कोरोना खोपका लागि चैतसम्म नपर्खिन सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरूले कोराना भाइरसविरुद्धको खोपका लागि चैतसम्म नपर्खिन सरकारको ध्यानाकर्षण गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको अवस्था, त्यसलाई न्यूनीकरण गर्न सरकारले बनाएको योजना, खोप आयातको विषयमा जानकारी गराएका छन् । उनले चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको र त्यस अनुसार तयारी रहेको बताए ।

त्यसपछि सांसदहरूले सरकारलाई कोरोना खोपका लागि चैतसम्म नपर्खिन आग्रह गरे । चैतसम्म पर्खिँदा असारसम्म लम्बिन सक्ने, चैतसम्म भ्याउँदा पनि नजिकिँदो दशैँ/तिहारजस्ता चाडपर्वमा सीमाबाट र शहरबाट गाउँमा अवातजावत बढ्ने भएकाले त्यो अवस्थालाई ख्याल गरेर कोरोना खोप लगाइनुपर्ने सांसदहरूको राय छ ।

अन्यथा कोरोनाको तेस्रो लहरको चर्चा भइरहेका बेला संक्रमण थप भयावह हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।

सांसद खेमप्रसाद लोहनीले अबको चार महिनामा सबै नागरिकलाई खोप दिनेगरी व्यवस्थापन गर्न आग्रह गरे ।

‘कोरोना खोप चैत मसान्तसम्ममा भन्ने यहाँ पनि आयो, धेरै ठाउँमा आएको छ । यो धेरै ढिलो हुन्छ । अहिले चैत भन्यौँ भने असार जान्छ । त्यसैले अबको चार महिनामा खोप लगाउने व्यवस्थापन गरौँ‚’ उनले भने ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका गगन थापाले सरकारले खोपका लागि गरेको काम प्रशंसायोग्य नै रहेको तर, व्यवस्थापन कमजोर भएको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे । ‘व्यवस्थापन किन यति कमजोर ?’ थापाको प्रश्न छ ।

सकारले कोरोना भाइरस न्यूनीकरणका लागि भनेर राति ८ बजेपछि यातायात सञ्चालनमा रोक लगाएको छ । यसमा पनि सांसद थापाको प्रश्न छ, ‘कोरोना साँझ र राति बढ्दै जाने‚ दिउँसो घट्ने यसको वैज्ञानितक तथ्य के हो ?’

सांसद रामकुमारी झाँक्रीले पनि कोरोना खोप लगाउने सन्दर्भमा व्यवस्थापन चुस्त हुन नसकेको बताइन् । ‘खोपका लागि मान्छेहरूलाई लाइनमा राखिएको छ । खोप कार्डमा रि-म्यानेजमेन्ट गर्ने हो कि !’ उनको सुझाव छ ।

१३ लाख वृद्धवृद्धाले दोस्रो डोज खोप पाएनन् भन्ने सन्दर्भमा पनि उनले प्रश्न उठाइन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका अर्का सांसद खगराज अधिकारीले निःशुल्क भनिएको कोरोना उपचारका लागि नागरिकले महंगो शुल्क तिर्नु परिरहेको छ भनी प्रश्न गरे ।

त्यस्तै सांसद कृष्णकुमार राईले मःमः पसलमा समेत कोरोना खोप भेटिन थालेको भनी सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद रामबहादुर विष्टले प्रश्न गरे‚ ‘नेपालले पैसा तिरिसकेको भनिएको खोप भारतबाट आउँदैछ कि आउँदैन ?’

सांसद महेश बस्नेतले स्वास्थ्य मापदण्ड पालना नगरी विद्यार्थीको परीक्षा किन लिइएको भनी प्रश्न गरेका थिए । त्यस्तै खोपको परिचयपत्र लिनका लागि लाइन बस्नुपर्ने विषयलाई याथशीघ्र सम्बोधन गर्न भन्दै सांसद बस्नेतले कांग्रेसको लेटरप्याडमा खोप निकासा गर्नुभएको हो भनी प्रश्न गरेका थिए ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार सबै कोणबाट कोरोनाको महामारी न्यूनीकरणमा लागिरहेको र लाग्ने बताए । र अब कोरोना खोप पर्याप्त आउने पनि विश्वास दिलाउन खोजे ।

‘अब प्रशस्त खोप आउँछ । सरकारले नागरिकलाई कमसेकम एक खोप त लाऊ भन्नेछ‚’ उनले भनेका छन् ।

उनले अनुदान र खरिद गरेर भए पनि खोप ल्याउने पहल जारी रहेको र कतिपय सुनिश्चित भइसकेको पनि बताएका छन् । अघिल्लो सरकारको पालामा ९७ लाख डोज खोप प्राप्त भएको त्यसमध्ये ४२ लाखलाई लगाइएको जानकारी दिए ।

यस्तै, नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको मन्त्री श्रेष्ठले जानकारी दिए । र हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको उल्लेख गर्दै उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको पनि बताएका छन् ।

अब सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने मन्त्री श्रेष्ठले बताएका छन् ।

तर, एकैपटक धेरै खोप ल्याएर भण्डारण गर्ने नेपालको क्षमता नरहेको उनले बताउँदै उनले भने‚ ‘हाम्रो खोप भण्डारण २५ लाखभन्दा छैन । त्यसैले ल्याएर द्रूतगतिमा लगाउने नै विकल्प हो ।’

यस्तै, मन्त्री श्रेष्ठले मेलम्ची बाढी पीडितका लागि तत्काल खोप व्यवस्था हुने पनि बताएका छन् ।

‘म भोलि र पर्सिका दिनमा मेलम्चीका जनतालाई पूर्ण रुपमा खोप लगाउने प्रतिबद्धता जाहेर गर्न चाहन्छु‚’ उनले भने ।

सांसदहरूले होटलमा, नेताको घरमा र मःमः पसलमा समेत खोप भेट्टाइएको भनी सोधेको प्रश्नको जवाफ दिँदै उनले खोप दुरुपयोग गरेको पाइए कारबाही हुने बताएका छन् । यस सन्दर्भमा आफूले गृहमन्त्री र सम्बन्धित दलको प्रमुख जिल्ला अधिकारीसँग समेत कुरा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *