बताउँछन् । ‘यो विषयमा विज्ञहरूले पनि सुझाव दिनुभएको छ । सङ्ग्रहालयको स्वरुप कवि-कुञ्जको भन्दा फरक हुनेछैन ।’
सङ्ग्रहालय निर्माणको लागि प्रतिष्ठानले ७ करोड ११ लाखको ठेक्का दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *