नागपञ्चमी

सर्पले बिनासित्ति डस्दैन

नेपालमा केहि वर्षयतादेखि नागपञ्चमीको दिनलाई सर्प दिवसको रुपमा मनाइँदै आइएको छ । वर्षात्‌को समयमा ओभानो ठाउँ खोज्दै सर्पहरू हाम्रो घरभित्र वा वरिपरी लुक्न आउने सम्भावना ज्यादा हुन्छ । जसले सर्पदंशको जोखिम बढाउँछ । धेरैजसो मानिसहरूमा सर्प देख्ने बित्तिकै त्यसलाई मारिहाल्नुपर्छ, नत्र यसले हामीलाई डसेर मार्छ भन्ने भ्रम रहेको हुन्छ । सर्पलाई अवरोध नगरेसम्म यसले मानिसलाई डस्दैन ।

सर्पलाई भगवान शिवजीको प्रतिकको रुपमा पुज्ने तथा साउन महिनामा सर्प मार्नु हुँदैन भन्ने धार्मिक मान्यता पनि रहेको छ । जसले सर्प संरक्षणमा ठूलो मद्दत गरेको छ । सर्पहरू किसानका साथी हुन् । यिनीहरूले बर्सेनि हजारौँ मुसाहरू खाइदिएर हाम्रो अन्नबाली जोगाइदिन्छन् । पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न सर्पको पनि उत्तिकै महत्व रहेको हुन्छ ।

सर्पदंशबाट नेपालमा बर्सेनि १६२ जनाले (प्रति एक लाखमा) ज्यान गुमाउने गर्दछन् (शर्मा, एस. के. र अन्य , नेपालका विषालु सर्पहरू २०६९ : पृ.६८) । प्रायःजसो किसान, गोठाला, खेताला, माझी, वन तथा खेतबारीमा काम गर्नेहरू सर्पदंशको उच्च जोखिममा पर्ने गर्छन् । सर्पले कहिल्यै मानिसलाई शिकारको रुपमा खोजी खोजी डस्दैन । तर अञ्जानवस कसैले सर्पलाई टेक्न खोजेमा वा जिस्क्याएमा सर्पले जोखिम महसुस गरी आफ्नो प्रतिरक्षाका लागि डस्ने गर्छ ।

कुन कुन सर्प विषालु हुन्छन् ?
नेपालबाट हालसम्म ८९ प्रजातिका सर्प फेला परेका छन् । जसमध्ये १७ प्रजातिका सर्प विषालु छन् । जसअन्तर्गत गोमन, राजगोमन, गनग्वारी (राजा सर्प), करेत, बाघे तथा हरेउ प्रजातिका सर्पहरू पर्दछन् (शर्मा, एस. के. र अन्य, २०६९ : पृ.६८) ।

चिन्ने कसरी ?
बाहिरबाट हेर्दा धेरैजसो सर्पहरू उस्तै-उस्तै देखिएपनि पनि प्रत्येक सर्पको शारीरिक बनावटमा केही न केही फरक विशेषताहरू अवश्य हुन्छन् । यिनै विशेषताका आधारमा विषालु र अविषालु सर्पहरू छुट्याउने गरिन्छ । गोमन सर्पले आफ्नो घाँटीको छाला तन्काएर फणा बनाउने गर्छ । यसो गर्दा यिनीहरूको घाँटीमा गोलाकार वा अंग्रेजीको ‘भी’ आकारको चिह्न प्रष्ट रुपमा देखिने गर्दछ । यिनीहरूलाई जिस्क्याएमा आफ्नो शरीरको एक तिहाई जति अगाडिको भागलाई जमीनबाट माथि उठाई स्याँ–स्याँ गर्दै आवाज निकाल्ने गर्दछन् ।

टाउको थ्याप्चो र त्रिकोणात्मक भएका हरिया रङ्गका हरेउ अर्थात् ‘ग्रीन पिट भाइपर’ समूहमा पर्ने हरिया रङ्गका सर्पहरू विषालु हुन्छन् । यिनीहरुले भने आफ्नो शरीरलाई खुम्च्याएर स्प्रिङ जस्तो आकारको बनाई आफ्नो शत्रुमाथि डस्न जाइलाग्ने गर्दछन् । ढाडतिरको भागमा ठुल्ठुला अन्डाकार नियमित बुट्टाहरु भएका बाघे सर्प (रसेल्स भाइपर) अति विषालु हुन्छन् । आँखा र नाकको प्वालको बीचमा संवेदनशील अङ्ग भएका ‘पिट भाइपर’ भनिने सर्पहरू पनि अति नै विषालु हुन्छन् ।

सर्पको विष (भेनम) के हो ?
सर्पको विष वास्तवमा एक प्रकारको परिवर्तित र्‍याल ग्रन्थीको उत्पादन हो । जसलाई सर्पले आफ्नो शिकारलाई मार्ने र पचाउने कार्यका लागि प्रयोग गर्दछ । याद राखौँ‚ सबै सर्पहरू विषालु हुँदैनन् र हरेक सर्पदंशबाट मानिसको ज्यान जाँदैन । सर्प विषालु नै भएता पनि सधैँ ज्यानै जान्छ भन्ने होइन । विषले मनिसमा पार्ने असर डस्ने सर्पको आकार, डसाइको पूर्णता, शरीरमा प्रवेश गरेको विषको मात्रा, डसेको व्यक्तिको उमेर, शारीरिक क्षमता तथा उसको मनोवैज्ञानिक अवस्थामा समेत भर पर्दछ ।

के हुन् त सर्पदंशका लक्षणहरू ?
सर्पदंशको लक्षण सर्पको प्रजाति अथवा विषको रसायनिक संरचनाअनुसार फरक-फरक किसिमको हुने गर्दछ ।

विशेषतः तराईमा हुने सर्पदंशहरूमध्ये अधिकांश ‘ईलापिडी’ भनिने समूहअन्तर्गत पर्ने गोमन र करेत प्रजातिका विषालु सर्पहरूको डसाइबाट हुने गरेको पाइएको छ । उक्त प्रजातिका सर्पको डसाइबाट व्यक्तिमा स्नायुघात भई निम्न लक्षणहरू देखापर्ने गर्दछन् ।

  • आँखाको ढकनी भारी महसुस भई हेर्न सक्नेगरी आँखा उघार्न नसक्नु (टोसिस)
  • मुख खोल्न तथा जिब्रो बाहिर निकाल्न नसक्नु
  • कुनै पनि कुरा निल्न नसक्नु
  • सास फेर्न गाह्रो हुनु
  • हात खुट्टाका मांसपेशी नचल्नु
  • मुखबाट निस्किएको रालले घाँटी टालिएर सास फेर्न नसक्नु
  • डसेको ठाउँको घाउ पाक्नु‚ सुन्निनु र तन्तुहरू मर्न थाल्नु
  • ‘भाईपेरिडी’ भनिने समूहअन्तर्गत पर्ने बाघे, हरेउजस्ता सर्पको डसाइबाट भने गिजा, पेट, आन्द्रा, आँखा तथा शरीरमा लागेका घाउ–चोट आदिबाट बाहिरी तथा आन्तरिक रक्तश्राव हुने गर्दछ ।
  • सर्पदंशबाट कसरी बच्ने त ?
    कुनै पनि सर्प देखिएको खण्डमा त्यसलाई समात्ने, जिस्क्याउने तथा चलाउने जस्ता कार्य नगरौँ
  • रातको समयमा बाहिर निस्कनु परेमा चप्पल लगाउनुको सट्टा कडा किसिमका जुत्ता तथा पुरै खुट्टा ढाक्ने खालको लामो, बाक्लो प्यान्ट वा ट्राउजर लगाउने गरौँ
  • घर‚ खेत आदिमा देखिने दुलादुलीहरू तथा रुखका खोक्रो मुढाहरु, बाक्लो घाँस, झाडी, काठको थुप्रो तथा इँटा, ढुङ्गाजस्ता निर्माण सामग्रीहरू थुपारेको ठाउँमा जथाभावी रुपमा हात नहालौँ
  • घर वरिपरी मुसा बस्ने दुलादुली छन् भने समयमै टालटुल पारौँ
  • यदि घरमा मुसाको बिगबिगी छ भने त्यसलाई नियन्त्रण गरौँ किनभने यिनीहरुले सर्पलाई आकर्षित गर्ने गर्दछन्
  • घर-आँगन छेउछाउ तथा वरीपरी रहेका लामा–लामा घाँस‚ झारपात भएमा तिनलाई मसिनो गरी छाटौँ
  • भुइँमा नसुतौँ, सधैँ झुल टाँगेर मात्र सुत्ने गरौँ
  • रातको समयमा बाहिर निस्कनु परेमा सधैँ टर्चलाइट अथवा बत्तीको प्रयोग गर्ने गरौँ
  • बच्चाहरूलाई सर्पहरू लुकेर बस्न सक्ने सम्भावित स्थानर क्षेत्रतिर जानबाट रोकौँ
  • मादक पदार्थ सेवन गरेको बेलामा सर्पलाई जिस्क्याउने चलाउनेजस्ता कार्य नगरौँ
  • केवल बाहिरी बनावट र रङ्गको आधारमा सर्प विषरहित हो भन्ने कुरामा विश्वास्त नबनौँ
  • आफ्नो वसोवास रहेको स्थानबाट सबैभन्दा नजिकैको सर्पदंश उपचार केन्द्र र त्यहाँ उपलब्ध हुने विषप्रतिरोधी औषधि भए/नभएको जानकारी राख्ने गरौँ

सर्पले डसेमा के गर्ने ?

  • सर्पदंशबाट व्यक्तिको मृत्यु हुने प्रमुख कारण, समयमै सम्बन्धित उपचार केन्द्रसम्म पुग्न नसक्नु हो । सर्पले डसेको थाहा पाउने बित्तिकै अथवा डसेको शंका लाग्न साथ निम्न कुराहरू प्राथमिक उपचारको रुपमा तत्काल अपनाउने गरौँ
  • तत्काल गरिने प्राथमिक उपचारले बिरामीलाई शारीरिक तथा मानसिक पीडा कम गर्न र उपचारका लागि केही थप समय प्रदान गर्दछ तर सही तरिकाले नगरिएको प्राथमिक उपचारले थप जटिलता निम्त्याउने गर्दछ ।
  • सर्पले डसेको व्यक्तिलाई गरिने एउटैमात्र प्रभावकारी उपचार विष प्रतिरोधी औषधि (एन्टिभेनम सेरम) को प्रयोग हो जुन सरकारी अस्पताल, सैनिक अस्पताल, कतिपय निजी अस्पताल तथा रेडक्रसद्वारा संचालित सर्पदंश उपचार केन्द्रहरूमा पाइने गर्दछ ।
  • सर्पले डसेको व्यक्ति मानसिक तनावमा हुने भएकाले सकेसम्म निजलाई ढाडस दिई शान्त राखौँ, डसेको भागलाई चलमल गर्न नदिई स्थिर राखौँ, किनकि अत्तालिएमा मुटुको धड्कनमा वृद्धि भई रक्तसञ्चारमार्फत विष चाँडो शरीरमा फैलिने गर्दछ ।
  • सर्पले डसेको व्यक्तिले चुरा औँठी आदि जस्ता वस्तु लगाएको भएमा फुकालेर राखौँ किनभने उक्त भागपछि भाग सुन्निन गई कसिलो हुन सक्छ ।
  • सर्पले डसेको व्यक्तिलाई चाँडो भन्दा चाँडो अस्पताल पुर्‍याउन सवारीसाधन कम भएका स्थानमा स्थानीयवासी मिलेर ‘मोटरसाइकल स्वयंसेवक समूह’ गठन गरी परिचालन गरौँ ।
  • सर्पले डसेको स्थानलाई साबुन पानी वा एन्टिसेप्टिक (जस्तो डेटोल पानीले) राम्रोसँग धोई सफा गरौँ
  • सर्पले डसेको स्थानलाई (हात खुट्टा भएमा मात्र) लामो काठ बाँस लौरो आदिको काम्रो बनाई नहल्लिने गरी बाँधेर स्थिर राखौँ ।
  • डसेको स्थानसहित सो को तल्लो र माथिल्लो भाग ढाकिने गरी चौडा किसिमको टाई, कपडा अथवा ब्यान्डेजले ठिक्कको कसीलो पारी मर्किएको ठाउँमा बेरेको झैँ गरी फन्फनी बेरेर बाधौँ सम्भव भए हात वा खुट्टाको औँलाबाट बेर्न शुरु गरी पुरै हात वा खुट्टा छोपिने गरी बेरेर राखौँ यसो गर्नाले रक्तसञ्चार कम हुन गई विष चाँडो फैलन पाउँदैन ।
  • यदि सर्पलाई अघि नै मारिसकेको भए त्यसको पहिचानको लागि मरेको सर्पलाई पनि बिमारीसँगै उपचार केन्द्रमा सुरक्षित तवरले लैजाऔँ ।
  • बिमारीलाई हतोत्साहित हुन नदिन सान्त्वना एवं ढाडस दिँदै जतिसक्दो चाँडो मोटरगाडी, नभए मोटरसाईकलबाट विष प्रतिरोधी औषधि उपलब्ध भएको सर्पदंश उपचार केन्द्रमा लैजाऔँ ।

के नगर्ने ?

तल उल्लेखित तरीकाहरु वैज्ञानिक आधारहीन भएकाले यस्ता भ्रामक कुराहरूका पछि नलागौँ ।

  • सामाजिक सञ्‍जाल तथा कतिपय मिडियामा आएका भ्रामक समाचारहरू जस्तो सुइरो (निडल) बिनाको सुई (इन्जेक्सन)को मद्दतले सर्पले डसेको ठाउँको रगत तानेमा सर्पको विष सम्पूर्ण रुपमा बाहिर निस्कन्छ भन्नेजस्ता समाचार भ्रामक हुन् । विषालु सर्पले डस्ने बित्तिकै (डसेको केवल तीन मिनेटपछि) सुईको मद्दतले विष तान्ने कोसिस गरेता पनि विषको थोरै मात्रा (एक हजार भागको एक भाग जति) मात्र निकाल्न सकिन्छ । अझ मुखले डसेको ठाउँको रगत चुस्नु भनेको त आफ्नो ज्यानको जोखिम आफैँ खतरामा पार्नु हो । तसर्थ यस्ता क्रियाकलापको पछाडि लागेर ज्यानको जोखिम नामोलौँ ।
  • सर्पलाई समात्न वा मार्न खोजेर अर्को डसाइको खतरा नमोलौँ । यस्तो कोसिसले उपचारमा ढिलाइ भई बिमारीको ज्यानैसमेत जान सक्दछ । डाक्टरले बिमारीको लक्षण तथा प्रयोगशालामा रगत, र्‍याल आदिको परीक्षणमार्फत सर्पको विषको प्रकार पहिचान गर्न सक्दछन् ।
  • अविषालु सर्पले डसेको भएता पनि विषको असर कम हुन्छ भन्ने ठानेर डोरी, प्लास्टिक, कपडा, रबर, विद्युतीय तार, आदिले हात खुट्टा कसेर नाबाँधौँ‚ जसले गर्दा उक्त अंगहरूमा रक्तप्रवाह बन्द भई अन्त्यमा हात खुट्टा नै बिग्रिएर काट्नुपर्नेसम्मको अवस्था आउन सक्दछ ।
  • सपेरा वा अन्य व्यतिले तन्त्रमन्त्र गरी विष प्रतिरोधी भनी दिएको ताबिज, माला, बुट्टी भनिनेजस्ता वस्तुहरूको भर नपरौँ ।
  • विषालु सर्पले डसेको व्यक्तिलाई जाँड, रक्सी, अन्य तातोपानी या कुनै पनि प्रकारको झोलिलो वा ठोस खाद्यपदार्थ खान नदिऔँ । अन्यथा शरीरमा हुने रासायनिक प्रतिक्रिया (मेटाबोलिजम)मा वृद्धि भई विष चाँडो फैलन सक्ने खतरा हुन्छ ।
  • विषालु सर्पले डसेको व्यक्तिलाई खोर्सानी खुवाउँदा पिरो महसुस हुँदैन भन्ने धारणा गलत हो‚ त्यसैले यस्तो कार्य नगरौँ ।
  • सर्पले डसेको ठाउँमा मुखले चुसेर, सुई (सिरिन्ज) अथवा कुनै यन्त्र प्रयोग गरेर रगत तान्ने कोसिस नगरौँ किनभने यसो गर्नाले विषको नगण्य मात्रा मात्रै बाहिर निकाल्न सकिन्छ । त्यो पनि सर्पले डसेको पाँच मिनेटभित्रमा विष तान्न शुरु गरेमा मात्र ।
  • सर्पले डसेको ठाउँमा जिउँदो कुखुराको मलद्वार लगाएमा विष चुस्छ भन्ने धारणा पनि गलत हो । त्यसैले यस्तो कार्य नगरौँ ।
  • सर्पले डसेको ठाउँमा बरफ तथा कुनै पनि चिसो वस्तुको प्रयोग नगरौँ, अध्ययनका अनुसार यस्तो गर्नाले बढी हानी हुने देखिएको छ ।
  • अनावश्यक रुपमा धामी-झाक्री, झार-फुक तथा जडिबुटीको पछि लागेर महत्वपूर्ण समय खेर नफालौं, जसका कारणले उपचारमा ढिलाइ भई बिमारीको मृत्यु हुनसक्छ ।
  • सर्पले डसेको ठाउलाई ढाकेर (छोपेर) नराखौँ साथै उक्त ठाउँमा धारीलो वस्तुले काट्ने, चिर्ने, आगो अथवा कुनै तातो वस्तुले डाम्ने, तातोपानीमा वा अमिलो दूधमा डुबाउने नगरौँ । यसो गर्नाले विषमा कुनै असर पर्दैन, बरु उल्टै अनावश्यक रुपमा संक्रमण हुने, रक्तश्राव हुने र समयको बर्बादी हुने गर्दछ ।
  • कथित नागमणि, झारमौरो, घरायसी तथा जङ्गली झारपात तथा जडीबुटीको प्रयोग गरी वा बिजुलीको झट्का दिएर उपचार गर्ने कोसिस नगरौँ, यसले बिरामीलाई उल्टै नराम्रो असर पार्न सक्छ ।
  • सर्प विषालु हो वा होइन पत्ता लगाउनतर्फ नलागौँ यसो गर्नाले अनावश्यक रुपमा महत्वपूर्ण समयको बर्बादी भई समयमा उपचार नापाउनाले व्यक्तिको मृत्युसमेत हुनसक्छ । त्यसैले जतिसक्दो चाँडो बिरामीलाई अस्पताल पुर्‍यऔँ ।

अतः सर्पले डसेमा यी कुरा याद राखौँ आत्तिने नगरौँ, शान्त रहने कोशिस गरौँ, डसेको भागलाई स्थिर पारी बेलैमा अस्पताल वा विषप्रतिरोधी औषधि उपलब्ध हुने स्थानमा पुगौँ ।

(खरेल त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस, विराटनगरको प्राणीशास्त्र विभागका उपप्राध्यापक हुन् ।)

(सन्दर्भ स्रोत : ‘नेपालका विषालु सर्पहरू’ नामक निर्देशिका, सम्बन्धित वेबसाइटहरू)

यो पनि : सर्प समाउने डाक्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *