कांग्रेस बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका प्रस्तुत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भाेली फेरि बस्ने भएको छ । आजको बैठकमा विभिन्न विषयमा छलफल भएको र थप छलफल बाँकी नै रहेकाले बैठक भोली पुन: बस्ने कांग्रेसले जनाएको छ ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनको लागि निर्वाचन निर्देशिका छलफलका लागि प्रस्तुत गरेका छन् । सो निर्देशिकालाई सह–महामन्त्री डा.प्रकाशसरण महत र डा.मिनेन्द्र रिजालसहित निर्वाचन समितिले अन्तिम रुप दिएको थियो । उपसभापति विमलेन्द्र निधिले अन्य राजनीतिक दल समायोजन समितिले अहिलेसम्म गरेको निर्णयहरुको विवरण समेत बैठकमा राखेका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता छानविन समितिले गरेको कार्यसम्पादन र प्रतिवेदनमा उल्लेख भएको विवरण प्रस्तुत गरेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका नै प्रस्तावको रुपमा पेश गर्ने तयारी रहेको बताइएको थियो । तर, विहीबारको बैठकमा कार्यतालिकामाथि छलफल भएको छैन ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा निर्वाचन निर्देशिका, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र अन्य राजनीतिक दल समायोजन समितिले गरेका निर्णयहरुमाथि छलफल सुरु भएको जानकारी दिए । ‘यो बैठकले पार्टीको आन्तरिक जीवनको विषयमा घनीभूत छलफल गरेर सहमति र एकताको माध्यमबाट एउटा निष्कर्ष दिनेछ, अर्कोतिर सत्तारुढ भइसकेपछिको यो पहिलो केन्द्रीय समितिको बैठक भएकाले सरकार सञ्चालन र सरकारका प्राथमिकताबारेमा समेत छलफल हुनेछ,’ उनले भने ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको आजको बैठकमा  निर्वाचन निर्देशिका, समायोजन समितिको प्रतिवेदन र क्रियाशील सदस्या छानबिन समितिको प्रतिवेदन पेश भएको छ। क्रियाशील सदस्यता प्रतिवेदनमा भने छानबिन समितिका सदस्य कल्याण गुरूङले फरक मत पेश गरेका छन्। केही विषय छुटेको र समावेश गर्नुपर्ने सदस्य आनन्द ढुंगानाले जानकारी दिए ।
महाधिवेशनमा उम्मेदवार हुन केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तिर्नुपर्ने प्रस्ताव प्रस्तुत निर्वाचन समितिले पेश गरेको छ।
यसअघिको महाधिवेशनमा सभापतिकाे २० हजार र अरुकाे १० हजार रुपैयाँ थियाे। निर्वाचन समितिले बनाएको प्रतिवेदन महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका थिए। त्यसैगरी समायोजन समितिको प्रतिवेदन उपसभापति निधिले पेश गरेका छन्। क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन भने संयोजक रमेश लेखकले पेश गरेका छन्।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *