बीपी प्रतिष्ठानमा अख्तियारको छापा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय ईटहरीको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।
औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्तिलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् ।
यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदलले पनि प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।
आन्दोलनरत डाक्टर-विद्यार्थीलगायतसँगको वार्तामा सरकारले अहिलेका उपकुलपति ज्ञानेन्द्र गिरीलाई हटाउने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित गरिएको छ ।
अख्तियारबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली धरान आएको हो । बीपीको विभिन्न उपकरण तथा मेसीन खरिद र निर्माणमा भएको अनियमितताबारे छानबिन गर्न अख्तियारको टोली धरान आएको हो ।
अख्तियारको टोलीले अहिले प्रतिष्ठानका कर्मचारीहरूसँग आवश्यक कागजातबारे छलफल गरिरहेको छ । बीपीमा विगत २ महिनादेखि अनियमितता छानबिन र दोषीलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै आन्दोलन गरिरहेका छन् ।