शोभितको चलचित्रमा भुवन अनुबन्धित
काठमाडौँ । शोभित बस्नेतको चलचित्र ‘डाँडाको वरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै चलचित्र छायाङ्कनको तालिकासमेत तय गरेको छ । दोस्रो लकडाउनका कारण चलचित्रको छायाङ्कन अगाडि बढ्न पाएको थिएन ।
अब भने भदौ ५ बाट चलचित्रको रोकिएको छायाङ्कन सुरु हुनेछ । ६० दिनको छायाङ्कन तालिका रहेको चलचित्र काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ ।
चलचित्रमा यसअघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कट्टेल फाइनल भइसकेका थिए ।
भुवन जोडिएसँगै चलचित्रको लाइन अप बलियो बनेको छ । करिब १६ वर्षपछि भुवन र शिवले सँगै काम गर्न लागेका हुन् ।
यी दुई सुपरस्टार पछिल्लो पटक वि.सं. २०६२ सालको चलचित्र ‘राजु राजा राम’मा सँगै देखिएका थिए । ‘राजु राजा राम’का निर्देशक पनि शोभित बस्नेत नै थिए । लामो समयको अन्तरालपछि उनले दुई सुपरस्टारलाई सँगै प्रस्तुत गर्न लागेका हुन् ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी रहनेछ । रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, शिव मुखिया/एलिश कार्कीको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।