मातृकाको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मातृका यादवको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ्ग गरेका छन् ।

बिहीबार (हिजो) बसेको प्रतिनिधि सभाको बैठकमा भाग लिँदै सांसद यादवले तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमााले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएका थिए ।

‘हामी हाउसमा परमादेशबाट आएका होइनौँ, जनादेशबाट आएको हो । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो व्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले‚’ उनले भनेका थिए‚ ‘उहाँहरुलाई त्यो भूत सवार छ भने राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज-जसलाई लागेको छ, राजीनामा दिए हुन्छ ।’

 

वर्तमान सरकारले ६ महिनामा चुनाव गराउने भन्दै जसको मेन्टालिटी बिग्रिएको छ‚ उसले परमादेशबाट आएको सरकार भन्ने उनले आरोप लगाए । ‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ?’ यादवले भनेका थिए‚ ‘परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ । ६ महिनामा यो सरकारले चुनाव गराउँछ ।’

यादवको सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ एमालेले आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।

यादवको अभिव्यक्तिप्रति एमाले प्रमुख सचेतक विशाल भट्टराई ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *