द्वारिकलाल भन्छन्- कोठामा बस्नू भनेको थिएँ‚ थुन्यो भनेर हल्ला फैलाउनुभएछ

विराटनगर । ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन् । मेयर चौधरी एक व्यक्तिले खोला मिचेर घर बनाएको विषयलाई लिएर फेरि विवादमा तानिएका हुन् ।

३ वर्ष पहिला नै ईटहरी उपमहानगरपालिका- ४ का यामप्रसाद ढकालले खोला मिचेर घर बनाएका थिए । उनले बनाएको घर भत्काउन ईटहरी उपमहानगरपालिकाले पटक पटक भन्दै पनि आएको थियो । खोलाको सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै मेयरले छलफलका लागि ढकाललाई कार्यालयमा बोलाएका थिए ।

ईटहरी उपमहानगरपालिकाको कार्यालयमा पुगेका ढकाललाई मेयरले थुनेको आरोप लागेको छ । मेयर चौधरीले आफ्नो कार्यालयमा बोलाएर थुनेको ढकालले बताएका हुन् । कार्यालयमा बोलाएका मेयर चौधरीले कार्यलयमा पुगेपछि घर भत्काउन भनेको तर आफूले नमानेपछि कार्यालयमा थुनेर मेयर भागेको ढकालले आरोप लगाएका छन् ।

यो पनि : ईटहरीका मेयर द्वारिकलालले आफूलाई थुनेको सेवाग्राहीको दाबी

दिउँसो २ बजे बोलाइएका ढकाल कार्यालयमा समयमा नै आएनन् । फोन गरेर जानकारी लिँदा उनी विराटनगर भएको भनिएपछि करिब ३ बजेतिर मेयर चौधरी ईन्जिनियरसहित कार्यालयबाट बाहिर निस्किएको मेयरको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, विभिन्न वडामा भइरहेको विकास निर्माणको निरीक्षणको क्रममा निस्किएलगत्तै बाहिर भेटिएका ढकाललाई कार्यालयमा गएर बस्न भनिएको थियो ।

‘कार्यालयमा लगेर राख्न मेयरले नगर प्रहरीलाई भनेको थियो,’ सचिवालय भन्छ, ‘करिब ४ बजेतिर उनलाई थुनिएको भन्ने खबर हामीलाई नै आयो, भित्र भएको बेला बाहिरबाट कसैले ह्यान्डल लगाइदिएको हुनसक्छ । मेयरले कसरी थुन्न सक्छ र ? ’

छलफलका लागि नगर प्रहरीले ढकाललाई कार्यालयसम्म लगेको बारे जानकारी भएको तर‚ अरुबारेमा धेरै जानकारी नभएको सचिवालयको भनाइ छ ।

अनधिकृत रुपमा खोला मिचेर घर बनाएको र यसबारेमा सोधपुछ गर्न आफूले ढकाललाई बोलाएको ईटहरीका मेयर द्वारिकलाल चौधरीले बताएका छन् । उनका अनुसार तीन वर्षअघि खोला सफा गर्न जाँदा खोलाको जग्गामा ढकालले घर बनाएको भेटिएको थियो ।

त्यहिबेला घर भत्काउनुपर्छ भनेर आएको र यसपाली नगरपालिकासँग स्वीकृत नलिई घर बनाएकाले सोधपुछ गर्न बोलाएको चौधरीले बताए ।

‘ढकाललाई म बाहिर निस्कँदैछु । आएपछि कुरा गरौँला‚ प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नू भनेको थिएँ,’ उनले भने, ‘अहिले थुन्यो भनेर हल्ला गर्नुभएछ ।’ मेयर चौधरीले म बाहिर गएर आँउछु बस्दै गर्नु भनेको हो । मैले थुनेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *