सीमा सुरक्षामा सुस्त सरकार‚ गण्डकीमा अझै बनेन बीओपी
पोखरा । चीनसँग सीमा जोडिएका मनाङ, मुस्ताङ र गोरखामा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बनाउने सरकारी घोषणा अझै कार्यान्वयन भएको छैन । गोरखामा २, मनाङ र मुस्ताङमा १-१ वटा बीओपी बनाउने तयारी थियो । हालसम्म मुस्ताङमा मात्रै बनेको छ ।
चीनसँग सिधै व्यापार सम्बन्ध भएको तीनवटा जिल्ला बढी संवेदनशील पनि छ । बर्सेनि दुई देशको सिमानामा व्यापार मेला लाग्छ । चीनले सीमा सुरक्षालाई महत्वका साथ लिएपनि नेपालतर्फ सुरक्षाका गतिविधि खासै भएका छैनन् ।
मुस्ताङमा डेढ वर्षअघि बीओपी स्थापना भएको थियो । सीमाभन्दा १४ किलोमिटर वर नेचुङ भन्सार भएको ठाउँमा अहिले भवन निर्माण भइरहेको छ । ईन्स्पेक्टरको नेतृत्वमा २२ जना सशस्त्र प्रहरी खटाइएको छ । मुस्ताङको लोमान्थाङ ५ थुलुङमा मेजरको नेतृत्वमा ५० जना नेपाली सेनाको टोली पनि छ । त्यसबाहेक नेपाल प्रहरीसमेत खटिएको छ । यद्यपि सीमा सुरक्षाकै लागि पहिलो पटक सशस्त्र खटाइएको हो । मुस्ताङमा ३ वटा नाका छन् । तीमध्ये कोरला नाकामात्रै प्रयोगमा आएको छ ।
गोरखा र मनाङमा भने प्रक्रिया नै सुरु भएको छैन । गोरखाको छेकम्पार र सामागाउँ तथा मनाङको नार्पाभूमीस्थित च्याखुमा बीओपी स्थापना गर्ने भनिएकोमा काम अघि बढेको छैन । कोरोना र बाढी पहिरोलाई देखाएर बीओपीमा विलम्ब गरिएको हो । ‘कोभिड छ, जताततै । बाढीपहिरोले झनै समस्या भयो,’ गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने, ‘अब ढिलो भइसक्यो । छिटै पठाउँछौँ ।’ त्यस क्षेत्रको सीमा सुरक्षा पनि नेपाल प्रहरीले नै हेरिरहेको छ ।
गोरखामा ८ वटा नाका छ । तीमध्ये रुईला भञ्ज्याङ र नेलधज्याङमात्रै प्रचलनमा छ । सामागाउँ, लार्केपास, फिलिम र छेकम्पारमा नेपाल प्रहरीको चौकी राखिएको र आवश्यक पर्दा त्यहिँका प्रहरी खटाउने गरिएको पौडेलले बताए ।
मनाङमा बीओपी बनाउन पालिकाले १५ रोपनी जग्गा छुट्याएको छ । मनाङ तिब्बतको काङछिमी नाकासँग जोडिएको छ । ३ दशकअघि यहाँबाट तिब्बतसँग व्यापार हुन्थ्यो । अहिले भने व्यापार ठप्प छ । मुस्ताङ र गोरखाको जस्तो यहाँको नाका सजिलो पनि छैन ।
कति छन् सीमास्तम्भ ?
डोल्पाको सीमानादेखि धादिङसम्म गण्डकी प्रदेशभित्र मात्रै नेपाल-चीनको सिमानामा २० वटा सीमा स्तम्भ भेटिएको छ ।
मुस्ताङमा १४ र गोरखामा ६ वटा स्तम्भ फेला परेका सुरक्षा निकायले जनाएका छन् । मुस्ताङ जिल्लामा १८ देखि ३१ नम्बरसम्मका स्तम्भ छन् भने गोरखामा ३४ देखि ३९ नम्बरसम्मका स्तम्भ छन् । मनाङमा अहिलेसम्म कुनै पनि स्तम्भ फेला नपरेको प्रहरी प्रमुख डीएसपी होमनाथ पन्थीले बताए ।
‘पहिलेदेखि नै खोजीको प्रयास भएको छ । अहिलेसम्म स्तम्भ फेला गरेको छैन,’ उनले भने, ‘ठाउँ पनि निकै जटिल छ । जानै समस्या छ, खोज्न झनै गाह्रो पर्छ ।’ उत्तरी सीमानाकाबाट कहिलेकाहीँ चोरी निकासी हुने गरेका समाचार आउँछन् ।
बीओपी स्थापना भएपछि यस्ता कामहरू स्वतः घटेर जाने विश्वास छ । चीनले भने सीमाक्षेत्रमा तारबार लगाएको छ । कतै सीसी क्यामेरा जडान गरेको छ भने कतै सेना तैनाथ राखेको छ । चीनले कोरला नाकामा भन्सार कार्यालयसमेत बनाएर अन्तिम चरणमा पुर्याएको छ । नेपालले भने थालनी पनि गरेको छैन ।
चीनसँग सीमा जोडिएका १५ जिल्लाको २१ सीमा नाकाबाट व्यवसायिक सम्बन्ध विस्तार गर्न सकिने एक अध्ययनले देखाएको छ । त्यसमध्ये तीनवटा प्रमुख नाका गण्डकी प्रदेशमा छन् । त्यसका लागि सरकारले बीओपी स्थापना गर्न लागेको हो । नेपाल र चीनको सिमाना १ हजार १ सय १४ किलोमिटर लामो छ । गण्डकीमा मात्रै २ सय किलोमिटरभन्दा लामो सीमा छ ।
तस्बिर : प्रकाश ढकाल