मेरो प्रशंसामा बनाइएका भिडिओ रोक्न लगाइसकेँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडिओ रोक्न निर्देशन दिइसकेको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो प्रशंसा गर्दै बनाइएका भिडिओहरु रोक्न निर्देशन दिइएको जानकारी गराएका हुन् ।

कांग्रेस नेता देव गुरुङले ‘आई लभ यू केपी बा’ भन्नेहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएको बताउँदै ‘तपाईं सजग रहनुस्’ भनेर सवालको उठान गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले भिडिओ निर्माण रोक्न निर्देशन दिएको बताएका हुन् । ‘मैले यो भिडिओ बनाउनेलाई रोक्न निर्देशन दिइसकेको छु । अब यो भिडिओ आउँदैन,’ प्रधानमन्त्री देउवाले भनेका थिए ।

देउवा प्रधानमन्त्री बनेलगत्तै उनको सचिवालयले ‘मलाई देउवा मनपर्छ किनकि…’ भन्ने भिडिओहरु सार्वजनिक गर्दै आएको थियो ।  भिडिओलाई लिएर सामाजिक सञ्जालदेखि कांग्रेसभित्रै टिकाटिप्पणी भइरहेका छन् । प्रवक्ता विश्वप्रकाश शर्मालगायतका नेताहरुले त्यसरी भिडिओहरु बनाइनु नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *